३ वर्षअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई एक जम्काभेटमा पत्रकारहरूले सोधेका थिए– ‘युवाहरूको बढ्दो विदेश पलायन रोक्न सरकारले के गर्दै छ ?’ देउवाको जबाफ थियो– ‘रहर पुगेपछि फर्किहाल्छन् नि !’ त्यतिबेलै नेकपा एमालेका सांसद रघुजी पन्तले दिएको जबाफ पनि देउवाको भन्दा भिन्न थिएन । प्रधानमन्त्री देउवा तथा सांसद पन्तको जबाफ सुन्ने तथा पढ्नेहरूले युवा पलायन जस्तो गम्भीर मामलालाई समेत सरकारले अत्यन्त हल्का रूपमा लिएको टिप्पणी गरे ।
वर्षमा ४ लाख शिशु जन्मने हाम्रो देशमा वर्षको १५ लाख युवा विदेश पलायन हुन्छन् । यस्तो जटिल अवस्थामा समेत देशका नीति निर्माताहरू गम्भीर देखिएका छैनन् । समस्या गम्भीर हो भन्ने कुरा उनीहरूलाई थाहा नभएको होइन, तर समाधान गर्ने सामथ्र्य नभएकै कारण उनीहरूले गम्भीरता प्रकट नगरेका हुन् । विदेश जानेहरू सबैलाई एउटै वर्गमा राखेर विश्लेषण गर्न मिल्दैन ।
एकथरी बाध्यताले विदेश गएका छन्, एकथरी रहरले विदेश गएका छन् । रहरले विदेश जानेहरूलाई विश्वका कुनै मुलकले रोक्न सकेका छैनन्, न त अमेरिकाले रोक्न सकेको छ, न जापानले न अस्ट्रेलिया, चीन तथा भारतले नै रोक्न सकेका छन् । विपन्न व्यक्ति बाध्यताले विदेश पलायन हुन्छन्, सम्पन्न व्यक्ति रहरले पलायन हुन्छन् ।
पछिल्ला वर्षहरूको तथ्यांक हेर्ने हो भने बढी सुखसुविधाका लागि विदेश पलायन हुने नेपालीको संख्या बढ्दो छ । पेन्सन हुने बेला भइसकेको सरकारी स्थायी जागिर हापेर विदेश पलायन हुनु बाध्यता नभएर रहर हो ।
सरकारको तथ्यांकअनुसार गत आर्थिक वर्षमा निजामती सेवामा कार्यरत ७९४ जनाले जागिर छाडेर विदेश पलायन भएका छन् । अघिल्लो आर्थिक वर्ष यो संख्या ६३५ थियो । पेन्सन हुने बेलाको जागिर हापेर विदेश पलायन हुने निजामती सेवाका कर्मचारीहरूको संख्या हरेक वर्ष २५ प्रतिशतका दरले बढेको छ । सेना र प्रहरीतर्फ यो संख्या अझ बढी छ ।
पछिल्लो २ वर्षमा ६ हजार ५७७ जना प्रहरी कर्मचारीहरू जागिर छाडेर विदेश पलायन भएको तथ्यांक छ । करिब १ वर्षअघि रुसी सेनामा नेपाली भर्ती गर्ने गिरोहका बारे अनुसन्धान गर्ने क्रममा कतिपय बहालवाला सेना तथा प्रहरी कर्मचारीहरूको पासपोर्ट बरामद भएको थियो । केही महिनाअघि रुकुमको बाकी र स्याला गाउँका प्रायः सबै युवा अवैध रूपमा अमेरिका प्रवेश गरेको समाचारले तरंग उत्पन्न गरेको थियो । यसरी पलायन हुनेमध्ये २२ जना शिक्षक, ६ जना स्वास्थ्य संस्थाका कर्मचारी थिए । उनीहरूको जागिर स्थायी र घरपायक थियो ।
रुकुमको बाकी र स्याला गाउँमा खेतीपातीका लागि प्रशस्त उर्बर जग्गा जमिन छ, नजिकै विशाल जंगल तथा खर्कहरू रहेका कारण पशुपालनको सम्भावना पनि उत्तिकै छ । सडक तथा बिजुलीको सुविधा पुगेका कारण आफ्ना उत्पादनलाई बजार पुर्याउन पनि त्यत्तिकै सहज छ । त्यसमाथि पनि घरपायक स्थायी जागिर । यसैको माध्यमबाट प्रशस्त पैसा कमाइ गरे । अनि दलाललाई ५० देखि ८० लाख रुपैयाँसम्म खर्च गरेर धमाधम अमेरिका पलायन हुने लहर चल्न थाल्यो । बाकी र स्याला गाउँ त उदाहरण मात्रै हुन् । नेपालका धेरै गाउँहरूको अवस्था अहिले यस्तै हो ।
तर, विदेश पलायनको समस्या नेपालमा एक्कासि उत्पन्न भएको होइन । जुनबेला नेपालको जनसंख्या ७० लाखको हाराहारी थियो, त्यो बेला करिब ६ लाख युवाहरू प्रथम विश्वयुद्धमा भाग लिन ब्रिटिस सेनामा भर्ती भएको अपुष्ट तथ्यांक छ । बर्मा, मलेसिया, थाइल्यान्डमा डेढ–दुई सय वर्षअघि नै पुगेका लाखौँ नेपाली छन् ।
विदेश पलायनको प्रवृत्तिमा भने केही परिवर्तन भएको छ । हिजो धनीका छोराछोरीहरू विदेश पलायन हुँदैनथे । तर, आजको तथ्यांक हेर्ने हो भने विदेश पलायन हुनेमध्ये धेरैजसो धनीकै छोराछोरी छन् । उदाहरणका लागि विनोद चौधरीका छोराहरू बाध्यताले विदेश पलायन भएका होइनन् ।
प्रतिक्रिया