च्याउ चिनाउन सचेतना, चिनेर खान विशेषज्ञको सुझाव

हेटौँडा । वर्षायामसँगै हरेक वर्ष नेपालमा विषालु च्याउ खाएर बिरामी परेका र मृत्यु भएका घटनाहरू समाचारमा आइरहन्छ । कुन च्याउ खान हुने र कुन विषालु हो भनी छुट्याउन नसक्दा यस्ता घटना प्रत्येक वर्ष दोहोरिइरहेका छन् ।

विशेषगरी ग्रामीण क्षेत्रका विपन्न समुदायमा यस किसिमका घटना बढिरहेको सन्दर्भमा जनस्वास्थ्य कार्यालय मकवानपुरले जंगली च्याउ, तिनको पहिचान र खानपानका विषयमा जनचेतना फैलाउन सुरु गरेको छ । जिल्लाको कैलाश र भीमफेदी गाउँपालिकाका प्रभावित क्षेत्र तथा समुदायका १०० भन्दा बढी स्थानीयलाई विशेषज्ञ वैज्ञानिकबाट जंगली च्याउसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको कार्यालयका सूचना अधिकारी जनस्वास्थ्य अधिकृत लक्ष्मण घिमिरेले बताए ।
बिहीबार हेटौँडामा आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा घिमिरेले मकवानपुरमा गएको असारमा मात्रै विषालु च्याउ खाएका ४ जनाको मृत्यु भएको र २२ जना गम्भीर बिरामी परेको जानकारी दिए ।

कार्यक्रममा गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानका वैज्ञानिक डा.शिव देवकोटाले नेपालमा च्याउसम्बन्धी खोज अनुसन्धान पर्याप्त नभएकाले पनि लक्षित समुदायसम्म चेतना फैलाउन नसकिएको बताए । विषालु च्याउको पहिचान गर्ने तरिकाका बारेमा बताउँदै डा.देवकोटाले भने, ‘विशेषगरी छाताको तल्लो भागमा गिल्स (पत्र) भएका माटोमा उम्रने अधिकांश च्याउ विषालु हुन्छन् ।’

डा.देवकोटाका अनुसार नेपालमा विशेषगरी इलाम, मकवानपुर, चितवन, गुल्मी, दाङ, सल्यान, पाल्पा र अर्घाखाँची जिल्ला च्याउका कारण हुने उच्च जोखिमको क्षेत्रमा रहेका छन् । कतिपय च्याउका प्रजाति खानयोग्य भए पनि सडेका, फक्रिसकेका वा गुम्सने भाँडोमा संकलन गरिएका च्याउले समेत स्वास्थ्य समस्या निम्तने गरेको छ । यस्तै काँचै खाने, दूध तथा मदिरासँगै सेवन गर्ने साथै २ वा सोभन्दा बढी प्रजातिका च्याउ मिसाएर खाँदा पनि जोखिम बढ्ने उनले बताए ।

विषालु च्याउ खाएको ५–६ घन्टापछि पेट दुख्ने, पखाला लाग्ने, बान्ता हुनेजस्ता लक्षण देखिने र लक्षण देखिए लगतै उपचार नपाएमा बिरामीको ३ देखि ४ दिनमा मृत्यु हुने गरेको छ । विश्वमा पाइने १४ हजारभन्दा बढी प्रजातिमध्ये नेपालमा १ हजार २९२ प्रजातिका च्याउको तथ्यांक रहेको भन्दै डा.देवकोटाले भने, ‘यीमध्ये १५२ प्रजातिका च्याउ खानयोग्य छन् । तर कतिपय च्याउ झट्ट हेर्दा उस्तै देखिने भएकाले राम्ररी पहिचान गरेर मात्र खानुपर्छ ।’

छवि अनित्य

मकवानपुर

प्रतिक्रिया