जनकपुरधाम । जनकपुरधाम उद्योग वाणिज्य संघको यसै महिनाको अन्तिम साता हुने निर्वाचनको सरगर्मी चढेको छ । संघको चुनावी सरगर्मीको रापले उम्मेद्वारसँगै आम उद्योगी व्यवसायी एवं व्यापारीलाई छोइसकेको छ ।
यही २९ भदौमा निर्वाचन हुँदै छ । नयाँ नेतृत्वका लागि उम्मेद्वारहरूको दौडधुप तीव्र बनेको छ । विगतका वर्षहरूमा झैँ घरदैलो अभियानमा लागेका छन् उम्मेद्वार । जनकपुरधाम उद्योग वाणिज्य संघको अध्यक्ष पदका लागि ३ जनाले उम्मेद्वारी दिएका छन् । निवर्तमान वरिष्ठ उपाध्यक्ष जितेन्द्रप्रसाद साह, निवर्तमान उपाध्यक्ष सुरेन्द्र भण्डारी र वर्तमान वरिष्ठ उपाध्यक्ष मनिषरमण साह अध्यक्षको प्रतिस्पर्धामा छन् ।
सुरेन्द्र होटेल व्यवसायी हुन भने जितेन्द्र अल्मुनियम र मनिष ज्वेलरीको व्यापार गर्छन् । जितेन्द्र यसअघि वरिष्ठ उपाध्यक्ष भएर जनकपुरधाम उद्योग वाणिज्य संघको नेतृत्व सम्हालिसकेका छन् । उनी पछिल्लो निर्वाचनमा अध्यक्ष पदमा पराजित भएका थिए । भण्डारी उपाध्यक्ष भएर काम गरिसकेका छन् । त्यस्तै मनिष वर्तमान कार्यकाल वरिष्ठ उपाध्यक्ष भएर उद्योग वाणिज्य संघको नेतृत्व पंक्तिमा रहेर काम गरेका छन् ।
निर्वाचन समितिका संयोजक ललित साहले दिएको जानकारीअनुसार अध्यक्षसहित १७ सदस्यीय कार्यसमितिका लागि ४२ जनाले उम्मेद्वारी दिएका छन् । अधिकांश पदमा ३ जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।
वरिष्ठ उपाध्यक्षका लागि मनोजकुमार साह, विकासकुमार चौधरी र अम्भुप्रसाद साहले उम्मेद्वारी दिएका छन् । त्यस्तै उपाध्यक्षमा लक्ष्मण साह र विश्वनाथ साह सुडी तथा महिला उपाध्यक्षका लागि रिंकु साह, माया कुमारी र सरिता ठाकुरले उम्मेद्वारी दिएकी छन् ।
त्यस्तै महासचिवका लागि फुलदेव पण्डित, गणेशकुमार साह, अशोककुमार चौधरी र सुधीर पजियारसहित ४ जनाले उम्मेद्वारी दिएका छन् ।
सचिवका लागि नरेन्द्रविक्रम साह, राकेश पजियार, श्रवणकुमार साह र गोपीकुमार साह प्रतिस्पर्धामा छन् । कोषाध्यक्षमा भने रामचन्द्र पजियार, मनोजकुमार शर्मा, राकेशकुमार साह र परमेश्वर साहबीच प्रतिस्पर्धा हुने भएको छ ।
एसोसिएट सदस्य पदमा दीपककुमार साह र अभिषेककुमार चौधरीबीच प्रतिस्पर्धा हुने देखिन्छ ।
त्यस्तै ६ जना कार्यसमिति सदस्यका लागि रमेश महतो, सन्तोषकुमार गामी, मणिशंकर प्रसाद साह, दुर्गेशकुमार साह, दीपमणि साह, प्रवीणकुमार साह सोनार, सुरेन्द्र दास, धर्वेन्द्र साह, गौरीशंकर साह, निरजकुमार साह, रामजीवन साह, राकेशकुमार साह, जीवछ साह, बलरामकुमार साह, ध्रुबकुमार साह, दिलीपकुमार साह र सुनिलदास कथबनियाले उम्मेद्वारी दिएका छन् ।
त्यस्तै सम्बद्ध सदस्यमा जनकपुरधाम कपडा तथा रेडिमेड र जनकपुरधाम सुनचाँदी व्यवसायी संघको उम्मेद्वारी परेको छ । जनकपुरधाम उद्योग वाणिज्य संघको निर्वाचन २९ भदौ शनिबार हुँदै छ । निर्वाचनअघि उम्मेद्वारहरू मतदाताको घरघरमा पुगेर आफ्ना लागि भोट मागिरहेका छन् ।
जनकपुरधाम उद्योग वाणिज्य संघमा अहिले ४ हजार ७६ सदस्य मतदाता रहेका छन् ।
अध्यक्ष पदका उम्मेद्वारहरूको यस्तो छ दावी
अध्यक्ष पदका उम्मेद्वार जितेन्द्रप्रसाद साहले उद्योगी, व्यवसायीले भोग्दै आएका समस्या र चुनौतीलाई समाधान गर्न नेतृत्वदायी भूमिका निभाउने बताएका छन् । आल्मुनियम पसलका सञ्चालक साहले साना, मझौला तथा ठूला व्यवसायमा आफूले प्राप्त गरेको अनुभवलाई उद्योग वाणिज्य संघका लागि प्रयोग गर्ने बताए ।
उनले अध्यक्षमा निर्वाचित भए स्थानीय सरकारसँगको सहकार्यमा फुटपाथमा व्यापारिक गतिविधि निरूत्साहन गरी फुटपाथ व्यवसायीहरूलाई वैकल्पिक व्यवस्था मिलाउन समन्वय गर्ने बताए ।
बजार क्षेत्रमा पार्किङको वैज्ञानिक व्यवस्थापन गर्ने, आर्थिक मन्दीको असर परेको व्यवसाय क्षेत्रमा कर घटाउन पहल गर्ने, घरभाडा कम गर्न घरबेटीसँग सहकार्य र समन्वय गर्ने, पसलहरूको होर्डिङ बोर्डको कर पूर्ण रूपमा खारेज गर्न पहल गर्ने लगायतका एजेन्डामा काम गर्ने जितेन्द्रले बताए ।
व्यावसायिक सुरक्षाको प्रत्याभूति र सामाजिक एकताका लागि आफूले उम्मेद्वारी दिएको उनले बताएका छन् । संघको अध्यक्ष पदमा उम्मेद्वारी दर्ता गराएपछि जितेन्द्रले व्यावसायिक तालिम, रोजगारको सुरक्षा र सीप विकास योजनाका लागि आफूले उम्मेद्वारी दिएको बताएका छन् ।
संघमा आफूले विगतदेखि गरेका योगदान नै आफ्नो जितको मुख्य कारण रहेको उनको भनाइ छ । नैतिकवान एवं सक्षम नेतृत्व, बजार व्यवस्थापन र बिस्तार, उद्योग, व्यापार, कृषि र पर्यटनमा आधारित स्थानीय आर्थिक विकासलाई जोड दिने प्रमुख उद्देश्य रहेको जितेन्द्रले जानकारी गराएका छन् । जितेन्द्र जनकपुरधाम उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष भइसकेका छन् ।
अध्यक्षका अर्का उम्मेद्वार सुरेन्द्र भण्डारीले उपाध्यक्ष बनेर उद्योगी व्यवसायीको हितमा काम गर्न नसकिने देखेर यसपालि अध्यक्षमा उम्मेद्वारी दिएको बताए । गत अधिवेशनमा उनी सर्वाधिक मत प्राप्त गरेर उपाध्यक्ष बनेका थिए ।
‘उपाध्यक्ष पदमा निर्वाचित भएपछि मैले व्यवसायीको हकहितका लागि धेरै काम गर्ने प्रयास गरेँ । धेरै ठाउँमा बोलेँ । संस्थागत रूपमा काम गर्ने प्रयास गरेँ । तर, उपाध्यक्षले चाहेर यहाँ केही गर्न सकिने रहेनछ’, सुरेन्द्रले भने, ‘आफूले चाहेर पनि गर्न नसकेका धेरै कामहरू गर्न मैले अध्यक्ष पदमै उम्मेद्वारी दिनुप¥यो ।’
उनले आफूले उठाउन खोजेका एजेन्डाहरू अन्य उम्मेद्वारले उठाउन नचाहेका कारण उम्मेद्वार बन्नुपरेको बताए । लामो समय संघमा आवद्ध रहँदा उल्लेखनीय काम गरेको चर्चा गर्दै विगतमा आफू संघमा रहँदा व्यावसायिक हकहितमा धेरै काम भएको तर हालको नेतृत्वले प्रभावकारी काम गर्न नसकेकाले पनि आफूले उम्मेद्वारी दिएको उनले बताए ।
उनले आफूलाई नेतृत्वमा रहेर उद्योग, व्यापार र व्यवसाय क्षेत्रको विकास अघि बढाउन उम्मेद्वारी दिएको बताउँदै संघको गरिमा उच्च राख्न भूमिका खेल्ने दाबी गरेका छन् ।
त्यस्तै अर्का उम्मेद्वार मनिषरमण साहले आफू अध्यक्ष भए झोलामा संघको सदस्यता बोकेर हिँड्ने तर कहिल्यै पेसा व्यवसाय सञ्चालन नगर्ने तथा सरकारी निकायमा तिर्नुपर्ने दायित्व नतिरेका व्यवसायीको सदस्यता छानबिन गरी हटाउने बताएका छन् । यसो गर्दा मात्रै संघलाई व्यवसायीहरूको विशुद्ध संगठन बनाउन सकिने उनको भनाइ छ ।
उनले संघमा आबद्ध व्यवसायीहरूको सुरक्षाका लागि बिमा गर्ने, व्यवसाय कर, घरबाहल कर तथा विज्ञापन करको समस्यालाई नीतिगत रूपमा समाधान गर्ने, बैंकहरूले मनोमानी ढंगले बढाउने ब्याजदरमा एकरूपता बनाउन दबाब दिने एजेन्डाहरू बोकेका छन् ।
मनिषले संघमा स्थानीय तहलाई समेत जोड्ने गरी काम गर्ने, होटल तथा रेस्टुरेन्टहरू चौबिसै घण्टा सञ्चालन हुन दिन पहलकदमी लिने प्रतिबद्धता जनाएका छन् ।
‘व्यवसायिक एकता, पूर्वाधारको व्यवस्था, प्रष्ट नीति नियम एवं व्यवसायमैत्री वातावरणमा नै दिगो आर्थिक सम्भव’ भन्ने नाराका साथ आफूले अध्यक्ष पदमा उम्मेद्वारी दिएको मनिषले बताएका छन् ।
उनले नवीन प्रविधियुक्त सुदृढ सचिवालय व्यवस्थापन गर्ने, साना मझौला व्यवसायी तथा उद्योगहरूको लागि सर्वसुलभ कर्जा उपलब्ध गराउने, हाल संघको सदस्य संख्यालाई दोब्बर बनाउने, व्यवसायीको सटर भाडाका विषयमा घरबेटी र व्यवसायीबीच सम्बन्ध राम्रो बनाउन संघले पहल गर्ने, आन्तरिक राजस्व कार्यालय, घरेलु कार्यालय, जिल्ला प्रशासन, स्थानीय सरकारसँग समन्वय गरी पारस्परिक सहयोगको वातावरण सिर्जना गर्ने, आन्तरिक धार्मिक पर्यटनलाई बढावा दिने लगायतका एजेन्डा रहेको मनिषले बताए ।
सबैभन्दा कान्छो उम्मेद्वार ‘निरज’ के भन्छन् ?
पछिल्लो कार्यसमितिमा कार्यकारिणी सदस्य रहेका नरेन्द्र विक्रम साह ‘निरज’ यसपटक व्यवसायीबाटै अनुमोदित भएर संघको सचिव पदमा उम्मेद्वारी दिएका छन् । नरेन्द्र सबैभन्दा नयाँ पुस्ताको प्रतिनिधित्व गर्दछन् ।
जनकपुरधाममा जय बाबा गिरनारी निर्माण सेवा, विक्रम सप्लायर्स, प्रदेश मल्टिमिडिया प्रालि र संबित स्टोर्स सञ्चालन गरेका नरेन्द्रभन्दा अगाडि जनकपुरधाम उद्योग वाणिज्य संघको कार्यसमितिमा तेस्रो पुस्ताको आगमन भएको देखिँदैन । पहिलो र दोस्रो पुस्ताबाट अब नेतृत्व तहमा तेस्रो पुस्ता लम्कन सुरु गरेको छ ।
सानै उमेरदेखि जिम्मेवारी सम्हालेका नरेन्द्रले २९ भदौमा हुने जनकपुरधाम उद्योग वाणिज्य संघको निर्वाचनमा सचिव पदका लागि उम्मेद्वारी दिएका छन् ।
नरेन्द्र नयाँ पुस्ताका लागि उदाहरण हुन् । व्यवसायलाई परिमार्जित गर्दै गरिएको लगानीले समेत उनको व्यावसायिक आकार र आयातनमा फेरबदल ल्याएको छ । व्यवसायसँगै सामाजिक कार्यमा समेत उनको सक्रियता पाइन्छ । जनकपुरधाम उद्योग वाणिज्य संघमा आबद्ध भई व्यवसायीको हकहित र अधिकारका लागि आवाजलाई बुलन्द बनाउने बाटोमा उनको यात्रा अगाडि बढ्दै छ ।
पछिल्लो समय राजनीतिमा अब युवा भन्ने भाष्य स्थापित भएको छ । गएको निर्वाचनबाट युवाहरू सदनमा नै पुगेको देखिन्छ । सामाजिक संस्थामा समेत युवाहरूको नेतृत्वदायी भूमिका देखिन्छ । नरेन्द्र विक्रम साह ‘निरज’ पनि युवाहरूको प्रतिनिधित्व गर्दै जनकपुरधाम उद्योग वाणिज्य संघको निर्वाचनमा होमिएका छन् ।
उद्यम, कृषि र पर्यटनलाई आत्मसात् गर्दै यस क्षेत्रमा युवाहरूलाई प्रवेश गराउने उद्देश्य निरजको छ । उनी भन्छन्, ‘पछिल्लो समय युवामा वितृष्णा आएको छ । सम्भावना हुँदाहुँदै पनि देश छाडेर परदेश गएका छन् । युवालाई स्वरोजगार गराउने उद्देश्य स्वरूप आफू लागिपरेको छु । हामी कुरा होइन काम गर्नका लागि आएका हौँ । निर्वाचित भइसकेपछि यहाँका व्यवसायीको हितबमोजिम नै काम गर्छौं । यसमा हामी एकजुट भएर अगाडि बढ्छौँ । संघ अब युवाको नेतृत्वमा अगाडि बढ्दै छ ।’
उद्योग वाणिज्य संघको साख जोगाउन र सम्पूर्ण व्यवसायीलाई एकीकृत गराई उनीहरूको समस्यालाई समाधान गर्न नरेन्द्रको उम्मेद्वारी हो । उनले यसअघि नै उद्योग वाणिज्य संघलाई नयाँ स्वरूप दिन खोजे । नयाँ पुस्ताको नयाँ सोचमा उद्योग वाणिज्य संघ चल्नुपर्छ भन्ने धारणा उनको छ । आर्थिक मन्दीले यस क्षेत्रका व्यवसायीले भोग्नुपरेका समस्यालाई समाधान गर्न पहल गर्ने उद्देश्यसहित नरेन्द्र अगाडि बढिरहेका छन् । उनको एउटै ध्येय ‘सबल, सक्षम, सुदृढ र आत्मनिर्भर उद्योग वाणिज्य संघ’ हो ।
निरज यस क्षेत्रकै सफल युवा व्यवसायीमध्ये एक हुन् । लामो समयदेखि जनकपुरधाममा व्यवसाय गर्दै आएका उनले आफूले उद्योगी व्यवसायीको हकहित, संरक्षण र मर्यादित व्यवसायमा जोड दिँदै आएको बताउँछन् । निरजले सचिव पदका लागि आफू योग्य भएकोले यहाँका व्यवसायीहरूले आफूलाई विजयी बनाउनेमा विश्वस्त छन् ।
निरजले आफू सफा सहर, पर्यटन विकास र समृद्ध बजारको नीतिलाई आत्मसात गर्दै स्वदेशमै रोजगारीका लागि व्यापार व्यवसायमा युवाशक्तिलाई प्रोत्साहन गर्नुपर्ने आफ्नो पहिलो प्राथमिकतामा रहेको सुनाए । उनले आफू निर्वाचित भए धनुषा जिल्लालाई औद्योगिक करिडोर बनाउनका लागि पहल गर्नुका साथै तेस्रो मुलूकमा आयात निर्यातका लागि बन्दरगाह निर्माण गर्नसमेत पहल गर्ने प्रतिबद्धता जनाए । आफूले व्यवसायीको हरेक समस्यालाई बुझ्दै समाधानका लागि हरसम्भव पहल गर्ने दृढतासमेत निरजले जनाएका छन् ।
उनले आफ्नो पहलमा धनुषा जिल्लामा ७७ वटा व्यावसायिक कम्पनीहरू दर्ता गराएको र त्यसमध्ये २० वटा एकदम राम्रो अवस्थामा सञ्चालमा रहेको बताए ।
निरजको व्यापार संघको यात्राः
सचिव पदमा उम्मेद्वारी दिएका निरजले संघमा पहिलो कार्यकाल सदस्यमा बसेर काम गरेको अनुभव आफूसँग रहेको बताए । २०७६ सालमा जनकपुरधाम उद्योग वाणिज्य संघमा प्रवेश गरेका निरजले व्यापार संघले आयोजना गरेको विभिन्न व्यापारिक मेलाहरूमा लगातार सहभागिता जनाएका छन् ।
निरजले व्यापार संघको विभिन्न कार्यक्रमहरूमा कार्यक्रम संयोजकको रूपमा आफ्नो सफल भूमिका निर्वाह गरिसकेका छन् । उनले आफूले विभिन्न उपसमिति संयोजक, सदस्य लगायतको भूमिकामा जिम्मेवारीपूर्वक काम गरेको बताए ।
उनले यहाँका विभिन्न संघसंस्थामा जिम्मेवारीपूर्वक काम गरेको अनुभव आफूसँग रहेको बताउँदै संघको सचिवमा आफू पूर्ण योग्य रहेकाले जिम्मेवारी पाएमा आफ्नो अनुभव र क्षमतालाई पूर्णरूपमा कार्यान्वयन गर्ने प्रतिवद्धतासमेत जनाएका छन् ।
निरज सफल व्यवसायी मात्र नभएर कुशल संगठक, शिक्षाप्रेमी, समाजसेवीका रूपमा समेत परिचित छन् । २९ वर्षीय युवा व्यापारी निरजले आफूले ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाँउसम्म व्यापार विस्तार’ भन्ने व्यापार संघको नारालाई आत्मसात गरेको बताउँछन् ।
निरजले आफू व्यापारीहरूको समस्या समाधान गर्न हरपल तयार रहेको प्रतिबद्धता जनाउँदै सबैलाई सहयोग र समर्थनका लागि अपील गरेका छन् ।
प्रतिक्रिया