किलोमा बाँधिएको भैंसीले मकवानपुरमा बाघ मारेपछि…

तस्विर दिपक श्रेष्ठको फेसबुकबाट

हेटौँडा । सधैँ अन्य जनावरको शिकार गर्ने बाघ भैंसीको आक्रमणमा मारिएको छ । मकवानपुरको मनहरी गाउँपालिकामा गोठमा बाँधिएको भैंसीको प्रतिकारमा बाघ मारिएको हो । बिहीबार बिहान ३ बजेतिर मनहरी ६, प्रतापपुरमा शिकारको खोजीमा गोठमा पसेको बाघ आफैँ मृत फेला परेको हो ।

बाघको आक्रमणबाट भैंसी पनि घाइते भएको छ । स्थानीय बलबहादुर राईको गोठमा बाघ मृत फेला परेको खबर पाएपछि इलाका प्रहरी कार्यालय मनहरी र पर्सा वन्यजन्तु आरक्ष सुरक्षार्थ खटिएको मध्यवर्ती क्षेत्र पदमपोखरी सेक्टर, लामीटार व्यारेकबाट नेपाली सेनाको टोली घटनास्थलमा पुगेको थियो ।

वडाध्यक्ष युवराज थपलियाका अनुसार बाघ बूढो र विरामीसमेत रहेको र गोठ साँघुरो भएकाले भैंसीको प्रतिकारमा बाघ मारिएको हो । मृत बाघ चितवन राष्ट्रिय निकुन्जका सहायक वार्डेन सन्त मगर नेतृत्वको टोलीले लगेको छ ।

छवि अनित्य

मकवानपुर

प्रतिक्रिया