हेटौँडा । प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा बागमती प्रदेशसभाका सांसदलाई विभिन्न सरोकारवाला निकायका प्रतिनिधिले सुझाव दिएका छन् । बिहीबार हेटौँडामा आयोजित प्रदेशसभाको विषयगत समिति र सरोकारवाला बीचको अन्तरक्रियामा सहभागीले हस्तकलाका सामग्रीको उत्पादनसँगै बजारीकरणका विषयमा संवेदनशील हुन आग्रह गरेका छन् ।
हस्तकलासँग सम्बन्धित विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको अन्तरक्रियामा बोल्ने अधिकांश सहभागीले भने विधेयकले व्यवस्था गर्ने विभिन्न परिषद् तथा समितिमा आफू सम्बद्ध संस्थाको प्रतिनिधित्व सुनिश्चित गर्नेमा बढी चासो व्यक्त गरे । सहभागीहरूले हस्तकलाका सामग्री उत्पादनमा लागत बढी हुने तर बजार सुनिश्चित नभएका कारण उत्पादक मारमा पर्ने तथ्यलाई मनन गर्दै हस्तकलाका सामग्री उत्पादन तथा बिक्री वितरणमा कर सहुलियतको व्यवस्था गराउन सुझाव दिएका थिए । यस्तै नेपाली परम्परागत हस्तकलाका सामान बनाउन आवश्यक कच्चा पदार्थ उत्पादनका लागिसमेत उचित तालिम र प्रविधि हस्तान्तरणका लागि विधेयकले सम्बोधन गर्न सक्नुपर्ने उनीहरूको धारणा थियो ।
गाउँगाउँमा हस्तकलाका सामान बन्ने भए तापनि त्यसको खपत हुन नसकेको गुनासो गर्दै सरोकारवालाले नीतिगत रूपमै विदेशी उत्पादनलाई सम्भव भएसम्म हस्तकलाका सामानले प्रतिस्थापन गर्ने व्यवस्था मिलाउन सुझाव दिएका छन् । सहभागीका सुझाव ग्रहण गर्दै सांसदहरूले प्राप्त सुझावलाई मनन गर्दै विधेयकलाई व्यवस्थित बनाएर संसद्मा पेस गर्ने बताएका छन् । बागमती प्रदेशसभा उद्योग, पर्यटन तथा वातावरण समितिका सदस्य भारती पाठक, ठूला थामी, बालकुमारी विश्वकर्मा, भुवनकेशरी श्रेष्ठ, रुकु चौलागाईं र धनेश्वरी श्रेष्ठले विधेयकलाई थप प्रभावकारी बनाउनका लागि सरोकारवालाको सुझाव महत्वपूर्ण हुने धारणा राखेका थिए ।
समितिका सभापति आनन्दकुमार श्रेष्ठले सरकारले आफ्नो अनुकूलतामा मात्र विधेयक ल्याउने परिपाटीलाई तोड्दै त्यसको प्रभावकारी कार्यान्वयनका लागि सरोकारवालाको सुझाव आवश्यक रहेको बताए । सबैका भावना समेट्न सके मात्र विधेयक तथा ऐन प्रभावकारी हुने भन्दै उनले संसद्ले बनाएका कानुनको पनि समयसमयमा सम्पादन हुनुपर्ने धारणा राखेका थिए ।
मकवानपुर
प्रतिक्रिया