ओलम्पिकका यी स्टार

पेरिस । पेरिस ओलम्पिक सकिएको छ । यो ओलम्पिकमा थुप्रै स्टार खेलाडीमा चर्चा भएको छ । यस ओलम्पिकले विगतको झैँ केहीलाई स्टारको रूपमा उदय गराएको छ । यसरी स्टारको रूपमा उदय हुनेमा सबैभन्दा बढी फ्रान्सका लियो मार्चान्ड रहे । मार्चान्डले ४ व्यक्तिगत स्वर्ण पदक जिते । यसका साथमा उनले १ कास्य पदक पनि जिते ।

फ्रान्सेली स्टार मर्चान्ड पौडीका लिजेन्ड माइकल फ्लेप्सका प्रशिक्षक बब उमनका शिष्य हुन् । उमनकै प्रशिक्षणमा फ्लेप्सले अनेकन सफलता पाएका थिए । एकै ओलम्पिकमा ८ स्वर्ण पदकसहित कुल २३ ओलम्पिक स्वर्ण पदक जिताउन उमन सफल भएका थिए । यसपटकको ओलम्पिकमा उमनका शिष्य मर्चान्ड र प्लेप्समा फरक के थियो भने फ्लेम्स पौडीमा एकदमै बलियो देश अमेरिकाका खेलाडी भएका कारण रिलेमा पनि उपाधि जित्न सफल भएका थिए भने मर्चान्डले व्यक्तिगत स्पर्धामा मात्र उपाधि जिते । उनले २०० मिटर ब्रेस्टस्ट्रोक, २०० मिटर बटरफ्लाई र २०० मिटर मेड्लीमा स्वर्ण पदक जिते । साथै उनले ४०० मिटर मेड्लीमा पनि स्वर्ण पदक जिते ।

चीनकी झाङ युफेइले ६ पदक जितिन् । उनले कुल ६ पदक जितेकी हुन् । यी ६ पदकमा कुनै स्वर्ण पदक थिएन । त्यसो त अमेरिकाकी रेगनस्मिथले २ स्वर्णसहित ५ पदक जितिन् । उनले ब्याकस्ट्रोकमा दुवै स्पर्धा तथा २०० मिटर बटरफ्लाइमा रजत पदक जितिन् । मिश्रीत मेड्ली रिलेको पहिलो चरणमा उनले पौडिएकी थिइन् । यसैगरी, महिला मेड्लीको रिलेमा अमेरिकाले विश्व कीर्तिमानसहित स्वर्णपदक जितेको हो । सो स्पर्धामा उनले पौडेको समय व्यक्तिगत स्पर्धामा पनि स्वर्ण पदक जित्नका लागि पर्याप्त थियो ।

ओलम्पिकमा अमेरिकाका टोरी हस्क र अस्ट्रेलियाका मेरी कागलानकले पनि मर्चान्डको नजिकको सफलता पाए । तर उनीहरूले जितेको पदकमा बलियो टोलीका खेलाडी भएका कारण रिलेमा प्राप्त सफलता धेरै थियो । हस्कले १ विश्व कीर्तिमानसहित ३ स्वर्ण पदक जितिन् । साथै उनले २ रजत पदक जितिन् । यसैगरी कागलानले ३ स्वर्ण पदक जितिन् । उनले पनि २ रजत पदक जितिन् ।

क्यानडाकी समर म्याकन्टोसले पौडीमा ३ व्यक्तिगत स्वर्ण पदक जितिन् । यस ओलम्पिककी उनी अर्की नायिकाको रूपमा स्थापित भइन् । म्याकन्टसले २०० र ४०० मिटर मेड्ली तथा २०० मिटर बटरफ्लाईमा स्वर्ण पदक जितेकी हुन् । उनी भर्खर १७ वर्षकी भएकी कारण उनीबाट लामो समय स्टारडमको अपेक्षा गर्न सकिन्छ ।

यसैगरी यस ओलम्पिककी अर्की स्टार एजे विल्सनले अमेरिकालाई तनावको बीचमा तालिकामा पहिलो स्थान दिलाउन सानदार खेल खेलेकी थिइन् ।
पेरिस ओलम्पिकको अन्तिम स्वर्ण पदकको टुंगो महिला बास्केटबलको हो । सो समयमा अमेरिकाले चीनलाई १ स्वर्ण पदकले पछ्याएको थियो । त्यसै स्वर्ण पदकले पहिलो हुने अपेक्षा गरिएको अमेरिका फ्रान्सभन्दा धेरै समय त पछाडि नै थियो । कुनै समय ३५–२५ ले पनि फ्रान्सले अग्रता लिएको थियो । त्यसै समयमा खेललाई उल्ट्याउने काम विल्सनले गरेकी थिइन् र उनी रिबाउन्ड, फ्लोर सर्ट र थ्री प्वाइन्ट सबैमा अब्बल भइन् । सोही स्वर्ण पदकले अमेरिकाले तालिकामा पहिलो स्थान मात्र पाएन, महिला बास्केटबलको साख जोगाउन पनि सफल भयो । विल्सन मस्ट भ्यालुएबल प्लेयर भइन् । उनको त्यो खेल बास्केटबलको इतिहासमा यादगार रहनेछ । अमेरिकाको महिला बास्केटबलको सो लगातार छैटौँ स्वर्ण पदक हो ।

यसै ओलम्पिककी अर्की स्टार सिड्नी म्याकगाउलिन भइन् । लगातार आफ्नै विश्व कीर्तिमान कायम गरेकी म्याककाउलेनले एथलेटिक्सको महिला ४०० मिटर हर्डल्समा विश्व कीर्तिमान कायम गरिन् । उनले अमेरिकी छनोटमा आफैँले कायम गरेको कीर्तिमानलाई भंग गरेकी हुन् । उनले त्यत्ति मात्र होइन । महिला ४ गुणा ४०० मिटर रिलेमा अमेरिकालाई स्वर्ण पदक दिलाउने क्रममा दोस्रो लेगमा कुदेकी थिइन् । सो लेगमा कुद्ने क्रममा उनले स्पिल्ट सन् १९९२ पछि सबैभन्दा छोटो समयको स्पिल्ट थियो ।

स्विडेनका पोलभोल्ट खेलाडी एरियन डु डु प्लान्टिसका लागि विगत ५ वर्षदेखि उनी आफूभन्दा बाहेक अर्का प्रतिस्पर्धी नै छैनन् । विगत लामो समयदेखि उनी आफैँले राखेको कीर्तिमान भंग गर्न आफँै सहभागी हुने गरेका छन् । यस पटकको ओलम्पिकमा उनले ६ दशमलव २५ मिटरको नयाँ विश्व कीर्तिमान कायम गरे ।

एथलेटिक्समै यस पटकका विशेष स्टार सेन्ट लुसियाकी जुलियन अलफ्रेड त हुलै हुन् । उनले संसारलाई आश्चर्यमा पार्दै महिला १०० मिटर दौडको उपाधि जितिन् । यस ओलम्पिकमा दक्षिण एसियाले एउटा मात्र स्वर्ण पदक जितेको थियो । छिमेकी भारतका प्रतिद्वन्द्वी नीरज चोपरालाई पछि पार्दै पाकिस्तानका अर्साद नदिमले ज्याभलिनको थ्रोको स्वर्ण पदक जिते । यो स्वर्ण पदक साँच्चै महत्वपूर्ण थियो । संसारको सबैभन्दा जनघनत्व भएको तथा कुल जनसंख्याको एउटा महत्वपूर्ण हिस्सा भएको दक्षिण एसिया नै खेलकुदमा सबैभन्दा कमजोर क्षेत्र भएको कुरा यस ओलम्पिकले पनि फेरि एकपटक पुष्टि गरेको छ । यसै धेरै जनसंख्याको प्रतिनिधित्व गर्ने भूभागको स्टारको रूपमा नदिम स्थापित भए ।

प्रतिक्रिया