कञ्चनपुर । अति दुर्लभ खरमजुरको संरक्षण गर्ने उद्देश्यले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाहिरको क्षेत्रमा घाँसे मैदान व्यवस्थापन गर्न थालिएको छ । नेपाल पक्षी संरक्षण संघ (बिसिएन) ले अमेरिकी सहयोग नियोग (युएसआइडी) को जलजंगल परियोजनाअन्तर्गत बेलौरी, पुर्नवास नगरपालिका बेलडाँडी र लालझाडी गाउँपालिकामा रहेका प्राकृतिक घाँसे मैदानको व्यवस्थापन गर्न थालेको हो ।
संघका चरा संरक्षणकर्मी हिरुलाल डगौराका अनुसार उल्टनपुर, नन्दगाउँ, किसान मध्यवर्ती क्षेत्रमा घाँसे मैदानको व्यवस्थापन थालिएको छ । घाँसे मैदानमा रहेका अनवाश्यक घाँस, झाडी हटाउने भइसकेको उनले बताए । प्रजननको समयमा खरमजुर निकुञ्जको भित्री भागमा रहेको घाँसे मैदानमा आउने भए पनि त्यसपछिको समय निकुञ्ज बाहिर जाने गर्दछ ।
सोही कारणले बासस्थान पुनःस्थापना र सुधार गर्न बाह्य क्षेत्रको घाँसे मैदान व्यवस्थापनको काम गरिएको डगौराले बताए । ‘बासस्थान मासिँदै जाँदा प्रत्येक वर्ष खरमजुरको संख्यामा कमी आउन थालेको छ’, उनले भने, ‘बासस्थान सुरक्षाका लागि घाँसे मैदान व्यवस्थापनको कार्यसँगै स्थानीय बासिन्दा, युवा सञ्जाल, सामुदायिक वनका पदाधिकारी, महिला समूह, जनप्रतिनिधिसँग छलफल, तालिमलगायत कार्य गरेका छौँ ।’
डगौराका अनुसार १२ समुदायका ५७७ र ४ पालिकाका युवा सञ्जालमा आबद्ध १४० जना युवालाई खरमजुर संरक्षणका लागि तालिम दिइएको छ । यसैगरी ४ वटा प्रकृति तथा चरा पर्यटनसम्बन्धी तालिम, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका ३७ जना कर्मचारीलाई खरमजुर संरक्षणसम्बन्धी तालिम दिइएको उनले जानकारी दिए ।
खरमजुर गणना तथा सर्भेक्षणको कार्यका लागि सर्भेक्षण प्रोटोकल बनाइएको चरा संरक्षणकर्मी डगौराको भनाइ छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सन् १९८२ मा पहिलोपटक गरिएको सर्भेक्षणमा खरमजुर १४ देखि १५ को संख्यामा पाइएको थियो । सन् २००० मा १२, सन् २०१४ मा ८, सन् २०२१ मा ७ र सन् २०२३ मा ५ वटा रहेका चरा संरक्षणकर्मी डगौराले जानकारी दिए । उक्त गणनाको तथ्यांकअनुसार प्रत्येक वर्ष खरमजुरको संख्या घट्दै गएको छ ।
खरमजुरले सिरु, काँस र खडाइका घाँसे मैदानमा बस्न मन पराउँछ । चर्नका लागि छोटो घाँस भएका मैदानलाई रोज्ने गर्दछ । प्रजननका बेला अग्ला घाँस भएका मैदानमा भेटिने गरेकाले घाँसे मैदान व्यवस्थापनको कार्य गरिएको उनले उल्लखे गरे । प्रजननको समयपछि यो सुक्खा घाँसे मैदान र खेतबारीमा भेटिए पनि यसको प्रजननपछिको बासस्थानको बारेमा कम अध्ययन भएको उनले बताए ।
‘खरमुजुर प्रायःजसो आहारा खोज्न बिहान र बेलुका मात्रै सक्रिय हुने गर्छ । यो सर्वहारी पक्षी भएकाले ससाना कीरा, फट्यांग्रा, छेपारोदेखि घाँस, दाना फलफूल खान्छ । एक्लै बस्न रुचाउने पक्षी भए पनि प्रजननको समयमा भाले र पोथी दुवै जोडीका रूपमा भेटिने गर्दछन्’, डगौराले भने ।
उनका अनुसार यसको प्रजनन चैतदेखि जेठसम्म हुने गर्छ । पोथीलाई आकर्षित गर्नका लागि भालेले जमिनमाथि निरन्तर उफ्रिँदै मनमोहक नाच देखाउँछ । पोथीले अग्लो घाँसे मैदानमा १–२ वटा अण्डा पारेपछि करिब चार हप्तासम्म ओथारो बसी बच्चा कोरल्ने उनले जानकारी दिए ।
‘खरमुजुर तराईमा पाइने घाँसे मैदानको आवासीय पक्षी हो’, चराविदसमेत रहेका डगौराले भने, ‘यसको भालेभन्दा पोथी केही ठूलो हुन्छ, पोथीको शरीरको लम्बाइ ६६ देखि ६८ सेन्टिमिटर र तौल १ दशमलव ७ देखि १ दशमवलव ९ किलो हुन्छ । भालेको शरीरको लम्बाइ ६२ देखि ६४ सेन्टिमिटर र तौल १ दशमलव २ देखि १ दशमवलव ५ किलो हुन्छ ।’ उनका अनुसार भालेको टाउको, घाँटी र माथिल्लो भाग कालो र पखेटाको रङ सेतो हुन्छ । यो उड्दा प्रष्ट देखिन्छ । पोथी र बच्चाको रङ भने मैलो खैरोदेखि बलौटे कैलोसम्म हुन्छ ।
खरमुजुर नेपालको संरक्षित क्षेत्रहरू कोसी टप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा वन्यजन्तु निकुञ्जमा पाइन्छ । नेपालमा बाहेक यो दुर्लभ पक्षी भारत र कम्बोडियामा मात्रै पाइन्छ । विभिन्न अध्ययनका क्रममा भियतनाम र बंगलादेशबाट यो पक्षी लोप भइसकेको चराविद् डगौराले जानकारी दिए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको सूचीमा खरमुजुरलाई विश्व र नेपालमा अति संकटापन्न अवस्थामा राखिएको छ ।
प्रतिक्रिया