इतिहास बनेका ती क्षण

समय परिवर्तनशील छ । यो परिवर्तनले कुनै कालखण्डको शक्तिलाई अर्को कालखण्डमा इतिहासमा सीमित गराइदिन्छ । शक्तिमा स्थापित हुनु पक्कै महत्वपूर्ण हो । त्यो भन्दा महत्वपूर्ण हो, शक्तिमा कत्ति लामो समय रहने भन्ने हो । कुनै खेलमा कहिलेकाहीँ शक्तिको रूपमा रहेको देशको शक्ति क्षण हुनुका धेरै कारण हुन सक्छ । राजनीतिक परिवर्तन, देशमा आएको आर्थिक संकट, गृह युद्ध र एउटा प्रतिभाशाली पुस्ताको समयको अन्त्य । यी यावत कारणले कुनै खेलमा एउटा शक्तिशाली देश बिस्तारै नामोनिसान नरहने गरी गुमनाम भएका छन् ।

८० को दशकको अन्त्यदेखि सुरु भएको राजनीतिक परिवर्तनको असर फुटबलमा पनि परेको थियो । युरोपियन फुटबलमा सोभियत संघ, युगोस्लाभिया र चेकोस्लोभाकिया कुनै समय शक्तिमा थिए । यी तीन वटै शक्तिको विश्व फुटबलमा प्रभाव थियो । सोभियत संघ विघटन भएको छ । चेकोस्लाभाकिया विभाजन भइसकेको छ । युगोस्लाभियाले विभाजन मात्र सहेन, धेरै क्षति पुग्ने गरी गृहयुद्धको सामना गरेको छ ।
यो परिवर्तनअघि सन् १९६० को पहिलो संस्करणमा सोभियत संघले उपाधि जितेको थियो । युगोस्लाभिया उपविजेता तथा चेकोस्लाभाकिया तेस्रो भएको थिए । सोभियत संघ सन् १९६४ को दोस्रो संस्करणको पनि उपविजेता भएको थियो ।

सन् १९६८ मा इटालीमा भएको तेस्रो संस्करणमा पनि घरेलु टोलीले उपाधि जित्ने क्रममा फाइनलमा युगोस्लाभियालाई नै हराएको थियो । त्यसपछिको संस्करणमा सोभियत संघले तेस्रो स्थान पाएको थियो । सन् १९७६ मा युगोस्लाभियाले उपाधि जितेको थियो भने चेकोस्लोभाकिया तेस्रो भएको थियो । सन् १९८८ मा सोभियत संघ उपविजेता भएको थियो ।

त्यसपछि नै संसारमा भएको राजनीतिक परिवर्तन तथा यी ३ शक्ति विभाजनको क्रम सुरु भएको थियो । त्यसपछिका दिनमा न त पूर्वसोभियत गणराज्यले आफूलाई विश्व फुटबलमा प्रभाव राख्न सके, न त युरोपको घरेलु प्रतियोगितामै । चेक गणतन्त्र र स्लोभाकियाले पनि त्यसपछि खासै ठुलो उपलब्धि पाएको छैन ।

सन् १९९६ मा इंग्ल्यान्डमा भएको युरोकपमा चेक गणतन्त्र फाइनलमा प्रवेश गरेको थियो । यसबाहेक अन्य प्रतियोगितामा उनीहरूको कुनै प्रभाव छैन । पूर्व युगोस्लाभ क्रोएसियाले भने केही प्रभाव छाडेको छ ।

गत युरोकपमा पनि क्रोएसिया समूह ‘बी’मा थियो । क्रोएसिया समूहमा तेस्रो हुँदै बाहिरिएको हो । तथापि विश्व फुटबलमा क्रोएसियाको केही प्रभाव छ । यस संस्करणमा अल्बानिया सोही समूहमा चौथो स्थानमा रहेको थियो । समूह ‘सी’मा स्लोभानिया तेस्रो तथा सर्बिया चौथो स्थानमा रहे । स्लोभानियाले दोस्रो चरणको यात्रा तय गरेको थियो ।

समूह ‘ई’ मा स्लोभाकिया तेस्रो हुँदै दोस्रो चरणमा प्रवेश गर्न सफल भयो भने युक्रेन चौथो हुँदै बाहिरिएको हो । समूह ‘एफ’मा जर्जिया तेस्रो हुँदै दोस्रो चरणमा प्रवेश गरेको थियो भने चेक गणतन्त्र पुछारमा रहँदै बाहिरिएको हो ।

युरो कपको इतिहासमा उपाधि रक्षा गर्ने एउटै टोली स्पेन हो । सन् २००८ देखि २०१२ विश्व फुटबलमा स्पेन बादशाहको रूपमा छाएको थियो । यो दुवै संस्करणको उपाधि विजेता स्पेनले यस बीचमा भएको विश्वकपको उपाधिसमेत जितेको थियो । यो दुवै संस्करणको उपाधि विजेता टोलीमा समावेश रहेका आन्देइ इनेस्टा, जाभी र फर्नान्डो टोरेस युरो कप इतिहासमा सफल खेलाडीका रूपमा चित्रित भएका छन् । कमसेकम स्पेन त्यो टोलीमा रहेको छैन, जो क्षणिक रूपमा स्थापित भएर चाँडो हराएर जाओस् । स्पेन मात्र होइन, जर्मनी, इंग्ल्यान्ड, ब्राजिल, अर्जेन्टिना, प्रलान्स र इटाली विश्व फुटबलको सदाबाहर शक्ति भएकोमा भने विमति हुनै सक्दैन ।

युरोप मात्र होइन दक्षिण अमेरिकामा पनि उरुग्वे कुनै समय शक्तिमा थियो । सन् १९३० र १९५० मा दुईपटक उरुग्वेले विश्वकप जितेको थियो । पहिलोपटक फाइनलमा अर्जेन्टिनालाई हराएर विश्वकपको उपाधि जितेको थियो भने दोस्रोपटक उपाधि जित्ने समयमा ब्राजिललाई हराएको थियो । त्यसपछि उरुग्वे फेरि शक्तिमा उदाउन धेरै लामो समय पर्खन परेको थियो ।

सबैभन्दा धेरै खेलमा सहभागी भएर आफ्नै नेतृत्वमा उपाधि दिलाउने खेलाडी रोनाल्डो गत युरो कप इतिहासमा सधँै चर्चामा रहने नाम हो । पछिल्लो संस्करणमा फ्रान्ससँग टाइब्रेकरमा पोर्चुगलको हारपछि उनले आफ्नो फुटबल भविष्यको बारे केही पनि बोलेका छैनन् । सायद रोनाल्डो युगपछि पोर्चुगल शक्तिको रूपमा रहने या नरहने भन्ने कुरामा पनि शंका छ ।

यी मात्र होइन महिला फुटबलमा उत्तर कोरियामा संसारकै एक प्रभावकारी शक्ति थियो । जुन समय विश्व फुटबलमा अमेरिकाको जगजगी थियो, सोही समयमा अमेरिकालाई बराबरको चुनौती दिने टोलीको रूपमा उत्तर कोरिया थियो । सोही उत्तर कोरिया विश्व राजनीतिकै कारण खेल जगतबाट पनि बाहिरिँदै गएको थियो । यसरी फुटबल जगतबाट बाहिरिएको उत्तर कोरियाको अहिले महिला फुटबलमा नामोनिसान नै नभए भैmँ भएको छ । धेरै फुटबलका पण्डितहरूले सन् २००७ को उत्तरकोरियाको उत्कृष्ट महिला फुटबल टोलीको स्मरण गर्ने गरेका छन् ।

एउटा युग थियो, ओलम्पिक खेलकुदमा सोभियत संघ र पूर्वी जर्मनीको विशेष प्रभाव थियो । सन् १९८८ मा रियालेमा भएको ओलम्पिकमा अन्तिमपटक पूर्वी जर्मनीको टोलीले दोस्रो स्थान पाएको थियो । सो टोली पौडीमा त एउटा विशेष शक्तिको रूमपा थियो । ९० को दशकको सुरुआतमा बर्लिनको पर्खाल भत्कियो । दुई जर्मनी एकीकरण भए । त्यसपछि जर्मनी शीर्ष २ मा कहिले पनि रहन सकेन । अहिले त जर्मनीको टोली तालिकामा धेरै प्रभाव राख्नसमेत असमर्थ भइसकेको छ ।

कुनै समय ओलम्पिक पदक तालिकामा पकड जमाउने सोभियत संघ पनि ९० को दशकमा विभाजन भयो । सन् १९९२ को बार्सीलोना ओलम्पिकभन्दा अघि सोभियत संघ त विभाजन भएको थियो । तथापि सो ओलम्पिकमा एउटै टोलीको रूपमा सहभागिता जनाएको थियो । तालिकामा सोभियत संघले पहिलो स्थान पनि पाएको थियो ।

सन् १९९६ पछि सोभियत संघको रूपमा टोली सहभागी भएन । सोभियत गणराज्य विभाजित टोलीको रूपमा सहभागी थिए । त्यसै मध्येको रुस एउटा शक्तिको रूपमा केही समय रहेको थियो । जिम्न्यास्टिक, एथलेटिक्स र पौडीलगायत खेलमा रुसको उपस्थिति थियो । सोही रुस सन् २०२० मा आइपुग्दा डोपिङ स्क्यान्डलमा मुछिन पुगेको थियो । रुसले ओलम्पिकमा सहभागिताको अवसरसमेत पाएन । त्यस देशका खेलाडीले भने आइओसीको ब्यानरमा खेलेका थिए । यस वर्ष पेरिसमा भएको ओलम्पिकमा रुसमाथि फेरि प्रतिबन्ध लागेको थियो । युक्रेनमा भएको आक्रमणका कारण रुस र बेलारुसमाथि अन्तर्राष्ट्रिय क्षेत्रले प्रतिबन्ध लगाएको छ । सायद रुस फेरि विश्व खेलकुदमा उदाउन लामो समय लाग्नेछ ।

७० र ८० को दशकमा रोमानिया एउटा शक्ति थियो । सो समयमा रोमानियाको जिम्न्यास्टिक एउटा आकर्षण थियो । नादीया कामानोची १० स्कोर गर्ने एउटै जिम्न्यास्टको रूपमा सफलता पाउन सफल भएकी थिइन् । कामानोचीको युगपछि रोमानियाको जिम्न्यास्टिकको त्यो साख छैन । फुटबलमा पनि रोमानियाको एउटा प्रभाव थियो । हाड्जीको रूपमा एउटा स्टार ८० को दशकमा उदाएका थिए । सन् १९९४ मा उपाधिको दाबेदारको रूपमा सहभागी कोलम्बियालाई हराएको रोमानियाले त्यसको ४ वर्षपछि अर्जेन्टिनालाई प्रतियोगिताबाट बाहिर पठाएको थियो । सोही समयमा स्थापित क्यामरुन पनि अहिले फुटबल शक्तिको रूपमा छैन । संसारका धेरै कुनै समय शक्तिशाली भएर अहिले कमजोर भएका छन् । तथापि इतिहासले त्यो विगत र साखलाई सधैँ सम्झिरहनेछ ।

प्रतिक्रिया