सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन आह्वान

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले यही साउन २७ गते अपरान्ह २ बजे प्रदेशसभाको पाँचौ अधिवेशन आह्वान गरेका छन् । प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुखले आज प्रदेशसभाको पाँचौ अधिवेशन आह्वान गर्नुभएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

सरकारले दुई दिनअघि मात्रै प्रदेशसभाको चालु चौथो अधिवेशन अन्त्य गरेर बिहीबार राजश्व संकलनसम्बन्धी अध्यादेश ल्याएको थियो । उक्त अध्यादेश प्रदेश प्रमुखबाट बिहीबार नै प्रमाणीकरण भइसकेको छ । अध्यादेश प्रमाणीकरणसँगै आर्थिक वर्ष २०८१–८२को बजेट पारित हुन नसकेर रोकिएको प्रदेश सरकारको कर संकलन सम्बन्धी काम अगाडि बढेको छ ।

बजेट पारित हुन नसकेर प्रदेश सरकार मातहतका कार्यालयको कर संकलन लगाएतको काम ठप्प भएको थियो । पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकार अल्पमतमा परेपछि प्रदेशसभामा असार १ गते प्रस्तुत बजेट पारित हुन नसकेर अलपत्र परेको थियो ।

सरकारले अध्यादेश जारीगरी कर संकलनको वातावारण बनाएपनि बजेट शून्यताको अवस्था भने अझैँ अन्त्य भएको छैन । मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिइसकेपछि बजेटका विषयमा कारवाही अघि बढाउने तयारी गरेका छन् ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका १८, नेकपा (एमाले) का ११, नेकपा (माओवादी केन्द्र) का सभामुखबाहेक १०, नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा (एकीकृत समाजवादी) का चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्यको प्रतिनिधित्व छ ।– रासस

प्रतिक्रिया