चुम्लुङको स्थापना दिवसमा ४ जनालाई छात्रवृत्ति वितरण

इलाम । किरात याक्थुङ चुम्लुङ इलामले ४ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । चुम्लुङको ३६औँ स्थापना दिवसको अवसरमा सोमबार इलाम सदरमुकाममा कार्यक्रम आयोजना गरी विभिन्न ३ क्षेत्रको छात्रवृत्ति वितरण गरेको हो ।

चुम्लुङले स्व. देवीबहादुर आङबुहाङ लिम्बू स्मृति छात्रवृत्ति कोषबाट कक्षा ११ र १२ अध्ययन गर्न दिने १० हजार राशिको गरिब तथा जेहेन्दार छात्रवृत्ति इलाम नगरपालिका–५ स्थित अमर माध्यमिक विद्यालय कक्षा–११ का सेसेहाङ लिम्बू जवेगूलाई प्रदान गरेको छ । सो छात्रवृत्ति सेसेहाङले अर्को वर्ष पनि पाउनेछन् ।
त्यस्तै, किरात याक्थुङ चुम्लुङ इजरायल कल्याण कोषबाट कक्षा ६ देखि १० सम्म अध्ययन गर्न बर्सेनि प्रदान गर्ने १० हजार राशिको गरिब तथा जेहेन्दार छात्रवृत्ति माङसेबुङ गाउँपालिका–५ स्थित सरस्वती माध्यमिक विद्यालय कक्षा–६ का छात्र लिहाङ माबोहाङले पाएका छन् । सो छात्रवृत्ति माबोहाङलाई ५ वर्षसम्म निरन्तर उपलब्ध गराइने किरात याक्थुङ चुम्लुङ इलामकी अध्यक्ष बुद्धमाया सोङ्मीले जानकारी दिइन् ।

त्यसैगरी, किरात याक्थुङ चुम्लुङ याक्थुङ सहयोग कोषबाट २ जनालाई उपलब्ध गराउँदै आएको ५–५ हजार राशिको गरिब तथा जेहेन्दार छात्रवृत्ति माइजोगमाई गाउँपालिका–६ स्थित प्याङ माध्यमिक विद्यालय कक्षा–९ की मौसमी सोङ्मी र चुलाचुली गाउँपालिका–१ स्थित जनता माध्यमिक विद्यालय कक्षा–८ का सुनिल लावतीले पाएका छन् ।

उनीहरूलाई किरात याक्थुङ चुम्लुङका संघीय सल्लाहकार मोहनसिंह थेवेले नगद र सम्मानपत्र प्रदान गरेका थिए । कार्यक्रममा थेवेसहित इलाम नगरपालिका–७ का वडाअध्यक्ष नरेश श्रेष्ठ, नेपाल आदिवासी जनजाति महासंघ इलामका उपाध्यक्ष भक्त थामीलगायतले चुम्लुङको स्थापना दिवसको अवसरमा प्रदान गरिएको छात्रवृत्तिले शैक्षिक सुधारमा सहयोग पुग्नेमा विश्वास व्यक्त गरेका थिए ।
यसैबीच, चुम्लुङको स्थापना दिवसको अवसरमा धाननाच, च्याब्रुङ नाच, पालामलगायतसमेत प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया