काबेली ए जलबिद्युतका कर्मचारीको ढुंगा लागेर मृत्यु

फाइल तस्बिर

पाँचथर । जिल्लाको हिलिहाङ गाउँपालिका १ स्थित काबेली ‘ए’ जलविद्युत आयोजनाका कर्मचारीको मंगलबार बिहान ढुंगा लागेर मृत्यु भएको छ । उक्त आयोजनामा निरीक्षणको क्रममा ढुंगाले लागेर गम्भीर घाइते भएका मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिका ११, सलकपुरका २६ वर्षीय उद्धव ढकालको मृत्यु भएको हो ।

मंगलबार बिहान करिब ९ः३० बजे उद्धव ढकाल आफ्नो मोटरसाइकलमा जलविद्युत प्रोजेक्ट साइडको कच्ची बाटो हुँदै निरीक्षणमा थिए । सोही क्रममा अचानक माथिबाट खसेको ढुंगाले उनको टाउकोमा लाग्दा गम्भीर घाइते भएका थिए ।

मोटरसाइकलको पछाडि सवार काठमाडौँ, कागेश्वरी मनोहरा नगरपालिका(९ निवासी ५७ वर्षीय तुलसी बहादुर खड्का भने सामान्य अवस्थामा छन् ।

घटनापछि इलाका प्रहरी कार्यालय अमरपुर पाँचथरबाट खटिएको प्रहरी टोलीले उद्धव ढकाललाई उद्धार गरी स्थानीय स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गराएको थियो । थप उपचारका लागि जिल्ला अस्पताल पाँचथरमा पुर्याइएपछि, डाक्टरले उनलाई बिहान ११ः५० बजे मृत घोषित गरेको प्रहरीले जनायो ।

मृतकको शव हाल जिल्ला अस्पताल पाँचथरको शवगृहमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारीले जनाएको छ ।

प्रतिक्रिया