सिर्सिया सुक्खा बन्दरगाहबाट १ महिनामा ३ अर्ब ७५ करोड राजस्व संकलन

वीरगञ्ज । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको साउनमा ३ अर्ब ७५ करोड राजस्व संकलन गरेको छ ।

भन्सार विभागले कार्यालयलाई चालु आवको साउनमा ४ अर्ब ७३ करोड ३१ लाख ४५ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । कार्यालयले सो अवधिमा लक्ष्यको ७९.२८ प्रतिशत अर्थात् ३ अर्ब ७५ करोड २२ लाख ११ हजार रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ ।

भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले चालु आवको पहिलो महिनामा राजस्व संकलन उत्साहजनक देखिएको दाबी गरे । ‘चालु आवको साउनमा राजस्व संकलनमा औसतमा उत्साहजनक देखिएको छ, भदौको समग्र राजस्व संकलनले आगामी दिनको दिशानिर्देश गर्नेछ,’ उनले भने ।

भन्सार विभागले कार्यालयलाई गत आवको साउनमा ४ अर्ब २४ करोड ६३ लाख ३५ हजार रुपैयाँ लक्ष्य निर्धारण गरेकामा सो अवधिमा लक्ष्यको ९६.०१ प्रतिशत अर्थात् ४ अर्ब ७ करोड ६९ लाख ९५ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।

कार्यालयको गत आवको साउनको तुलनामा चालु आवको साउनमा राजस्व संकलन ३२ करोड ४७ लाख ८४ हजार रुपैयाँले घटेको छ । प्रमुख भन्सार अधिकृत बरुवालले गत आवको साउनको तुलनामा चालु आवको साउनमा समग्रमा राजस्व संकलनमा केही कमी आएको बताए ।

कार्यालयले आव २०७९/८० को साउनमा भने ३ अर्ब ६१ करोड ८५ लाख २ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।

प्रतिक्रिया