भगवान शिव तथा ऋषिहरूको पूजा आराधना गर्दै नेपाली महिलाहरूले भाद्र महिनामा मनाउने पर्वलाई चलनचल्तीको भाषामा तीज भन्ने गरिएको छ । ३ दिनसम्म मनाइने पर्व भएका कारण तीज पर्व भनिएको पण्डितहरू बताउँछन् । तृतीयाको अपभ्रंश भएर तीज भनिएको पनि पण्डितहरू बताउँछन् । तीज भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाइन्छ । द्वितीयाका दिन छोरीचेली तथा दिदीबहिनीहरूलाई बोलाएर मिष्ठान्न भोजन गराइन्छ । तृतीयाका दिन व्रत बसेर बेलुकीपख भगवान शिवको पूजा आराधना गरिन्छ । चतुुर्थीका दिन आराम गरिन्छ । पञ्चमीका दिन सप्तऋषिहरूको पूजा आराधना गरिन्छ ।
धार्मिक पात्रोमा ३ दिन मनाइने पर्वका रूपमा उल्लेख भए पनि लोक जीवनमा भने साउने संक्रान्तिदेखि नै तीजको रौनक सुरु हुन्छ । हरेक चाडपर्वका दुइटा पाटा हुन्छन्, एउटा पाटो पूजा आराधना, अर्को पाटो मनोरञ्जन । मनोरञ्जनको मुख्य पाटो भनेको गीतसंगीत नै हो । हरेक पर्व तथा मौसमका छुट्टाछुट्टै गीत, भाका तथा संगीतहरू नेपाली लोक जीवनमा छन् । त्यसमध्ये साउन भदौमा महिलाहरूले गाउने लोक भाकालाई तीजको गीत भन्ने गरिन्छ । विशेष गरी तीजको गीतमा शिवको महिमा हुन्छ, यसबाहेक महिलाहरूले आफ्ना सुखदुःखका कहानी पनि तीज गीतमार्फत् प्रकट गर्छन् । त्यो वर्षभरको कुनै उल्लेख्य घटनालाई पनि तीजको गीतमार्फत प्रचार गर्ने चलन छ ।
तीज पर्व नेपाली महिलाको धार्मिक तथा लोक सांस्कृतिक पर्व हो । तर, आधा शताब्दीअघि फर्किने हो भने तीज पर्व देशको सम्पूर्ण भूगोल तथा जाति समुदायमा फैलिइसकेको देखिन्न । खास गरी यो पर्व कर्णालीपूर्वका खस आर्य समुदायका महिलाहरूमा सीमित रहेको देखिन्छ । बसाइँसराइ तथा सामाजिक अन्तरघुलनका कारण यतिबेला तीज पर्वले नेपालमा मात्रै होइन, विश्वका कुना काप्चामा समेत व्यापकता पाइसकेको छ । नेपालका पहाडी मूलका मानिसहरू विश्वका जुनजुन ठाउँमा पुगेका छन्, ती–ती ठाउँमा तीज पर्व मनाइन्छ । तीज पर्वको एक महिने अवधिमा गीत संगीतको व्यावसायिक कारोबारसमेत हुन थालेको छ ।
पूजा आराधनाको शास्त्रीय विधिमा कुनै परिवर्तन भएको छैन, तर मनोरञ्जनको शैलीमा भने व्यापक परिवर्तन भइसकेको छ । तीजका गीतको मौलिक भाका तथा विषयवस्तुमा समेत परिवर्तन आइरहेको छ । यो परिवर्तन ठिक कि बेठिक ? भन्ने विषयमा समेत नेपाली समाजमा आ–आफ्नो दृष्टिकोणबाट बहस हुने गरेको छ । लोक संस्कृतिको जननी भनेका गाउँहरू हुन् । लोक संस्कृतिको जगेर्ना गर्ने भनेकै गाउँले हो । तर, नेपालका गाउँहरू रित्तिन थालेका छन् । गाउँमा बूढाबूढीहरू मात्रै छन् । त्यसैले तीज गीतको रौनक अब ग्रामीण क्षेत्रमा एकादेशको कथा जस्तो बनेको छ ।
यतिबेला तीजको मनोरञ्जनात्मक पक्षलाई सहरी क्षेत्रका महिलाहरूले निरन्तरता दिइरहेका छन् । तर, सहरी क्षेत्रका महिलाहरूले तीजका गीतको मौलिकतालाई के कति निरन्तरता दिन सकेका छन् ? भन्ने विषयमा भने प्रश्नैप्रश्न छन् । सहरी क्षेत्रमा घरमा भेला भएर नाचगान गर्न सम्भव छैन, आवश्यकता पनि छैन । सुविधा सम्पन्न पार्टी प्यालेसहरू छँदै छन् । पार्टी प्यालेसमा जम्मा हुने, जस्तो गीत तथा भाकामा नाच्न आउँछ, तिनै गीत भाकाहरूको रेकर्ड घन्काउने चलन सुरु भएको छ । नाचगानमा जम्मा हुने प्रक्रियालाई ‘दर खाने’ भनेर नामकरण गरिदिँदा अन्योल सिर्जना भएको छ । द्वितीया तिथिको राति गरिने विशेष भोजनलाई मात्रै दर भन्ने पुरानो प्रचलन हो । तर, महिनैभर गरिने नाचगानका क्रममा सामूहिक रूपमा खाइने भोजलाई दर भन्ने गरिँदा नेपाली मौलिक संस्कृतिको आलोचना गर्नेहरूले ठाउँ पाएका छन् । शिवपार्वतीलाई राधाकृष्णभन्दा तल्लो कोटीका देवदेवीको सूचीमा राख्ने वैष्णव पन्थ तथा देवदेवी मान्दै नमान्ने गैरहिन्दु कार्यकर्ताहरूद्वारा तीज पर्वको मनोरञ्जनात्मक पक्षमाथि प्रहार हुन थालेको छ ।
खास गरी भारतमा ठुलो प्रभुत्व जमाइसकेको वैष्णव पन्थले शिव– पार्वतीको भूमि नेपालमा मनाइने चाडपर्वहरूको मौलिक शैलीलाई पचाउन सकिरहेको छैन । चाडपर्वमा मासु तथा रक्सी खाने चलन नेपालमा सनातनदेखि चलिआएको हो । व्रतको दिनबाहेक अरूबेला छोरीचेलीलाई बोलाएर माइती पक्षले माछामासु खुवाउने नेपालको सनातन संस्कृति हो ।
प्रतिक्रिया