करोडौँको जग्गा न्यून रकममा निलामी

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिका–६ कठौनाका एक परिवारको डेढ करोडको सम्पत्ति बैंकले १५ लाखमा लिलामी गर्दा धनी घरबाट निकालिएका छन् । डाक लिलामी साकार गर्ने शम्भुनाथ नगरपालिका–८ बैरयाहीका शिवचरण चौधरीको नेतृत्वमा आएका ३०/३५ जनाको समूहले मंगलबार सुरतलाल चौधरीका परिवारलाई घरबाट निकालेर तालाबन्दी गरेका हुन् ।

विहान ८ बजे चौधरी नेतृत्वमा आएका समूहले घरभित्र पसेर भाँडाकुँडा, फर्निचर, ओढ्ने ओछ्याउने लुगाफाटो सहितका सरसामान लिकालेर सडकमा मिल्काएर घरमा ताला लगाएर गएको पीडित परिवारले बताएका छन् ।
घटनाबारे प्रहरीलाई तत्कालै जानकारी गराए पनि सुनुवाइ नभएको पीडित चौधरीले बताए । घरभित्र पसेर लुटपाट गर्न साथ प्रहरीचौकी कठौना र इलाका प्रहरी कार्यालय कल्याणपुरमा आफैँ पुगेर घण्टौँसम्म कुरेर बसी जानकारी गराउँदा पनि प्रहरीले चासो नदिएको पीडितले गुनासो गरे ।

बैंक र डाक लिलामी गर्ने चौधरीको प्रभावमा परी प्रहरीले आफ्नो कुरा नसुनेको उनले आरोप लगाए । घरमा ताला लगाएपछि सबैपरिवार घर बाहिरै भोकभोकै बस्नुपरेको पीडित सुरतलाल चौधरीले दुःखेसो पोखे ।
अदालतको अन्तरकालीन आदेश विपरीत शिव चरण नेतृत्वको समूहले आफ्नो परिवारमाथि आक्रमण गरेको पीडितका छोरा मदनेश चौधरीले बताए । विनासूचना घर निकाला गर्दा आफ्नो वृद्ववृद्वा बुबाआमा र नाबालक छोराछोरी बिचल्लीमा परेको उनले दुःखेसो पोखे ।

सप्तरी जिल्ला अदालत राजविराजमा फैसला बदर, लिलाम बदर, दाखा दर्ता बदर, दर्ता कायम मुद्दा सुरतलाल चौधरीको छोरा मदनेशकुमार चौधरीले दायर गरेपछि उनको पक्षमा अन्तरकालीन आदेश दिँदै भदौ ६ गते दुबैपक्षलाई छ्लफलका लागि हाजिर हुन आदेश गरिएको थियो ।

न्यायाधीश उदवीर नेपालीले २०८१ साउन २४ गते गरेको आदेश प्रमाण मिसिल साथै राखेको नदेखिएकाले उक्त मिसिलहरू साथै राखी निवेदन छ्लफलको लागि मिति २०८१ भदौ ६ गतेको पेसी तोकी सो मितिसम्म पूर्व आदेशानुसार जग्गा यथास्थितिमा राख्नु भनी विपक्षीलाई जानकारी दिनु भनी दिएको आदेशलाई चुनौती दिँदै विपक्षीले लुटपाट शैलीमा घरको सामान मिल्काएर घरमा ताला लगाई तथानाम गालीगलौज गरेको पीडित परिवारको आरोप छ ।

बंैक र लिलाम समितिसँगको मिलेमतोमा आफ्नो करोडौँ मूल्यको घरजग्गा हत्याउने नियतले बैंक कर्मचारीको आफ्ना मान्छे शिवचरणले सूचनाको म्याद नपुदै डाक लिलाम साकार गरेको घरजग्गा धनी सुरतलाल चौधरीको आरोप रहेको छ । २०७१ असार मसान्तसम्मको सूचनाको म्याद हँुदाहँुदै शिव चरणले असार २० गते डाक लिलाम सकार गरेको उनले बताए । आफू सूचनाको म्यादभित्र असार २६ गते ऋणको साँवा र लाग्ने व्याजसहित कृषि विकास बैंक कल्याणपुर शाखामा उपस्थिति हुँदा तपाईंको नाममा कुनै ऋण नभएको भनी त्यसै फर्काइएको उनले जानकारी दिए ।

उनले आफ्नो सम्पत्ति बेइमानी भएको थाहा पाएपछि सप्तरी जिल्ला अदालत राजविराजमा ऋणको साँवा व्याजसहित धरौटी राखी लिलाम समितिको फैसला बदर, दाखा बदर र पुरानो दर्ता कायम मुद्दा विपक्षीहरूको विरुद्ध दायर गरेको बताए ।

उनका अनुसार १० वर्षदेखि जिल्ला, पुनरावेदन (उच्च) र सर्वोच्च अदालतमा बैंक, लिलाम समिति र शिव चरण उपर मुद्दा दायर गरे पनि तीनै तहका अदालतबाट विपक्षमा फैसला आएको छ । अदालतले विपक्षमा फैसला गरे पनि घरजग्गा खाली गर्न आदेश भने नदिएको उनले बताए । अदालतको आदेश विपरीत विपक्षीले लुटेरा शैलीमा आफूहरूलाई घर निकाला गरेको भन्दै घरमा शान्तिपूर्वक बस्न पाउनुपर्ने जिकिर गरे ।

३ तहको अदालतले विपक्षमा फैसला गरेपछि सुरतलालको छोरा मदनेशले आफू अंसयारी भएको भन्दै पुनः विपक्षीहरू उपर फैसला बदर, लिलाम बदर दखा दर्ता बदर दर्ता कायम मुद्दा दायर गरेका थिए । उनको माग दाबीको सुनुवाइ गर्दै सप्तरी जिल्ला अदालत राजविराजले भदौ ६ गते विपक्षीहरूलाई छ्लफलमा बोलाएका थिए । छलफलको २ दिन समय हुँदाहँुदै विपक्षीले ठुलो समूह लिएर चौधरी परिवारको घर खाली गराई ताला लगाएका छन् ।

चौधरीले कठौना बजारमा १६ धुर क्षेत्रफल जग्गामा १५ कोठाको २ तले पक्की भवन भएको घर कृषि विकास बैंक कल्याणपुर शाखामा धितो बन्धकी राखी २०६१ सालमा ४ लाख ५० हजार ऋण उठाएका थिए ।
यता शिवचरण चौधरीले आफ्नो नेतृत्वमा गएको टोलीले घर खाली गरी ताला लगाएको स्वीकार गरे ।

प्रतिक्रिया