सीमाले नेपाल–भारतबीचको सम्बन्धलाई छेक्दैन : मुख्यमन्त्री

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सीमाले नेपाल र भारतबीचको सम्बन्धलाई छेकबार गर्न नसक्ने बताएका छन् । आइतबार नेपाल फाउन्डेसनले जनकपुरधाममा आयोजना गरेको ‘नेपाल–भारत सम्बन्धमा युवाको भूमिका’ विषयक एकदिने कार्यशालामा बोल्दै मुख्यमन्त्री सिंहले राजनीतिक रूपमा २ देशबीचको सम्बन्धमा उतारचढाव आए पनि सामाजिक र सांस्कृतिक सम्बन्धले त्यसलाई अटुट राख्ने विश्वास व्यक्त गरेका हुन् ।

उनले २ देशबीचको जनस्तरमा कायम सामाजिक÷सांस्कृतिक सम्बन्धलाई सीमाले रोक्न नसक्ने बताएका छन् । सम्बन्धलाई अझ बढी सुदृढ र सकारात्मक बनाउन युवा वर्गले भूमिका खेल्नुपर्ने मुख्यमन्त्री सिंहले सुझाए । ‘समतामूलक समाजले मात्र मुलुकको प्रगति हुनसक्छ’, उनको कथन थियो ।

त्यस्तै, शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले अहिले सुशासन र विकासको युग सुरु भएकोले दुवै देशले त्यसतर्फ काम थाल्नुपर्ने बताइन् । उनले असमानता, विभेदीकरणका विरुद्ध नेपालको नेतृत्व वर्गले पनि गम्भीरतापूर्वक काम गर्नुपर्ने बताइन् ।

उनले २ देशबीच राम्रो सम्बन्ध खोज्नेलाई यहाँ ‘भारतीय दलाल’ भन्ने गरिएकोमा दुःख व्यक्त गरिन् । उनले भारत विश्वस्तरमा आफ्नो स्थान बलियो बनाउन लागेको र त्यसबाट नेपालले लाभ लिन सक्नुपर्ने चर्चासमेत गरिन् । कार्यक्रममा सहभागीहरूले २ देशबीचको ऐतिहासिक सम्बन्धको चर्चा गरेका थिए ।

प्रतिक्रिया