पेरिस ओलम्पिकमा पदक जित्ने देशको संख्या ८० नाघिसकेको छ । यस ८० देशमा महत्वपूर्ण मानिएको एथलेटिक्सको १०० मिटर दौडको स्वर्ण विजेता सेन्ट लुसियासमेत छ । सेन्ट लुसियाको जनसंख्या १० लाख भन्दा कम छ । यस्ता अन्य धेरै नाम हुन सक्छन् । संसारका १५० देशका खेलाडी एउटा संस्करणमा नभए अन्य कुनै संस्करणमा भए पनि पदक जित्ने हैसियत राख्छन् । धेरै जना पदकको नजिक पुगेर पछि पदकबाट चुक्ने गर्छन् । यसरी पदकको नजिक पुगेर पनि पुग्न नसक्ने हैसियत भएको देश नेपाल हो भन्ने कुरामा विमति हुनै सक्दैन । पहिलो चरणमा नै प्रतिस्पर्धा पनि गर्न नसकेर हार्ने देशको रूपमा नेपाल ओलम्पिक खेलकुदमा परिचित छ ।
नेपालको यो हविगत आजको होक्ष्न । वर्षौंदेखि हो । यसका धेरै कारण हुन सक्छ । प्रशिक्षण शैली, सामाजिक र राजनीतिक संरचना तथा खेलाडी आफँैको खेल प्रतिको समपर्णको मात्रा मुख्य कारण हुँदै हो । नेपालमा रहेका राष्ट्रिय संघ चल्ने शैली, उनीहरूको नेतृत्वको खेलप्रतिको खराब दृष्टिकोण सबै समस्या कारण हुँदै हो । यो सबैको चर्चा लामो हुन सक्छ । तर, अहिलेको चर्चा नेपालमा ओलम्पिक मुभमेन्टको अख्तियारी पाएको नेपाल ओलम्पिक कमिटीको ।
यस चर्चामा विगत ३ अध्यक्षको कार्यकालकै चर्चा । रुक्म शमशेर राणा नेपाल ओलम्पिक कमिटीको अध्यक्षबाट बिदा भएको १६ वर्ष भइसकेको छ । उनी अध्यक्ष हुँदा ओलम्पिक कमिटी यत्ति अपारदर्शी थियो कि सो संस्थाको साधारणसभासमेत कसैले पनि अत्तोपत्तो पाउँदैन थिए । राज्यको उपस्थितिमा राजनीतिक हस्तक्षेपको राग अलाप्ने राणा नेपाल तेक्वान्दो संघको अध्यक्षसमेत थिए ।
८० र ९० को दशकमा एसियाली तेक्वान्दोमा स्थापित शक्ति नेपाली तेक्वान्दो राणाकै नेृतत्व कालदेखि नै ओरालो यात्रा लागेको थियो । त्यो ओरालो यात्रा अहिले आएर यत्तिसम्म पुगेको छ कि एसियाली खेलकुदमा समेत पहिलो चरणको खेल जित्न नेपाली खेलाडीलाई हम्मे हुन्छ ।
कुनै समय एथलेटिक्सको नेतृत्व गर्नसमेत तम्सिएका राणाको कार्यकालमा पनि एथलेटिक्समा लामो समय राष्ट्रिय च्याम्पियनसमेत भएको थिएन । एथलेटिक्स संघमा पनि किशोरबहादुर सिंह सदस्यसचिव हुँदा राज्यको उपस्थिति थियो । त्यस समयमा पनि राजनीतिक हस्तक्षेपको कुरा त भएको थियो । तर, यत्तिसम्म अपारदर्शी थियो कि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता गराउन छनोट हुँदैन थियो । राष्ट्रिय च्याम्पियनसमेत नियमित हुँदैनथियो । त्यो क्रमले अहिले पनि निरन्तरता पाएको छ ।
राणा कार्यकालपछि ध्रुवबहादुर प्रधान नेपाल ओलम्पिक कमिटीका अध्यक्ष भए । प्रधान कार्यकालमा नेपाली जिम्न्यास्टिक गुमनाम बनेको छ । देशभरीमा ५० जना सो खेलका खेलाडी छैनन् । सो खेलको प्रशिक्षण भएको तथा प्रतियोगिता भएको समेत बिरलै सुनिन्छ । प्रधानको नेपाली खेलकुदमा उपस्थिति भनेको नेपाल ओलम्पिक कमिटीको निर्वाचनमा मतदान गर्ने र आफू अनकूललाई सहयोग गर्ने हो । उनका नजिक राखेका व्यक्तिको हरकमत यत्ति थियो कि उनी निकट नेपाल कबड्डी संघका तत्कालीन अध्यक्ष सुनिल राज कर्णिकारको कार्यकालमा ढाकामा नेपाली प्रशिक्षक र राजकर्णीकार अध्यक्ष रहेको नेपाल जिम्न्यास्टिक संघमा राजेश खड्का र गीता राण जस्ता नेपालका स्थापित शिक्षा व्यापारी छन् । तथापि उनीहरूको त्यस खेलमा कुनै भूमिका भने छैन ।
हाल अध्यक्ष रहेका जीवनराम श्रेष्ठ नेपाल स्कि संघका अध्यक्ष हुन् । नेपालमा स्कि पनि स्थापितसमेत हुन सकेको छैन । उनको अध्यक्षमा नेपालमा उसु, ह्यान्डबल र कुस्ती विवादमा छ । आफू अनुकूलमा संघ अध्यक्षले राष्ट्रिय च्याम्पियनसिपको आयोजना नगर्ने, साधारणसभा नगर्ने, नियमित प्रशिक्षण नगराउने र राष्ट्रिय च्याम्पियनसिपको आयोजना नगर्ने भए पनि काँखी च्यापेर बस्ने उनको आदत नै बनेको छ । अन्तर्राष्ट्रिय निकायबाट आउने सुविधामा अपारदर्शी भए पनि ती नै संघ अधयक्षलाई जबरजस्ती नजिक राख्ने, साधारणसभाले हटाउँदासमेत अन्तर्राष्ट्रिय शक्ति र सम्बन्धको दुरुपयोग गर्ने श्रेष्ठ नेतृत्वको नेपाल ओलम्पिक कमिटीको पछिल्लो हरकत नेपाल पौडी संघमा देखिएको थियो ।
८ वैशाखमा नेपाल पौडी संघको अधिवेशन भएको थियो । अध्यक्षको रूपमा रहेका अशाक बज्राचार्यले सो चुनावी साधारणसभा फेस गर्ने हिम्मतसमेत गरेनन् । बज्राचार्यमाथि पदीय दुरुपयोगको अनकेन आरोप लागेको थियो । वार्षिक २५ हजार डलर विदेशबाट आउने रकमको हिसाब साधारणसभामा नै उठेको थियो । त्यस निर्वाचनमा नेपाल ओलम्पिक कमिटीका प्रतिनिधि रमेश सिबाकोटीसमेत उपस्थित थिए । यसका बाबजुद नेपाल ओलम्पिक कमिटीले पौडी संघको रूपमा बज्राचार्यलाई नै स्वीकार गरेर चालु एसियाडमा पठाएको थियो ।
एकाधलाई छाड्ने हो भने नेपाल ओलम्पिक कमिटीमा आवद्ध संघले वार्षिक राष्ट्रिय च्याम्यिसिपको समेत आयोजना गर्दैनन् । ओलम्पिक स्कलरसिप प्रोग्रामअन्तर्गत आएको सुविधामा अपारदर्शी छ । थुप्रै खेलमा पहिलो वरीयताका खेलाडीलाई बेवास्ता गरिएको उदाहरण छ । साथै पछिल्लो च्याम्पियनसिपको विजेतालाई समेत बेवास्ता गरिएको उदाहरण छ ।
पछिल्लो समय ओलम्पिक कमिटीको यो गलत गतिविधि यत्तिमा सीमित छैन । नेपालमा धेरै यस्ता खेल संघ छन्, जुन ओलम्पिकमा प्रतिस्पर्धा पनि हुन्छ । नेपालमा वार्षिक साधारणसभा हुन्छ, निश्चित समय अवधिमा चुनावी साधारण हुन्छ । संघले नै खर्चमा अन्तर्राष्ट्रिय अफिसियल प्रतियोगितामा खेलाडी सहभागी गराउँछ । वार्षिक रूपमा च्याम्पियनसिपको आयोजना हुन्छ । यसका बाबजुद श्रेष्ठको ओलम्पिक कमिटीलाई आफ्नोे मुठ्ठीमा राख्ने नियतले ती खेललाई नेपालको ओलम्पिक मुभमेन्टमा सहभागी गराइँदैन । यस्ता संघमा स्केटबोर्डिङ, बेसबल एन्ड सफ्टबल, क्यानोइङ र स्पोर्ट्स क्लाइम्बिङलगायत छन् ।
विधानमा नै नेपाल ओलम्पिक कमिटीको नेतृत्व २ कार्यकाल गर्न पाउने व्यवस्था छ । यस कमिटीको कार्यकाल गत वर्ष नै सकिएको छ । यसका बाबजुद एक वर्ष थप गरेर डिसेम्बरमा निर्वाचन हुँदै छ । विधानमा परिवर्तन गर्दै अर्को कार्यकालका लागि उम्मेद्वार हुने चर्चा चलिरहेको छ ।
यस्तो अचम्मको विवाद
सबैभन्दा आश्चर्यको विवाद भनेको नेपाल कुस्ती संघको हो । आफूलाई अध्यक्षको दावी गर्ने राज मोहम्मद अन्सारी र नारायण देव राणा बीचमा विवाद भएपछि अदालतले नै निर्वाचनको लागि परमादेश जारी गरेको थियो । सोही परमादेश अनुसार राष्ट्रिय खेलकुद परिषद्ले तदर्थ समिति गठन गर्दै निर्वाचन गराएको थियो । सोही निर्वाचनले प्रकास कुसारीलाई अध्यक्षमा निर्वाचित गरेको थियो ।
यसका बाबजदु नेपाल ओलम्पिक कमिटीको कार्यक्रम अन्सारीले प्रतिनिधित्व गर्ने गरेका छन् । समाचार स्रोतका अनुसार अन्सारी प्रधानमन्त्री केपी ओलीका निकट पात्र हुन् ।
नेपाल ओलम्पिक कमिटीको मान्यता पाएको ह्यान्डबल संघका अध्यक्ष तेज गुरुङ पनि एमाले कार्यकर्ता हुन् । गुरुङ गण्डकी प्रदेश खेलकुद परिषद्का पूर्व सदस्यसचिव पनि हुन् । उसुमा राष्ट्रिय खेलकुद परिषद्ले जनक बड्तौलाको नेतृत्वमा तदर्थ समिति गठन गरे पनि नेपाल ओलम्पिक कमिटीले वीरबहादुर तामाङलाई स्वीकार गरेको छ । बड्तौला नेतृत्वको संघ निर्वाचित भए पनि अदालतमा सो संघ गलत भन्दै दधिराम सिटौलाले उच्च अदालत पाटनमा मुद्दा दर्ता गराएका थिए । उच्च अदालतले निर्वाचन बैध भएको ताथ बड्तौला नै अध्यक्ष भएको ठहर गरे पनि नेपाल ओलम्पिक कमिटीको कारण विवाद बढेको हो ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा अनावश्यक भिड
पेरिसमा जारी ओलम्पिक खेलमा जुडो खेलाडी मनिता श्रेष्ठले सही समयमा प्रशिक्षकको भूमिकाबारे सर्वत्र चर्चा गरिएको छ । यसमा अध्यक्ष नेपाल जुडो संघका अध्यक्ष दीपक हर्ष बज्राचार्यको विरुद्धमा आक्रोश थपिएको छ । बज्राचार्य र प्रशिक्षक थापाको हेलचेक्र्याइका कारण ओलम्पिकमा श्रेष्ठले समस्या भोगेका थिए ।
नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल बिनाप्रशिक्षक पेरिस पुगे । मुख्य प्रशिक्षक सुदीप योञ्जनलाई प्रशिक्षकको रूपमा राष्ट्रिय खेलकुद परिषद्ले पहल गरेको थियो । राष्ट्रिय खेलकुद परिषद्ले मान्यता नदिएको ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठको नाम नेपाल ओलम्पिक कमिटीबाट पठाइएको थियो । प्रतियोगिता अघि २ दिनसम्म श्रेष्ठ प्रशिक्षण स्थलमा पुगेका थिए । नेपाल श्रेष्ठ नै प्रशिक्षक बन्न तयार भएको कुरा चर्चामा आएको तथा यसै कारण रोञ्जनलाई रोकिएको विषय उठेपछि एकाएक एल साल्भाडेरको प्रशिक्षकलाई ऐरनामा राख्ने व्यवस्था मिलाइएको थियो । जबकी नेपालमा २१ जना पेरिस ओलम्पिकमा पुगेका थिए । तर, कुनै खेलाडी प्रशिक्षकबिना नै पुगे ।
गत वर्ष चीनमा भएको एसियाली खेलकुदमा सरोकार नै नभएको धेरै व्यक्तिलाई एसियाडमा मेनेजर बनाएर पठाए पछि यसको सर्वत्र विरोध भएको थियो । राज्यले छानबिन गर्ने थुप्रै विषय अझै ज्यूको त्यूँ छन् । अन्तर्राष्ट्रिय महासंघले राष्ट्रिय संघलाई गर्ने सहयोगको रकम र यसको खर्च विवरण मात्र होइन खेलाडीको नाममा आउने सुविधा मेरिट सिस्टममा लिइयो या व्यक्तिगत सम्बन्धको आधारमा दिइयो भन्ने विषय त छँदै छ । यसमा नेपाल ओलम्पिक कमिटीमा आवद्ध धेरै संघ अध्यक्ष चुकेका छन् ।
संघ विवाद अन्य धेरै खेलमा छन् । यसरी विवादित संघ नेपाल टेबल टेनिस संघ पनि हो । चतुरानन्द राज बैद्य सो नेपाल ओलम्पिक कमिटीको उपाध्यक्ष छन् । उनको नेतृत्वको कार्यकाल पूरा भएको छ । राष्ट्रिय खेलकुद परिषद्ले ३ पटकसम्म निर्वाचनका लगि समय दिइसकेको छ । वैद्य चुनाव गर्ने पक्षमा नै छैनन् । आफू पराजित हुने डरले वैद्य तर्किएका छन् । तथापि नेपाल ओलम्पिक कमिटी उनको संरुक्षणमा व्यस्त छ ।
प्रतिक्रिया