वार्स । युरोपियन सुपर कप फुटबलको उपाधि रियल मड्रिडले जितेको छ । बुधबार राति पोल्यान्डमा भएको खेलमा एटलान्टालाई २–० गोलले हराउँदै रियलले उपाधि जितेको हो । रियालका लागि भिनिसियस फेडेरिको भाल्भर्डे र केलियन एम्बाप्पेले गोल गरेका थिए । एम्बाप्पे रियलमा आएपछि उनको यो डेब्यु गोल हो । उनी पेरिस सेन्ड जर्मेन (पिएसजी)बाट रियलमा आएका हुन् ।
खेलको ५९औँ मिनेटमा रियलका लागि भाल्भर्डेले सुरुआती गोल गरेका थिए । यस्तै, ६८औँ मिनेटमा एम्बाप्पेले गोल गर्दै टोलीलाई २–० गोलले जिताएका हुन् । योसँगै युरोपियन सुपर कपमा रियाल मड्रिडको कीर्तिमानी छैटौँ उपाधि भएको छ ।
वर्षको अन्तिम प्रि सिजनको रूपमा च्याम्पियन्स लिग विजेता रियल म्याड्रिडले युरोपा लिगको विजेता एटलान्टासँग खेलेको हो । पहिलो हाफ खेलमा पकड जमाएको रियलका भिन्सियस जुनियरको प्रहार गोलपोस्टमा लागेको थियो । ५९औँ मिनेटमा भाल्भर्डेको गोलमा अग्रता लिएपछि रियल अझ आत्मविश्वासी देखिएको थियो ।
२५ वर्षीय एम्बाप्पेले यसअघि क्रिस्टियनो रोनाल्डो, करिम बेन्जामा, रोनाल्डो नाजारियो र फर्नान्डो मोरिएन्टसले लगाएको ९ नम्बरको जर्सी लगाएका थिए । उनले पुरै ९० मिनेटको समय मैदानमा बिताए ।
फ्रान्सको पेरिस सेन्ट जर्मनमा ७ सिजन गुमाएपछि एम्बाप्पे गत सिजनमा रियलमा पुगेका थिए । फ्रान्समा रहँदा उनले ६ पटक लिग वान उपाधि जितेका थिए । यसैगरी, कोप डे फ्रान्सको उपाधि ४ पटक जितेका थिए । उनले पिएसजीलाई सन् २०१९÷२० को च्याम्पियन्स लिगको फाइनलमा पिएसजीलाई प्रवेश गराएका थिए ।
अहिले रियल म्याड्रिड महँगो क्लबको रूपमा स्थापित भएको छ । भिन्सेन्टे जुनियर, लुका मोड्रिक, जुड वेलिङघम र लुका मोड्रिकलाई क्लबमा राख्न सफल भएको छ । रियल म्याड्रिडले शनिबार रिल मालोर्कासँग यस सिजनको स्पेनिस लालिगाको पहिलो खेल खेल्नेछ ।
एकसेएक स्टार खेलाडीले भरिएको रियल म्याड्रिडले आगामी सिजन रोटेसनको रूपमा खेलाउँदै स्टार खेलाडीलाई धेरै खेलमा आराम दिलाउने नीति लिएको जनाइएको छ ।
एम्बाप्पेको उपस्थितिले रियलको सिंगो टोलीमा उत्साह थपिएको जनाइएको छ । टोलीका सबै खेलाडीले उनलाई भव्यताका साथ स्वागत गरेका थिए । एम्बाप्पेले फ्रान्सलाई सन् २०१८ को विश्वकप उपाधि दिलाउन तथा सन् २०२२ को विश्वकपको उपविजेता बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । यसैगरी अहिले रियलमा रहेका मोड्रिकको उत्कृष्ट खेलमा क्रोएसिया सन् २०१८ को विश्वकपको फाइनलसम्म प्रवेश गर्न सफल भएको थियो । वेलिङघमले यस वर्ष इंग्ल्यान्डलाई युरोकपको फाइनल प्रवेश गराउन पनि त्यत्तिकै ठूलो भूमिका निर्वाह गरेका थिए ।
शनिबारको खेलअघि रियललाई एउटा धक्का लागेको छ । मिडफिल्डर एडुवार्डो काभाभिंगा घाइते छन् ।
प्रतिक्रिया