बझाङ । बझाङको जयपृथ्वी नगरपालिका– ६ का वडाध्यक्ष नरेन्द्रबहादुर सिंहले आफ्नो वडा बालमैत्री स्थानीय शासन घोषणा गर्न पालिकाले बजेट विनियोजन गरिदिए सजिलो हुने बताएका छन् ।
मंगलबार सदरमुकाम चैनपुरको केपी प्लाजामा प्रगतिशिल युवा समाजको आयोजना र जयपृथ्वी नगरपालिकाको सहकार्यमा बसेको बालमैत्री स्थानीय शासन समितिको नियमित बैठकमा बोल्दै वडाध्यक्ष सिंहले सो कुरा बताएका हुन् ।
वडाध्यक्ष सिंहले नगरपालिका भित्रका वडा नम्बर ६ र ११ लाई ८१ सालभित्र कार्यपालिकाको बैठकले बालमैत्री वडा घोषणा गर्ने लक्ष्य लिएको भएता पनि आफ्नो वडामा आवश्यक भौतिक पूर्वाधारहरु बन्न नसेको, नगरपालिकाले आगामी दिनहरुमा बाँकी रहेका कामहरु निर्माण गर्न बजेट विनियोजन गरिदिनुपर्ने बताए ।
फरक प्रसंगमा बोल्दै वडाध्क्षय सिंहले प्रगतिशिल युवा समाजले बालमैत्री वडा घोषणका लागि आफ्नो कार्ययोजना अनुसार काम गरिरहेको तर नगरपालिकाले पनि बालमैत्री वडा घोषणाका लागि अरु वडाभन्दा अली बढी सहयोग गरे सम्भव हुने बताए ।
साथै, सोही कार्यक्रममा बोल्दै प्रगतिशिल युवा समाजका कार्यकारी निर्देशक लवराज जोशीले नगरपालिकाले संघ संस्थाले लगानी लगाइसकेपछि केही न केही प्रतिफल हुनुपर्ने र आगामी दिनहरुमा बालमैत्री स्थानीय शासन घोषणका लागि संघ संस्थाहरुले के–के गर्नुपर्ने हो आफू सधैँ तयार रहेको बताए ।
जोशीले बालमैत्री वडा घोषणका लागि जम्मा ५१ वटा सुचकहरु रहेको, अधिकांश सुचकहरु पूरा भएको भन्दै केही सुचकहरु बाँकी रहेकाले वडाले पालिकासँग साझेदारी गरी केही सुधार गर्नुपर्ने र केही सुचकहरु स्थानीय श्रोत साधनको उपयोग गर्नुपर्ने बताए ।
त्यसैगरी जयपृथ्वी नगरपालिकाका नगरप्रमुख चेतराज बजालले नगरपालिकाले बालमैत्री स्थानीय शासन घोषणका लागि अघिल्लो कार्यले दुईवटा वडा छनोट गरेको भएता पनि आफू निर्वाचित भएर आएपछि पालिकाले आफ्नो सेवाभित्रको काम गरिरहेको र बजेट अभावका कारण केही सुचकहरु पूरा गर्न बाँकी रहेको हुँदा आगामी आउने बजेट समेटेर लैजाने र दुवै वडा छिट्टै बालमैत्री स्थानीय शासन घोषणा हुने बताए ।
कार्यक्रममा बालमैत्री स्थानीय शासनका प्रतिफल, बालमैत्री स्थानीय शासनका अवलम्बनका आधारहरु, बालमैत्री स्थानीय शासनको संस्थागत संरचना, बालमैत्री स्थानीय तह घोषणका आधारहरु गाँउपालिका, नगरपालिकाको भूमिका र नगरपालिकामा भएका प्रगतिहरु र सिकाइहरुको बारेमा जानकारी गराइएको थियो ।
बझाङ
प्रतिक्रिया