सांस्कृतिक पर्व तिजको आर्थिक पाटो

सम्पादकीय

पछिल्ला केही दशकदेखि नेपाली महिलाहरूको मौलिक चाड तिजले बृहत् आकार ग्रहण गर्दै गएको छ । विशेषगरी कर्णाली पूर्वको पहाडी भेगका क्षेत्री–बाहुन समुदायका महिलाहरूले सनातनदेखि मनाउँदै आएको तिज पर्व पछिल्ला केही दशकदेखि अरू जाति तथा समुदायका महिलाहरूले पनि मनाउन थालेका छन् । निश्चित जाति तथा समुदायले मनाउँदै आएका चाडपर्वहरू सहरीकरणको वृद्धिसँगै अन्य समुदायमा पनि बिस्तारित हुँदै गएका छन् । तिज पर्व पनि त्यसरी नै बिस्तार हुँदै गएर आमनेपाली महिलाहरूको साझा चाड बनेको छ । तिज पर्व बिस्तारित हुँदै जानुको अर्को पक्ष लचकता पनि हो । तिज पर्व सांस्कृतिक पर्व त हुँदै हो, सँगसँगै मनोरञ्जनसमेत गरेर मनाइने पर्व हो । मनोरञ्जन प्रधान भएकै कारण तिज पर्व बिस्तारित हुँदै गएको हो । धार्मिक रूपमा तिज पर्व भाद्र शुक्ल द्वितियादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ । तर नाचगान, खानपिन तथा मनोरञ्जन भने करिब १ महिनादेखि नै सुरु हुन्छ । नाचगान, खानपिन तथा मनोरञ्जनमा सबै समुदायका महिला सरिक हुने प्रचलन बढ्नु स्वभाविकै हो । किनकी केही अपवादबाहेक हाम्रो समाज बहुजातीय छ । एउटै समाजमा धेरै जात तथा समुदायको बसोबास छ ।

तिज पर्वको मौलिकतामाथि संकट आउन थालेको विश्लेषण विगत केही दशकदेखि नभएका होइनन् । कतिपय विश्लेषणहरू बुझेर गरिए, कतिपय विश्लेषणहरू नबुझी गरिए । तिज पर्वको धार्मिक तथा भक्ति आराधनाको मौलिकतामा परिवर्तन आएको होइन, तर मनोरञ्जनात्मक पाटोको मौलिकतामा परिवर्तन आएको कुरा भने सत्य हो । तिजका अवसरमा बढ्दो माछामासु खपत र पार्टी प्यालेस तथा रेस्टुरेन्टहरूको भरिभराउको विषयलाई लिएर टीकाटिप्पणीहरू नभएका होइनन् ।

भगवान् शिव, गणेश र ऋषिहरूको पूजा आराधना गरिने पर्वमा माछा–मासु तथा मदिराको बढ्दो खपत किन ? भन्ने प्रश्न पनि आए । तर, यस्ता प्रश्न उठाउनेहरूले तिज पर्वको अवसरमा पूजा आराधना गर्ने दिन अलगअलग हुन् र मनोरञ्जन तथा खानपिन गर्ने दिन अलग हुन् भन्ने कुरा बुझ्दै गए । तिज पर्वको अवसरमा गाइने गीतहरूको लय, भाका तथा विषयबस्तु मौलिक हुन्छ भन्ने हेक्का नभएका कतिपय कलाकारहरूले ल्याएका म्युजिक भिडियोका विषयमा आलोचनासमेत भयो । तर तिजको गीत भन्दै ल्याइएका अपाच्य म्युजिक भिडियोहरू पछिल्ला वर्षमा आफैँ बहिष्कृत हुँदै गएका छन् । तिज महिला स्वतन्त्रता अभिव्यक्ति गर्ने पर्व हो भन्ने थाहा पाएका तर यसको मर्म नबुझेका सहरमा हुर्केका कतिपय महिलाहरू बिस्तारै लयमा फर्कन थालेका छन् ।

अब तिज सांस्कृतिक पर्वका रूपमा मात्रै रहेन । नेपालको मुख्य आर्थिक पर्वसमेत बनेको छ । १ महिनासम्म पार्टी प्यालेस तथा रेस्टुरेन्ट भरिभराउ हुँदा आर्थिक क्षेत्र चलायमान हुनु स्वभाविकै हो । पार्टी प्यालेस तथा रेस्टुरेन्टमा मजदुरहरूले ओभर टाइम काम गर्न पाउनु, किसानले उब्जाएका फलफूल तथा तरकारीको बजार बढ्नु, किसानले पालेका खसीबोका तथा कुखुराहरूको खपत बढ्नु भनेको सहरको रकम गाउँमा जानु हो । अघिपछि मुस्लिकले एउटा खसी काटिने मासु पसलमा तिजको रमझम सुरु हुनासाथ दैनिक ४–५ वटा खसी काटिन थालेका छन् ।

डेरी पसल, मिठाई पसलमा पनि उत्तिकै भिड बढेको छ । डेरी तथा मिठाई पसलमा गएको अधिकांश रकम ग्रामीण किसानकहाँ पुग्छ । विगतमा हिमाली क्षेत्रका किसानको स्याउ उचित मूल्यमा बिक्री हुन दसैँ पर्खनुपथ्र्यो, तर विगत ४–५ वर्षपछि भदौमै स्याउ टिपेर सहर पठाउने गरेका छन् । दसैँ मान्ने खर्चको जोहो किसानहरूले तिज पर्वमा बिक्री भएका कृषि उपजबाटै गर्न थालेका छन् । तर विदेशबाट आयातित विलासिताका बस्तुहरू प्रयोगप्रति भने सचेत हुनु जरुरी छ । त्यसैगरी धनीहरूको देखासिखी गर्नु जरुरी छैन भन्नेतर्फ पनि सचेतना आवश्यक छ ।

प्रतिक्रिया