सिरहा । सिरहाको कर्जन्हा नगरपालिका–१ स्थित बाल्टियामा १ करोड ६४ लाख ६८ हजार रुपैयाँ लागतमा नन्दबाबा खानेपानी आयोजना निर्माण भएको छ । आयोजना सम्पन्न भएसँगै वडा–१ का ६१९ परिवारमा शुद्ध खानेपानीको पहुँच बिस्तार भएको हो ।
कर्जन्हा नगरपालिकासँगको सहकार्यमा सबल नेपालद्वारा सञ्चालित ‘सामाजिक परिवर्तनका लागि खानेपानी, सरसफाइ तथा स्वच्छता सुशासन सबलीकरण परियोजना’ अन्तर्गत सम्पन्न भएको खानेपानी आयोजना एक कार्यक्रमको आयोजना गरी खानेपानी उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ ।
२०७६ फागुन २० देखि उक्त खानेपानी आयोजना प्रारम्भ भएको थियो । सबल नेपालको ७० लाख ५ हजार ९५५, नगरपालिकाको ९० लाख ७४ हजार ३७३ तथा लक्षित समुदायले ३ लाख ८८ हजार ४८५ खर्च बेहोरेका सबल नेपालका पालिका संयोजक रोजी श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार खानेपानी वितरण गर्न कुल १ लाख ५० हजार लिटर पानी भण्डारण क्षमता रहेको ‘ओभरहेड’ ट्यांकी रहेको छ ।
उक्त ट्यांकीमा स्वचालित रूपमा पानी शुद्धीकरणका उपकरणसमेत जडान गरिएको छ । २४० फिटको डिप बोरिङ गाडिएको छ भने १० एचपी क्षमताको सम्बरसिवल पम्प जडान गरिएको सबल नेपालका कोषाध्यक्ष आयुश श्रेष्ठले जानकारी दिए ।
खानेपानीका इनार र कुवाहरू सुक्दै जान थालेपछि उक्त आयोजनाको पहल गरिएको वडा–१ का वडाध्यक्ष फणिन्द्र पोखरेलले बताए । ‘जलवायु परिवर्तनसँगै चुरे क्षेत्रका गाउँहरूमा पानीको सतह सुक्न थाल्यो । ट्युबेल र इनारहरू सुक्न थाले । गाउँमा खानेपानीको हाहाकार हुन थालेपछि यो आयोजनाको पहल गरिएको हो’, उनले भने, ‘यसमा सबल नेपाल र नगरपालिकाले पनि चासोका साथ सहयोग गरेकाले समयमै निर्माण सम्पन्न भएको छ ।’
घरमा नियमित खानेपानी आउन थालेपछि स्थानीय पनि खुसी भएका छन् । ‘हाते कल सुकेको वर्षौं भइसकेको थियो । इनार तथा कुवाका पानी पनि सुक्न थालेपछि पानीको हाहाकार हुन थालेको थियो । पछिल्लो समय हामीसँग बसाइँ सर्नुको विकल्प थिएन । आज यसरी घरघरका धारामा पानी आउन थालेपछि हर्षित भएका छौँ’, स्थानीय ६० वर्षीय शारदा कार्कीले भनिन् ।
खानेपानीको दिगोपनाका लागि प्रत्येक परिवारबाट न्यूनतम १० युनिट प्रयोग गरेबापत ८० रुपैयाँ महसुल संकलन गर्ने गरिएको भन्दै थप प्रतियुनिट र महसुल निर्धारण गरिएको नन्दबाबा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए ।
सबल नेपालले निर्माण गरेको संरचनाले गर्दा वडावासीले स्वच्छ पानी पिउन पाएको कर्जन्हा नगरपालिकाका उपप्रमुख लक्ष्मीकुमारी श्रेष्ठले बताइन् । उनले यस खानेपानी आयोजनाको प्रभावकारिताका लागि नगरले थप योजना बनाउने भन्दै नगरका अन्य वडा तथा समुदायमा पानीको समस्या समाधान गर्न सहकार्य गर्दै जाने उल्लेख गरिन् ।
आफ्नो नगरक्षेत्रभित्रको चुरेको फेदमा पर्ने बल्टियाको बस्तीमा स्थानीयको घरघरमा खानेपानीको व्यवस्था भएको नगरप्रमुख भोला पोखरेलले बताए । ‘यसमा नगरले पनि सहकार्य गरिरहेको छ । आगामी दिनमा नगरका अन्य सुक्खा ठाउँमा क्रमशः खानेपानीको व्यवस्था गर्दै जाने प्रतिबद्धता गर्दछौँ’, उनले भने ।
प्रतिक्रिया