धनुषा । विकास तथा सहयोगका लागि स्विस नियोग (एसडिसी) नेपालले मधेस प्रदेश सरकारका विभिन्न योजना कार्यान्वयनमा सहयोग तथा साझेदारी गर्ने विषयमा सहमति जनाएको छ ।
मुख्यमन्त्री सतिशकुमार सिंहसँगको भेटमा नियोगका अधिकारीहरूले प्रदेश सरकारका अल्पकालीन तथा दीर्घकालीन महत्वका योजना कार्यान्वयनमा साझेदारी गर्न सकिने र प्रदेशमा सञ्चालन भइरहेका नियोगका कार्यक्रमलाई थप विस्तारित एवं प्रभावकारी बनाइने बताएका छन् ।
नियोगका डेपुटी चिफ अफ मिसन म्याथियास मेयर लगायतका अधिकारीसँगको भेटमा मुख्यमन्त्री सिंहले मधेसमा सिँचाइलगायत बहुआयामिक परियोजना विकास तथा विस्तारका लागि नदी जोड्ने तथा नहर निर्माण योजना कार्यान्वयन, मधेस विश्वविद्यालयमा संघीयता विषयमा अध्ययन अध्यापन गराउन, वैदेशिक रोजगारबाट फर्केकालाई दक्षता अभिवृद्धि तथा उद्यम सञ्चालन, प्रदेशमा पूर्ण साक्षरता, सूचना प्रविधिको विकास तथा व्यावसायीकीकरण आदिका क्षेत्रमा सहयोग गर्न आग्रह गरे ।
उनले आँप र केरालगायत खेतीको प्रवद्र्धन तथा सहउत्पादनका लागि प्रविधि हस्तान्तरण तथा उपयोगका लागि समेत नियोगका अधिकारीहरूको ध्यानाकृष्ट गराएका थिए ।
नियोगका डेपुटी चिफ अफ मिसन मेयरले एसडिसीमार्फत स्विट्जरल्यान्डले नेपाललाई संघीय लोकतान्त्रिक राज्यका रूपमा विकसित गर्न, समतामूलक सामाजिक तथा आर्थिक विकास प्रवद्र्धन गर्न र नयाँ संघीय संरचनामा महिला तथा पुरुषलाई उनीहरूको अधिकार र जिम्मेवारी प्रयोग गर्न सक्षम बनाउन सहयोग गरिरहेको बताए ।
उनले संघीय राज्य विकास, रोजगारी र आय प्रवद्र्धनसँगै नेपाली आप्रवासी कामदारको सुरक्षामा योगदान पु¥याउने, लैंगिक समानता र सामाजिक समावेशीकरण, प्रकोप जोखिम न्यूनीकरण आदिका क्षेत्रमा नियोग प्रदेश सरकारसँग काम गर्न उत्सुक रहेको उल्लेख गरे ।
मेयरले नियोगका कार्यक्रमलाई तुलनात्मक रूपमा थप सुदृढ र प्रभावकारी बनाइने उल्लेख गरे । उनले प्रदेश सरकारले पूर्वाधार विकसित गरे सूचना प्रविधि क्षेत्र विकासका लागि बहुराष्ट्रिय कम्पनीसँग जोड्न एसडिसीले सहयोग गर्ने बताए । मुख्यमन्त्रीसँगको भेटमा नियोगका प्रशासन तथा अर्थ विज्ञ मार्क वर्ली पनि सहभागी रहेका थिए ।
प्रतिक्रिया