रास्वपा सुदूरपश्चिम महामन्त्री पारस बाहुन बर्खास्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुदूरपश्चिम प्रदेश महामन्त्री पारस बाहुन बर्खास्त भएका छन् । उनलाई सुदूरपश्चिम प्रदेश सभापति प्रकाश विष्टले बर्खास्त गरेका हुन् । बाहुन गत मंसिर १३ गते महामन्त्री नियुक्त भएका थिए ।

संगठन र नेतृत्वलाई असहज, असफल बनाउने विविध क्रियाकलाप गरेपछि बर्खास्त गर्नुपरेको प्रदेश सभापति विष्टले जनाएका छन् । बाहुनलाई भदौ १० गते स्पष्टीकरण सोधिएको थियो । ७२ घण्टाभित्र स्पष्टीकरण दिन भनिएकामा उनले जवाफ पनि दिएका थिए ।

तर स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएकाले बिहीबारदेखि लागू हुने गरी प्रदेश महामन्त्री पदको जिम्मेवारिबाट मुक्त विष्टले बताएका छन् । प्रदेश महामन्त्रीबाट बर्खास्त गरिएका बाहुनले भने प्रदेश सभापतिले व्यक्तिगत सम्बन्धलाई लिएर कारबाही गरेको बताएका छन् । नेतृत्वलाई खुशी पार्न नसक्दा महामन्त्रीबाट हटाइएको उनले बताएका छन् ।

‘सुदूरपश्चिममा तपाईंको कुरामा विमति राख्नेलाई पेल्ने, कसरी हटाउन सकिन्छ भनी लागिरहने बानीसँग म र पूरै समिति अपरिचित त होइन, तर पनि सुधार गर्न सकिन्छ कि भनी लागेता पनि तपाईंका पछिल्ला गतिविधि, पदाधिकारीप्रति गरिएका व्यवहार हेर्दा तपाईंलाई सुधार गर्न सकिएन,’ उनले स्पष्टीकरणको जवाफमा भनेका छन्, ‘मेरो आठ महिनाको अनुभवमा हामीले ३ महिनाभित्र ९ वटै जिल्लामा सक्रिय जिल्ला संयोजक बनाइसक्नु पर्ने भए पनि मात्र प्रदेश सभापति ज्यूको कारणले आठ महिना बित्दा पनि आठ वटा जिल्लामा मात्र संयोजक बनाउन सकियो । बझाङमा पाँच महिनादेखि जिल्ला संयोजकले गरेको राजीनामा पनि अड्काएर राखिएको छ ।’

प्रतिक्रिया