रौतहट । नेपाली कांग्रेस पार्टीको कार्यालयका लागि जग्गा खरिद र कार्यालय भवन निर्माणको लागि जिल्लाको कटहरियाका १ जनाले ८५ हजार रुपैयाँ सहयोग गरेका छन् । कटहरिया नगरपालिका–४ का पार्टी कमिटिका सभापति तथा वडाध्यक्ष प्रत्याशी हरिन्द्रप्रसाद यादवले नगद ८५ हजार रुपैयाँ सहयोग गरेका छन् ।
यादवले पार्टीको नाममा रहेको खातामा सोमबार ८५ हजार रुपैयाँ जम्मा गराएका हुन् । जिल्ला सदरमुकाम गौरमा नेपाली कांग्रेसको पार्टी कार्यालय सञ्चालनका लागि जमिन र भवनको आवश्यकता रहेकोले पार्टीले गरेको आह्वान बमोजिम यादवले आफूखुसी रकम जम्मा गरेका हुन् ।
रौतहटको गरुडामा पार्टी कार्यालय भवन रहे पनि सदरमुकाम गौरमा भने अहिलेसम्म निजी घरमा रहँदै आएको थियो । पार्टीको मधेस प्रदेश सभापति कृष्णप्रसाद यादवको घरबाट लामो समयदेखि पार्टी कार्यालय सञ्चालनमा रहेको छ ।
समयसमयमा पार्टी कार्यालयको स्थान परिवर्तन भइरहँदा कार्यकर्तालाई असहज भएको जनाइएको छ । विभिन्न पार्टीहरूले कार्यालय भवन निर्माण गरिसकेको सन्दर्भमा कांग्रेस पार्टी कार्यालय सदरमुकाम गौरमा निर्माण हुने भएपछि कार्यकर्ताहरू उत्साहित बनेका छन् ।
सोही क्रममा कार्यकर्ताहरूले स्वतःस्फूर्त रूपमा सहयोग गरिरहेका छन् । कटहरिया नगरपालिकाबाट राम्रो सहयोग पुग्ने विश्वास रहेको वडाध्यक्ष सर्फलाल गुप्ताले व्यक्त गरेका छन् । गुप्ताले भने, ‘हरेक निष्ठावान कार्यकर्ताको सहयोगले सदरमुकाम गौरमा नेपाली कांग्रेसले जमिन किनेर घर बनाउनेछ ।’
पार्टी कार्यालयको लागि जमिन र भवन निर्माणमा सहयोग गर्न पाउँदा आफूलाई निकै खुसी लागेको यादवको भनाइ छ ।
मधेश ब्युराे प्रमुख
प्रतिक्रिया