काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङबीच दशरथ रंगशालाको मैदान स्तरोन्नतिका विषयमा आज छलफल भएको छ ।
मैदान स्तरोन्नतिका लागि लाग्ने समय, बजेटलगायत विषयमा दुई पक्षबीच त्रिपुरेश्वरस्थित राखेपमा प्रारम्भिक छलफल भएको हो । सो अवसरमा सदस्य–सचिव घिसिङले मैदानको स्तरोन्नति गर्न लाग्ने समय सीमा, बजेटलगायतका विषयमा चासो व्यक्त गर्दै सो कार्यका लागि दुवै पक्ष गम्भीर भएर पहल गर्नुपर्नेमा जोड दिए ।
‘दशरथ रंगशालाको मैदान स्तरोन्नति गर्न कति समय लाग्छ, कति बजेट लाग्छ, प्रारम्भिक खाका तयार गरी पेस गर्नुहोला,’ सदस्य–सचिव घिसिङले चासो व्यक्त गर्दै भने, ‘समय सीमा तोकेर प्रारम्भिक खाका तयार गर्नु होला, त्यसपछि राखेप र एन्फा मिलेर मैदान स्तरोन्नतिका लागि गम्भीर भएर पहल गर्न आवश्यक छ, बजेटका कारण कुनै पनि हालतमा रोकिनु हुँदैन ।’
यो विषयमा राखेपले आइतबारै एन्फालाई पत्रचार पनि गरिसकेको छ । अध्यक्ष नेम्वाङले मैदानलाई अन्तर्राष्ट्रिय मापदण्ड पुग्नेगरी स्तरवृद्धि गर्नका लागि परामर्शदाताबाट सुझाव लिएर मैदान स्तरोन्नति गर्ने प्रतिबद्धता व्यक्त गरे ।
साफ च्याम्पियनसिप खेल्ने मैदानको टुंगो अझै लागेन
दक्षिण एसियाली राष्ट्रहरुबीच हुने यु–२० पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता यही भदौ २ गतेदेखि नेपालमा सुरु हुँदैछ । प्रतियोगिता सुरु हुन तीन दिन बाँकी रहँदा पनि खेल कुन मैदानमा हुने अझै टुंगो लागेको छैन ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाहले खेल दशरथ रंगशाला वा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने हो भन्ने अझै टुंगो नलागेको बताए । उनले भने, ‘हामीले दशरथ रंगशालामा प्रतियोगिताका खेल गर्ने तयारी गरेका थियौँ, तर सहिद स्मारक ए डिजिभन लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लब र भुटानी लिग च्याम्पियन पारो एफसीको खेलमा मैदान बिग्रिएकाले साफ च्याम्पियनसिपको खेल कुन मैदानमा गर्ने टुंगो लागेको छैन ।’
उक्त खेलमा बिग्रिएको खेलमैदानका कारण चर्को आलोचना भएको थियो । उनले आज एएफसीबाट दशरथ रंगशाला मैदानको निरीक्षण हुने र भोलिसम्म खेल मैदानको टुंगो लाग्ने बताए ।
प्रवक्ता शाहले प्रतियोगिताको उद्घाटन खेल दशरथ रंगशालामा हुन नसके वैकल्पिक रुपमा रहेको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुन सक्ने बताए । प्रतियोगिताको उद्घाटन खेल भदौ २ गते नेपाल र श्रीलंकाबीच हुनेछ । प्रतियोगिताको सेमिफाइनल र फाइनल भने दशरथ रंगशालामै हुने उनको भनाइ छ ।
भदौ १२ गतेसम्म चल्ने प्रतियोगितामा विभिन्न छ राष्ट्रको सहभागिता रहनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जसमा नेपाल समूह ‘ए’मा परेको छ । नेपालको समूहमा बंगलादेश र श्रीलंका छन् ।
त्यसैगरी समूह ‘बी’मा भारत, माल्दिभ्स र भुटान छन् । प्रतियोतिगामा सहभागिता जनाउन माल्दिभ्स आजै नेपाल आइपुगिसकेको छ । त्यसैगरी भुटान, श्रीलंका र भारत भोलि नेपाल आइपुग्नेछन् भने बंगलादेश आगामी भदौ १ गते नेपाल आइपुग्ने तय भएको आयोजक एन्फाले जनाएको छ ।– रासस
प्रतिक्रिया