नियमानुसार रमाना लिएर जान तयार : निर्देशक मिश्र

मधेसको जनस्वास्थ्य प्रयोगशाला विवादमा

धनुषा । मधेसको जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.श्रवण मिश्र आफ्नो सरुवा भइसकेकाले यहाँबाट जान तयार रहेको बताएका छन् ।
प्रदेश सरकारले पठाएको प्रयोगशालाका निर्देशकलाई हाजिरी गराउने विषयमा विवाद चलिरहेको समयमा आफू यहाँबाट जान तयार रहेको मिश्रले बताए । डाक्टर मिश्रले आफूलाई प्रदेश सरकारले सरुवा गरेको सन्दर्भमा यो सामान्य प्रक्रिया रहेको प्रतिक्रिया दिए । उनले आफ्नो काज फिर्ता भइसकेको र नियमअनुसार आफू सरुवा हुने स्पष्ट गरे । हालसम्म भएका कामको संरक्षण हुने आफूले विश्वास लिएको विश्वास व्यक्त गरे ।
साउन २० गते मधेस सरकारले डाक्टर मिश्रलाई २४ घण्टाभित्र रमाना लिएर जानू भनेर पत्र पठाएको थियो । यो पत्रको प्रतिउत्तरमा डाक्टर मिश्रले सरुवाको जानकारी पाएको मितिले २१ दिनसम्म पदमा बस्न पाउने जिकिर गर्दै आएका छन् । त्यस्तै, मधेस सरकारले साउन २५ गते कुमार मृत्युञ्जय प्रसादलाई प्रयोगशालाको निमित्त कार्यालय प्रमुखको जिम्मेवारी तोकिसकेको छ । आइतबार निमित्त कार्यालय प्रमुखलाई कार्यालय प्रवेशमा अवरोध गरिएपछि केहीबेर होहल्ला भएको थियो ।

यता मिश्रले एक पत्रकार सम्मेलनको आयोजना गरी मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालाले पछिल्लो ४ वर्षमा गरेको प्रगति विवरण सार्वजनिक गरेका छन् । प्रयोगशालाका निर्देशक डाक्टर श्रवणकुमार मिश्रले मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालाले राष्ट्रियस्तरको सेवा दिइरहेको दाबी गरे । उनले पछिल्लो ४ वर्षमा यो प्रयोगशालाको सेवा विस्तार उत्साहजनक रहेको पनि दाबी गरे । उनले प्रदेशका विभिन्न स्थानमा स्थापना भएका प्रयोगशालाहरूले एकदमै कम शुल्कमा सेवा दिइरहेको बताए ।

जनस्वास्थ्य प्रयोगशालामा निर्देशक लफडाले हातपात

निमित निर्देशकको हाजिरी र निवर्तमान निर्देशकको रमानाको विषयमा मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालामा विवाद भएको छ । यसरी प्रयोगशालामा दुई पक्षबीच हातपात भएपछि मधेसका स्वास्थ्य तथा जनसंख्या मन्त्री सत्रुधनप्रसाद सिंह र सचिव डा.प्रमोद यादव पुगेका थिए ।

आइतबार बिहान सवा १० बजे निमित्त निर्देशक मृत्युञ्जय प्रसाद यादव केही सहयोगीसहित कार्यालयमा हाजिर हुन पुग्दा सरुवा भइसकेका निर्देशक डा.श्रवण मिश्र पक्षबीच तनाव उत्पन्न भयो । मिश्र आफैँ कार्यकक्षमा बसेर कर्मचारीबाट भवनको मूल ढोकामा ताल्चा लगाएका थिए । यादवलाई पस्न अवरोध गरेपछि दुबै पक्षबीच विवादसँगै धकेलाधकेल हुँदा प्रहरीले हस्तक्षेप गरेको थियो ।

उपप्रमुख ल्याब टेक्नोलोजिस्ट अधिकृत नवौँ तहका यादव ११ फागुन २०८० मा प्रयोगशालमा आएका थिए । मिश्रलाई २० साउनमा पदबाट हटाउँदै मधेसको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय २५ साउनमा यादवलाई निमित्तको जिम्मेवारी तोकेको थियो ।

शुक्रबार नै दलबलसहित कार्यालयमा हाजिर भएका यादव आइतबार बिहान कार्यालय पुगेका थिए । उनले आफू मूलगेट छिचोलेर निर्देशकको कार्यकक्षमा पस्न खोज्दा मिश्र पक्षका कर्मचारीले हातपातसँगै दुव्र्यवहार गरेको आरोप लगाए ।

बाहिरको गुण्डा लिएर कार्यालयमा आउँदा सेवा प्रभावित हुने देखेर मूलगेटमा ताल्चा लगाएको मिश्रको दावी छ ।

मिश्रलाई गत साउन २० गते प्रयोशालाका निर्देशक पदबाट हटाउँदै मुख्यमन्त्री कार्यालयले २४ घण्टाभित्र बरबुझारथ गरेर सरुवा भएको ठाउँमा जान निर्देशन दिएको थियो । संघको ११औँ तहका कर्मचारी मिश्रलाई संघको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २० असारमै दरबन्दी रहेको अस्पताल कोशीमा काज फिर्ता गरेको थियो ।

११औँ तहका प्रमुख ल्याब टेक्नोलोजिस्ट प्रमुख मिश्र १८ साउन २०७७ मा निर्देशक भएर प्रयोगशालाको जिम्मेबारी सम्हालेका थिए । त्यस यता उनको दुईपटक सरुवा भयो, तर उच्च अदालतको रिट आदेशबाट यथास्थितिमै बसिरहेका छन् ।
मिश्रले आफूलाई काज सरुवा भएको पत्र स्वास्थ तथा जनसंख्या मन्त्रालयबाट प्राप्त नभएको र साउन २० गते मुख्यमन्त्री कार्यालयले २४ घण्टे अल्टिमेटम पाएपछि मात्र आफ्नो सरुवाको जानकारी भएको दावी गरे ।
‘२४ घण्टाभित्रै बरबुझारथ गरी जानुपर्ने कानुमा कतै पनि उल्लेख छैन । त्यसको २० दिनभित्र जान सकिन्छ । म जान तयार थिएँ । तर कार्यालयका कर्मचारीहरूले यति चाँडो नजानुस् । प्रयोगशालाको लागि यति काम गर्नु भएको छ । २० दिन समय छ भनेपछि अलि पर्खेको हुँ’, मिश्रले भने, ‘म आफैँ जाने तयारीमै थिएँ । जनताको लागि दिनरात मिहिनेत गरेर प्रदेश सरकारको उदाहरणीय प्रयोगशाला बनाएको मलाई यस्तो गर्छ भन्ने थाहा थिएन ।’

मिश्रले ४ वर्षदेखि एकलौटी मनपरि प्रयोगशाला चलाएको र भ्रष्टाचार गरेको केही कर्मचारीको आरोप छ ।

मन्त्री र सचिव झन्डै ३ घण्टा बसेर निमित्त निर्देशकलाई कार्यालय जिम्मा लगाएका छन् । कार्यालयमा निमित्त निर्देशक हाजिर हुन आउँदा विवाद भएपछि मुख्यमन्त्रीबाट निर्देशन भएकाले मन्त्रीसँगै आफू पनि प्रयोगशाला कार्यालय आएको मन्त्रालयका सचिव प्रमोद यादवले बताए ।

‘निमित्त निर्देशक हाजिर हुन आउँदा अवरोध भयो । मुख्यमन्त्रीजीले सम्बन्धित मन्त्रालय तपाईंहरूको पर्छ । पुगेर विधि कानुन सम्वत गर्न उहाँले निर्देशन भएपछि मन्त्रीजीसँगै म पनि आएको हुँ’, सचिव यादवले भने ।

प्रयोगशालामा न्यून शुल्कमा दिनहँु ३०० देखि ४०० बिरामीको स्वास्थ्य परीक्षण हुन्छ । कार्यालय छाड्नुअघि मिश्रले पत्रकार सम्मेलन गर्दै भएको घटना र आफूले ४ वर्षमा प्रयोगशालाको लागि गरेको कामकारबाही तथा प्रगतिको विषयमा जानकारी गराएका थिए ।

प्रतिक्रिया