धानबालीमा शुभ संकेत

प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार कषि तथा पशुपक्षी मन्त्री रामनाथ अधिकारीलाई निर्देशन दिँदै भने, ‘आगामी मंसिरमा कति मल चाहिने हो, त्यसको आँकलन गरेर अहिलेदेखि नै खरिद प्रक्रिया थाल्नुस् ।’ ४ वर्षअघि यही बेला धानखेती गर्ने किसानले मल नपाएर हाहाकार भएको थियो । त्यो बेला पनि ओली प्रधानमन्त्री थिए । तत्कालीन कृषिमन्त्री घनश्याम भुसाललाई प्रधानमन्त्री ओलीले व्यंग्य गर्दै सोधेका थिए, ‘धान पाक्ने बेलासम्म त मल आउला नि ?’ तर यसपटक धानबालीका लागि मलको समस्या देखिएको छैन । बरु ४ महिनापछि लगाइने गहुँबालीका लागि अहिलेदेखि नै मलको जोहो गर्ने समय प्राप्त भएको छ ।

धानखेतीका बेला सधैँ मलको अभाव हुने समस्या नेपालमा नयाँ होइन । तर, विगत २ वर्षदेखि यो समस्या धेरैहदसम्म समाधान भएको छ । यो मामिलामा यस अघिको सरकारले जस पाएको छ, पूर्ववर्ती प्रधानमन्त्री प्रचण्डले जस पाएका छन् । समयमै मल उपलव्ध भएका कारण गत वर्ष धानको उत्पादन उल्लेख्य वृद्धि भएको थियो । यस वर्ष पनि धानको उत्पादन उल्लेख्य वृद्धि हुने आँकलन कृषि मन्त्रालयले गरेको छ । यस वर्ष किसानले बेलैमा मल बिउ पाएका मात्रै छैनन्, असारको सुरुदेखि नै प्रर्याप्त पानी परेको छ । जसका कारण धानखेतीको क्षेत्रफल समेत गत वर्षभन्दा केही बढेको कृषि मन्त्रालयले जनाएको छ ।

नेपालको मुख्य आम्दानीको स्रोत भनेको धानखेती हो । मुलुकको कुल ग्रार्हस्थ उत्पादनमा धानबालीको योगदान करिब १० प्रतिशत रहेको छ । रेमिट्यान्सबाहेक यति ठूलो आर्थिक योगदान दिने ‘सेक्टर’ धानबाली हो । गत वर्षको भन्दा यस वर्ष धानखेतीको क्षेत्रफल १ दशमलव ५८ प्रतिशतले बढेका कारण उत्पादन पनि त्यही अनुपातमा बढ्ने कृषि मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीको अनुमान छ ।

नेपाल धानबालीमा आत्मनिर्भर बन्नेतर्फ अघि बढेको हो कि, भन्ने संकेत देखिएको छ । तर किसानले लागत अनुसारको मूल्य नपाउने, सस्तो मूल्यमा नेपालको धान अवैध रूपमा भारत निर्यात हुने र भारतबाट महँगो मूल्यको चामल आयात हुने समस्या समाधानका लागि ठोस पहल हुन सकेको छैन । मसिनो जातको धानखेतीको क्षेत्रफल वृद्धि गर्नेतर्फ किसानलाई प्रेरित बनाउने सरकारी प्रयास सफल हुन सकेको छैन ।

धानबालीका लागि नेपालको हावापानी अत्यन्त अनुकूल छ । तर, धानखेतीका लागि आवश्यक समथर जमिन भने नेपालमा सीमित छ । मुलकमा करिब १४ लाख हेक्टर जमिनमा धानखेती हुने गरेको छ । जसमध्ये करिब १० लाख हेक्टर तराईमै छ । सबैभन्दा सानो क्षेत्रफल भएको मधेस प्रदेशमा करिब ४ लाख हेक्टर क्षेत्रफलमा धानबाली लगाइन्छ । तर सबैभन्दा ठूलो क्षेत्रफल भएको कर्णाली प्रदेशमा करिब ४० हजार हेक्टर क्षेत्रफलमा मात्रै धानबाली लगाइन्छ ।

त्यसैगरी दोस्रो ठूलो क्षेत्रफल भएको गण्डकी प्रदेशमा जम्मा १ लाख हेक्टर क्षेत्रफलमा धानबाली लगाउने गरिएको छ भने तेस्रो ठूलो क्षेत्रफल र सबैभन्दा धेरै जनसंख्या भएको वागमति प्रदेशमा १ लाख २० हजार हेक्टर क्षेत्रफलमा धानबाली लगाउने गरिएको छ । त्यसैले धान खेतीका लागि तराई क्षेत्रमै विशेष ध्यान दिनु जरुरी छ । सिँचाइ तथा नयाँ प्रविधिको प्रयोग गर्न तराईमा सहज छ । तर, अहिले पनि सिँचाइको प्रर्याप्त सुविधा पुग्न सकेको छैन, नयाँ प्रविधिको प्रयोग पनि व्यापक बन्न सकिरहेको छैन । परम्परागत विधिबाट धानखेती गर्दा किसानले लागतअनुसार प्रतिफल पाउन सकेका छैनन् ।

विगतमा जस्तो धान खेतीमा किसानको उत्साह अहिले देखिन छाडेको छ । विगतमा जसले धेरै धान उत्पादन गथ्र्यो, उसैको सामाजिक प्रतिष्ठा माथि हुन्थ्यो । धानको उत्पादनका आधारमा उसको हैसियत मापन हुन्थ्यो । तर अहिले किसानको सामाजिक प्रतिष्ठा गिर्दो छ । जसका कारण कृषि पेसाबाट पलायन हुनेहरूको संख्या बढेको छ । कृषि क्षेत्रमा श्रमिकका संख्या थप्नतिर लाग्नुभन्दा पनि थोरै श्रमले धेरै उत्पादन गर्ने प्रविधिको विकास गर्नु जरुरी छ ।

प्रतिक्रिया