पृथ्वी राजमार्गको आँबुखैरेनीमा शुक्रबार बस दुर्घटना हुँदा २७ जना यात्रुको ज्यान गएको छ । १६ जना गम्भीर घाइते भएका छन् । भारतबाट पर्यटक लिएर पोखरा हुँदै काठमाडौँ आउन लागेको बस सडकबाट मस्र्याङ्दी नदीमा खस्दा दुर्घटना भएको हो । गत असार २८ गते चितवनको सिमलतालस्थित सडकमा गुडिरहेका दुइटा बसलाई पहिरोले बगाउँदा ६२ जना यात्रु बेपत्ता भएका थिए । साउन ९ गते काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १९ यात्रुले ज्यान गुमाए । साउन २३ गते एअर डाइनेस्टीको हेलिकोप्टर नुवाकोटको शिवपुरीमा दुर्घटना हुँदा ५ जनाले ज्यान गुमाए ।
यसरी यो डेढ महिनाको अवधिमा सडक तथा हवाई दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या १११ पुगेको छ । विगतमा पनि सडक तथा हवाई दुर्घटना नभएका होइनन्, तर पछिल्ला दिनमा ठुला दुर्घटनाको संख्या बढ्दै गएको छ । पछिल्ला दिनमा भएका दुर्घटनाका प्रकृति पनि फरक छन् । अत्यन्त व्यस्त तथा पर्यटक ओहोरदोहोर गर्ने सडकमा बस दुर्घटना बढेका छन् । विमानस्थल परिसरमै भएको हवाई दुर्घटनामा समेत उद्धारको काममा ढिलाइ भएको सन्देश गएको छ । थोत्रा बस चल्ने दुरदराजका कच्ची सडकमा दुर्घटना हुनु र चौबिसै घन्टा राज्यको निगरानी रहने अत्यन्त व्यस्त मुख्य राजमार्गमा दुर्घटना हुनु एउटै कुरा होइन । यस्ता ठाउँमा हुने दुर्घटनामा चालकको भन्दा पनि सरकारी व्यवस्थापनको बढी कमजोरी मानिन्छ ।
शुक्रबार आँबुखैरेनीमा भएको दुर्घटनाको भोलिपल्ट घाइते तथा मृतकको अवस्था बुझ्न भारतले राज्यमन्त्रीलाई नेपाल पठाएको छ । यो दुर्घटनालाई भारतीय मिडियाहरूले मुख्यसमाचार बनाएर प्रकाशन÷प्रसारण गरिरहेका छन् । यो बर्खा सिजनमा नेपालको पर्यटन व्यवसाय धानिने भनेकै भारतीय पर्यटकको आगमनले हो । सिमलताल बस दुर्घटनाको समाचारपछि भारतीय पर्यटकको आगमनमा एक्कासि कमी आएको थियो । शुक्रबार भएको दुर्घटनाले अझै नराम्रो सन्देश प्रवाह गरेको छ । किनकि दुर्घटनाग्रस्त बस भारतीय हो । बसमा सवार सबै भारतीय पर्यटक हुन् । नेपालको यातायात प्रणाली असुरक्षित छ भन्ने सन्देश प्रवाहित हुँदा पहिलो मारमा पर्ने भनेका पर्यटन व्यवसायीहरू नै हुन् ।
व्यस्त राजमार्गहरू विस्तार तथा मर्मतको चरणमा छन् । त्यसमा पनि अहले मध्य बर्खाको बेला हो । सडकको अवस्था कुन ठाउँमा कस्तो छ ? भन्ने निगरानी गर्दै निरन्तर सूचना प्रवाह गरिरहने काम राज्यको हो । यो मामलामा राज्य चुकेकै कारण गत असार २८ गते सिमलताल दुर्घटना भएको कुरा पुष्टि भइसकेको छ । यो घटनापछि सरकारले जोखिमयुक्त ठाउँमा निगरानी बढाउने घोषणा गरेको थियो । तर, निगरानी बढाएको देखिएन ।
शुक्रबार भएको भारतीय बस दुर्घटनाको मूल कारण सडकको दुरवस्था हो या बसको यान्त्रिक गडबडी हो ? अथवा चालकको लापरबाही तथा अनभिज्ञता हो ? भन्ने विवरण केही दिनभित्र आउने नै छ । तर, पृथ्वी राजमार्ग तथा मुग्लिन– नारायणगढ सडक दुर्घटनाको पृष्ठभूमि हेर्ने हो भने भारत तथा तराईबाट आउँदै गरेका सवारीसाधनको संख्या उल्लेख देखिन्छ । समथर ठाउँमा बनेका सीधा र फराकिला सडकमा सवारीसाधन गुडाइरहेका चालकहरू कहालीलाग्दा तारेभिर खोतलेर बनाइएका घुम्तीयुक्त साँघुरा सडकमा अभ्यस्त हुन नसक्नु स्वाभाविकै हो । यसकारण पनि दुर्घटना बढेको छ । यो पाटोतर्फ भारतीय पक्षले चासो नलिएको हो या नेपालका तर्फबाट यसको वास्तविकता अवगत नगराइएको हो ? भन्ने कुरा सोचनीय छ । भारतबाट आउने सवारीसाधनलाई पहाडी सडकमा रुट परमिट दिँदा त्यसका चालकहरूको अनुभव तथा पृष्ठभूमि समेत हेर्नुपर्ने हो कि ! भन्ने पाठ केही सडक दुर्घटनाहरूले सिकाएका छन् ।
प्रतिक्रिया