कहिले होला प्रधानमन्त्री ओलीको भारत भ्रमण ?

भारतको औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार साँझ आधा घण्टा औपचारिक भेटवार्ता भएको छ । भेटवार्तापछि परराष्ट्रमन्त्री राणाले आफ्नो सामाजिक सञ्जाल (फेसबुक)मा लेखेकी छन्, ‘भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यूसँग आज साँझ नयाँ दिल्लीमा शिष्टाचार भेट गरेको छु । यस भेटवार्ताका क्रममा नेपाल–भारत सम्बन्ध र यसको बहुआयामिक विविधताका विषयमा कुराकानी भयो । नेपालको परराष्ट्रमन्त्रीका रूपमा मेरो यो भ्रमण र उच्चस्तरीय भेटवार्ताबाट नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध थप उचाइमा पुग्ने अपेक्षा मैले गरेको छु ।’ यसैगरी परराष्ट्रमन्त्री राणासँगको भेटवार्तापछि भारतका प्रधानमन्त्री मोदीले आफ्नो सामाजिक सञ्जाल (एक्स) मा लेखेका छन्, ‘नेपालका परराष्ट्रमन्त्रीलाई स्वागत गर्न पाउँदा खुसी छु । नेपाल र भारतले बहुआयामिक तथा प्रगतिशील साझेदारी तथा निकट सभ्यताको सम्बन्ध साझा गर्दछन् । हाम्रो विकास साझेदारीमा निरन्तर गतिको प्रतीक्षामा छु ।’ प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्नुुअघि परराष्ट्रमन्त्री राणा र समकक्षी एस जय शंकरबीच दिवाभोजसहित विविध एजेन्डामा औपचारिक छलफल भएको थियो । व्यापार तथा पारवहन, ऊर्जा, कनेक्टिभिटी, लगानी, एयर रुट, बाढी तथा डुबान, पञ्चेश्वर बहुउद्देश्यीय परियोजना, खेलकुद, सीमा पूर्वाधार लगायतका विषयमा छलफल भएको दुवै पक्षले जनाएका छन् ।

नेपालको परराष्ट्रमन्त्री भारत भ्रमणमा जाँदा प्रधानामन्त्री स्तरमा यत्तिको महत्व दिइएका उदाहरणहरू ज्यादै थोरै छन् । त्यसैले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध थप उचाइमा पुग्ने अपेक्षा परराष्ट्र मन्त्री राणाले गर्नु स्वभाविकै हो । आमनेपालीको अपेक्षा पनि यही हो । लामो समयदेखि थाति रहेका समस्या समाधान गर्न भारत साँच्चीकै इच्छुक भएको हो या बंगलादेशमा हालै भएको परिवर्तनको परिणाम हो ? अथवा परराष्ट्रमन्त्री राणाको व्यक्तिगत पहलको परिणाम हो ? अहिले नै निक्र्योल गर्ने बेला भएको छैन ।

बंगलादेशमा उत्पन्न नयाँ राजनीतिक परिस्थितिका कारण भारतले नै आफ्ना विदेश सचिवलाई औपचारिक भ्रमणमा पठाएर परराष्ट्र मन्त्री राणालाई तत्काल भ्रमणका लागि आमन्त्रण गरेको हो । अर्को कुरा आरजु राणा परराष्ट्रमन्त्री त हुँदै हुन्, त्यसबाहेक सत्ताको सबैभन्दा ठूलो घटक नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी श्रीमतीसमेत हुन् । यसअघि खासै ठूलो पदमा नहुँदा पनि उनले सरकारको औपचारिक तथा अनौपचारिक दूत बनेर पटकपटक भारत भ्रमण गरिसकेकी छिन् । जसका कारण उनको भारतका कतिपय प्रभावशाली नेताहरूसँग व्यक्तिगत तथा पारिवारिक सम्बन्ध छ । कूटनीतिक क्षेत्रमा व्यक्तिगत प्रभावको पनि महत्वपूर्ण भूमिका हुन्छ ।

कूटनीतिक स्तरमा हुने संवादको परिणामलाई पूर्व आँकलन गर्न सहज हुँदैन । त्यसमाथि पनि नेपाल र भारतबीचका औपचारिक वार्ताहरू प्रायःजसो कर्णप्रिय हुने गरेका छन् । यसपटक त परराष्ट्र मन्त्रीस्तरमा भेटवार्ता हुनु ठीकअघि भारतले नेपालबाट थप २५१ मेगावाट विद्युत् खरिदका लागि स्वीकृति दिइएको समाचार प्रवाह गर्यो । यस्ता कूटनीतिक चतुर्याइँमा अक्सर गरेर ठूला देशहरू माहिर हुन्छन् । छलफलको माहौललाई आफ्नो पक्षमा सकारात्मक बनाउन यस्ता शैलीहरू प्रयोग गरिन्छ । परराष्ट्र मन्त्री स्तरमा जुनजुन विषयमा छलफल भएको छ, ती विषयहरू कार्यान्वयन गर्ने भनेको प्रधानमन्त्रीस्तरीय भ्रमणमा हो । तर, प्रधानमन्त्रीस्तरीय भ्रमण कहिले हुन्छ ? भन्ने टुंगो लाग्न बाँकी छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्रमन्त्री राणामार्फत भ्रमणका लागि पठाएको निमन्त्रणाप्रति खुसी व्यक्त गर्दै भारतका प्रधानमन्त्री मोदीले यथाशक्य छिटो नेपाल भ्रमण गर्ने जनाएका छन् । प्रधानमन्त्री ओलीले भारत भ्रमण गर्नुभन्दा अघि भारतका प्रधानमन्त्री मोदीले नेपाल भ्रमण गर्ने संभावना न्यून छ । तर, यस्ता मामिला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिले पनि निर्धारण गर्छन् । २ महिनाअघि सम्पन्न आमनिर्वाचनको परिणामले भारतको राष्ट्रिय परिस्थितिमा केही परिवर्तन ल्याएको छ ।

श्रीलंका, म्यानमार, अफगानिस्थान, पाकिस्तान, मालदिब्स र केही दिनअघि बंगलादेशमा भएका घटनाहरूले पनि भारतको अन्तर्राष्ट्रिय परिस्थितिमा केही न केही परिवर्तन ल्याएको छ । यो परिर्तनलाई नेपालले आफ्नो हितमा प्रयोग गर्ने चतुर्याइँ अपनाउन सक्नुपर्छ । कत्ति पनि बिलम्व नगरी प्रधानमन्त्रीस्तरीय भ्रमणका लागि नेपालले प्रयास गर्नुपर्छ । एयर रुट र पञ्चेश्वर परियोजना निर्माणको गाँठो फुक्यो भने पनि नेपालका लागि ठूलो उपलव्धी हुन्छ ।

प्रतिक्रिया