देशको मुख्य पार्टी नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक जारी छ । जारी बैठकमा बंगलादेश घटनाले प्रवेश पाएको छ । यसको कारण ऐतिहासिक छ । आजभन्दा ५५ वर्षअघि बंगलादेश निर्माणको आन्दोलनमा नेपाली कांग्रेसले नैतिक साथ मात्रै होइन, हतियारसमेत उपलव्ध गराएर भौतिक साथसमेत दिएको थियो । त्यतिबेला कांग्रेसका संस्थापक सभापति बिपी कोइराला भारत निर्वाशनमा थिए । छिमेकी भारतले आफ्ना सेनासमेत पठाएर आन्दोलनमा साथ दिएको थियो । तर आन्दोलन सफल भएको केही वर्षसम्म भारतले आफ्ना सेना फिर्ता गरेन ।
बंगलादेशको सरकारले भारतीय सेना फिर्ताका लागि ठूलो दबाब दियो । जब भारतीय सेना फिर्ता भयो, तब बंगलादेशका जन्मदाता सेख मुजिबुर रहमानको वंश नै विनास हुने गरी दक्षिणपन्थीद्वारा हत्या भयो । त्यो प्रकरणपछि बिपी कोइरालाले स्वदेश फर्केर राजासँग सहकार्य गर्ने नीति अवलम्वन गरे । जसलाई राष्ट्रिय एकता तथा मेलमिलापको नीति भन्ने गरिएको छ ।
बिपी कोइरालाले सिक्किमको भारतमा विलय तथा बंगलादेशको जन्म भएको घटनालाई लामो व्याख्या गर्दै देशभित्रका शक्तिहरू आपसी द्वन्द्वमा उत्रँदा परचक्रीले लाभ लिने उल्लेख गरेका छन् । नेपाली कांग्रेसले त्यतिबेला मेलमिलापको नीति नलिएको भए के हुन्थ्यो ? त्यो प्रश्न अनुत्तरित छ, तर नेपाली कांग्रेसले मेलमिलापको नीति लिएपछि के भयो ? भन्ने प्रश्नको उत्तर स्पष्ट छ । त्यसैले बंगलादेशमा अहिले भएको घटनाले दिएको सन्देशलाई नेपाली कांग्रेसले कुन रूपमा व्यवहारमा उतार्छ ? धैर्यताका साथ प्रतीक्षा गर्नुपर्छ ।
केन्द्रीय समितिको जारी बैठकमा नेपाली कांग्रेसका इतर पक्षका नेता डा.शेखर कोइरालाले बंगलादेशमा जननिर्वाचित प्रधानमन्त्री भाग्नुपर्ने अवस्था किन आयो ? जननिर्वाचित संसद् भंग गरी गैरदलीय सरकार गठन हुने अवस्था कसरी सिर्जना भयो ? भन्ने सन्दर्भमा विभिन्न कोणबाट आफ्ना भनाइ राखेका छन् । देश चलाउने पार्टीहरूभित्र आन्तरिक लोकतन्त्र कमजोर भएको, आन्तरिक लोकतन्त्र कमजोर बनाउने व्यक्तिले जनतालाई लोकतन्त्रको प्रत्याभूति दिलाउन नसकेको, लोकप्रियतावादको विश्वव्यापी लहरले असन्तुष्ट जनतालाई आन्दोलित गराएको लगायतका दृष्टिकोण राखेका छन् ।
स्पष्ट भाषामा नभने पनि उनले बंगलादेशको परिस्थिति नेपालमा पनि विद्यमान रहेको उल्लेख गरेका छन् । हामीले पार्टीभित्र आन्तरिक लोकतन्त्र कत्तिको बलियो बनाएका छौँ ? सत्तामा पुगेपछि जनतालाई लोकतन्त्रको प्रत्याभूति दिलाउन सकेका छौँ कि छैनौँ ? लोकप्रियतावादको चपेटाबाट जनतालाई सजग गराएका छौँ या हाम्रो पार्टीबाट पनि लोकप्रियतावादका गतिविधि भएका छन् ? गम्भीर रूपमा समीक्षा गर्नुपर्ने दृष्टिकोण उनले राखेका छन् ।
हुन पनि एकपटक नेतृत्वमा पुगेपछि आजीवन कुर्सी नछाड्ने मनोरोग नेपालका कतिपय पार्टी नेतामा देखिन्छ । त्यसको ज्वलन्त उदाहरण हुन्, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड । उनी करिब ४० वर्षदेखि नेतृत्वमा छन् । आन्तरिक लोकतन्त्र माओवादीमा करिबकरिब शून्य छ । मदन भण्डारीको उदयदेखि केपी शर्मा ओली अध्यक्ष नबन्दासम्म नेकपा एमाले आन्तरिक लोकतन्त्रका दृष्टिले अब्बल पार्टीमा गनिन्थ्यो, तर अहिले एमाले भित्रको आन्तरिक लोकतन्त्र पनि करिब ५० प्रतिशत निषेध भएको छ । नेपाली कांग्रेसले आन्तरिक लोकतन्त्रका लागि केही प्रयास गरेको देखिन्छ, तर ती प्रयास व्यवहारमा उत्रिन सकेको देखिँदैन । विधानमा आन्तरिक लोकतन्त्रका प्रावधान छन्, तर ती प्रावधान कार्यन्वयनमा समस्या देखिने गरेको छ । नियमित मितिमा कहिल्यै महाधिवेशन नगर्ने समस्याबाट कांग्रेस गुज्रिएको छ ।
नेताले आफ्ना लागि आफैँ मतदाता छान्ने शैली कम्युनिस्ट पार्टीहरूको सिद्धान्त नै हो । तर नेपाली कांग्रेसले समेत सदस्यता वितरण सबैका लागि खुला गर्न सकेको छैन । पार्टी दर्ता गरिसकेपछि त्यो पार्टीको सदस्यता लिने हक सबै जनतालाई हुनुपर्छ । ती सदस्यहरूद्वारा नेतृत्व छानिनुपर्छ । नेतृत्व छनौट प्रक्रिया पारदर्शी हुनुपर्छ ।
पार्टीहरूको आन्तरिक निर्वाचन देशको निर्वाचन आयोगरूारा नै हुने प्रणाली स्थापित गर्नुपर्छ । अनि मात्रै पार्टीभित्र आन्तरिक लोकतन्त्र संस्थागत हुन सक्छ । आन्तरिक लोकतन्त्र संस्थागत भएका पार्टीले मात्रै देशको लोकतन्त्र संस्थागत गर्न सक्छन् । आफँैले बनाएको विधान पालना नगर्ने पार्टीबाट संविधानको पालना संभव छैन ।
प्रतिक्रिया