सरकारले महिला भलिबल खेलाडीलाई जनही ३ लाख दिने

काठमाडौं । सरकारले महिला भलिबल खेलाडीलाई जनही ३ लाख दिने भएको छ । काभा वुमन्स नेसन्स भलिबलको उपविजेता नेपाली खेलाडीहरुलाई सरकारले जनही ३ लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १४ जना खेलाडीलाई जनही ३ लाख, मुख्य प्रशिक्षकलाई २ लाख र व्यवस्थापक, सहायक प्रशिक्षक र फिजिओलाई जनही १ लाख २० हजार दिने निर्णय गरेको सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

राष्ट्रिय खेलकुद परिषद्को बैठकले केहीदिन अघि मात्र पुरस्कार दिने निर्णय गरेर सरकारलाई सिफारिस गरेको थियो । यस्तै, सरकारले विश्व बैंक समुहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट एक सय ५० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण लिने भएको छ ।

उक्त ऋण स्वीकार गर्नेसम्बन्धी वित्तीय सम्झौता र कार्यक्रम दस्तावेजलाई अन्तिम रुप दिन अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्न स्वीकृती प्रदान गरिएको छ ।

सञ्चार मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार ललितपुर महानगरपालिकालाई रुसी महासंघको उलान उदेनगरसँग भगिनी सम्बन्ध स्थापना गर्न पूर्व स्वीकृति प्रदान गरिएको छ ।

प्रतिक्रिया