अब महावीर पुनको अग्नि परीक्षा

संघीय सरकार मातहतका १७ अस्पतालमा रहेका उपकरणको मर्मत सम्भार र व्यवस्थापन गर्ने जिम्मेवारी डा.महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले पाएको छ । बिहीबार स्वास्थ्यमन्त्री प्रदीप पौडेलको उपस्थितिमा मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा.मदन उपाध्याय र आविष्कार केन्द्रका अध्यक्ष डा.पुनबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार आविष्कार केन्द्रका प्रतिनिधिहरू अस्पतालमा गएर प्रयोग नभएका र सूचीकृत भएका सामानको पहिचान गरी सरकारलाई प्रतिवेदन दिनेछन् । आफैँ बनाउन के कति मूल्य र पार्टपूर्जा चाहिन्छ त्यसको अभिलेख तयार गर्नेछन् ।

अस्पतालमा रहेका उपकरण के–कति प्रयोगमा आउन सक्ने र कुन अवस्थामा छन् ? एकिन गर्ने तथा बनाउन सकिने र नसकिने पहिचान गर्ने कार्य केन्द्रले गर्नेछ । मर्मत गर्नं सकिने भए बनाउने र नसकिने भए सोही अनुसारको रायसुझाव आविष्कार केन्द्रले मन्त्रालयलाई दिनेछ । संझौता कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री पौडेलले अस्पतालमा प्रयोग हुन नसकेर थन्किएका उपकरणलाई प्रयोगमा ल्याउन सकिएमा नयाँ खरिद गर्न लाग्ने ठूलो खर्च जोगिने बताए । थोरै खर्चमा त्यस्ता सामग्री मर्मत र व्यवस्थापन गर्ने कामको थालनी भएको बताए । आविष्कार केन्द्रका अध्यक्ष डा.पुनले राज्यले विश्वास गरेकोमा धन्यवाद दिँदै अस्पतालमा थन्केर बसेका कतिपय उपकरण प्रयोगमा आउनसक्ने सम्भावना रहेको बताए । स्वास्थ्य क्षेत्रको खर्चको लागत घटाउन र प्राविधिक जनशक्तिको उपयोग गर्नका लागि यो संझौता कोसे ढुंगा भएको धारणा उनले राखे ।

राष्ट्रिय आविष्कार केन्द्रले यस अघिदेखि नै अस्पतालमा बिग्रेर थान्को लागेका केही उपकरणहरू परीक्षणको रूपमा मर्मत गर्दै आएको छ । खासगरी आविष्कार केन्द्रले कोरोनाकालमा सुलभ मूल्यमा पिपिआर, ड्रोन लगायतका उपकरण बनाएर सरकारलाई हस्तान्तरण गर्ने, बिग्रिएर थान्को लागेका अक्सिजन उत्पादन प्लान्ट मर्मत गर्ने लगायतका काम गरेको थियो ।

नयाँ उपकरण किन्नुभन्दा पुरानै उपकरणलाई मर्मत गरेर प्रयोगमा ल्याउनुपर्ने, मर्मतको काम सर्वसुलभ लागतमा आफैँले गर्न सक्ने कुरा राष्ट्रिय आविष्कार केन्द्रले गर्दै आएको थियो । तर, कार्यान्वयन हुन सकिरहेको थिएन । नयाँ उपकरण खरिद गर्दा कमिसन आउने भएका कारण साविकका उपकरणहरू सामान्य रूपमा बिग्रनासाथ थान्को लगाइहाल्ने प्रवृत्ति सरकारी अस्पतालमा छ । यसैगरी कमिसन आउने भएकोले मर्मतको जिम्मेवारी व्यवसायीहरूलाई दिने प्रवृत्ति सरकारी अस्पतालमा छ । यो प्रवृत्ति रोक्ने प्रतिवद्धता पटकपटक जाहेर गरेका कारण सरकारले राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मेवारी दिएको हो ।

यो जिम्मेवारी डा.पुनका लागि अग्नि परीक्षा हो । अहिलेसम्म उनी बोल्ने ठाउँमा थिए, अब आफँै कार्यान्वयन गर्ने ठाउँमा छन् । सरकारले स्वास्थ्य उपकरण मर्मत तथा खरिदका लागि गर्दै आएको खर्च अब कति जोगिन्छ ? उपकरण बिग्रेको भन्दै सरकारी अस्पतालहरूले निजी अस्पतालमा बिरामी पठाउने प्रवृत्तिमा अब के कति कमी आउँछ ? भन्ने नतिजा एक वर्षभित्रै निस्किनेछ । जसरी कुलमान घिसिङले आफू विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हुनुको औचित्य काम थालेको २ महिनादेखि नै पुष्टि गर्न थालेका थिए, त्यस्तै अवशर यतिबेला डा.पुनले पाएका छन् । जनस्तरमा डा.पुनप्रति ठूलो विश्वास र भरोषा छ । स्वास्थ्य उपकरण निर्माण तथा मर्मतका लागि स्वदेशमै जनशक्ति विस्तार गर्न सक्ने अवशरसमेत आविष्कार केन्द्रले पाएका छ । नेपालका विश्वविद्यालयमा बायोमेडिकल इन्जिनियरिङको पढाइ हुन थालेको भर्खर भर्खर हो । त्यसैले यो विषयका विद्यार्थीहरूले प्रयोगात्मक अध्ययनको अवसर खासै पाएका छैनन् । यसका लागि विश्वविद्यालयहरूले आविष्कार केन्द्रसँग सहकार्य गर्नु वाञ्छनीय देखिन्छ । किनकी बिहीबार भएको संझौताले यसका लागि बाटो खोलेको छ । कार्यान्वयनका लागि विद्यमान ऐन तथा नियमावलीहरू के कति वाधक रहेका छन् ? भन्ने बुझेर नै दुवै पक्षले संझौतामा हस्ताक्षर गरेको हुनुपर्छ ।

प्रतिक्रिया