मनोमानी राजनीतिक नियुक्ति कांग्रेसलाई स्वीकार्य छैन : उपसभापति सिंह

रौतहट । नेपाली कांग्रेस मधेस प्रदेशका उपसभापति एवं पूर्वमन्त्री वीरेन्द्रप्रसाद सिंहले दलीय समझदारीका आधारमा अघि बढ्ने गठबन्धन सरकारको मान्यता, व्यवहार र अभ्यास विपरीत प्रदेश सरकारले मनोमानी ढंगले कुनै पनि राजनीतिक नियुक्ति गरेमा स्वीकार्य नहुने बताएका छन् ।

रौतहट सदरमुकाम गौरमा आयोजित एक धार्मिक कार्यक्रममा उपसभापति सिंहले सरकारमा सहभागी दलहरूबीच सहमति नगरिकनै प्रदेश लोकसेवा आयोगका अध्यक्ष र नीति तथा योजना आयोगका २ सदस्यमा नेकपा एमालेले नियुक्ति गराएकोमा आपत्ति जनाएका थिए ।

‘प्रदेशमा १७ वटा जिम्मेवारीका लागि राजनीतिक नियुक्ति हुन्छ । त्यसमा नियुक्ति गर्नुपूर्व दलहरूबीच सहमति गरेर मात्र अघि बढ्नुपर्छ’, उनले भने । उनले मधेस प्रदेशको मिडिया काउन्सिल अध्यक्ष नियुक्तिमा नेकपा एमालेले कुनै पनि किसिमको सहमति नगरीकन सिधै सिफारिस गर्न लागेको जानकारी आफूले प्राप्त गरेको र गठबन्धनमा सहभागी कुनै पनि दल त्यसअनुसार अघि बढ्नु दुर्भाग्यपूर्ण हुने पनि प्रस्ट्याए ।

उपसभापति सिंहले दलीय सहमति भनेको अमुक दलका व्यक्ति नभएर निश्चित दलका संस्थागत निर्णयलाई मान्नुपर्ने पनि बताए । कार्यक्रममा उपसभापति सिंहले बिचौलिया आदिबाट प्रविष्ट गराइएको बजेट संशोधन गर्ने विषयमा समेत दलीय सहमति हुनुपर्ने बताए । उनले त्रुटिपूर्ण बजेट परिमार्जन गरिँदा आवश्यक्ता र औचित्यका आधारमा संशोधित बजेट विनियोजन हुनुपर्ने उल्लेख गरे ।

प्रतिक्रिया