वर्तमान सरकार संसद्मै दर्ता भएकाले पुरै कार्यकाल टिक्छ : निधी

जनकपुरधाम । नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले वर्तमान सरकार निर्माणको आधार दलहरूबीच मात्र नभई संसद्मै पनि दर्ता भएकाले टिक्छ कि टिक्दैन भन्नेमा शंका नगर्न आग्रह गरेका छन् ।

जनकपुरधाममा श्री राम युवा कमिटीको नवनिर्वाचित १६औँ कार्यसमितिको सपथ ग्रहण तथा पदहस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधीसभा सदस्यसमेत रहेका नेता निधीले भने, ‘देशमा अरू बेला सरकार निर्माण हुँदा दलहरूबीच मात्र सहमति र सम्झौता हुन्थ्यो, यसपटकको सात बुँदे सम्झौता प्रधानमन्त्री आफैँले संसद्मा बोलेर रेर्कड गराउनुभएकाले यो सरकार पूरा कार्यकाल टिक्छ भन्नेमा ढुक्क होऊँ ।’

उनले आफ्ना नेता कार्यक्रतासहित एमालेका नेता कार्यक्रतालाई पनि संकेत गर्दै कांग्रेस र एमालेको यो सरकार २०८४ सम्म टिक्ने दावीसहित देश, मधेस र जनकपुरधामको विकासका लागि एक भएर साझा धारणा तय गर्न आग्रहसमेत गरेका छन् ।

उनले कलियुगमा मात्र होइन नेपाल र मिथिलाको धार्मिक महत्व र तथ्य सत्ययुग, त्रेतायुग र द्वापरयुगका पनि विभिन्न धार्मिक परिवेश र तथ्यमा समेत वर्णन गरिएको भन्दै आफ्नो विशेषता र महत्वको चर्चा र उठान नेपाली आफँैले गर्न नसकेकाले धार्मिक विशेषता र महत्व अरू देशभन्दा घट्दै गएको बताए ।

‘मैले कर्णालीको विभिन्न दुर्गम जिल्लाहरूको भ्रमण गरेँ’, निधीले भने, ‘त्यहाँका स्थानीयहरू आफ्ना सभ्यता र मिथिला सभ्यताको सम्बन्ध दर्शाउँदै मुद्दा बनाएर उठान गर्न तत्परता देखाएको सुन्दा मलाई खुसी लाग्यो ।’ निधीले श्री राम युवा कमिटीका नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई प्रमाण पत्र वितरण गरेका थिए भने निर्वाचन अधिकृत निर्मल चौधरीले सपथ ग्रहण गराए ।

सो अवसरमा नेपाली कांग्रेस मधेसका उपसभापति प्रदेश सांसद विरेन्द्रप्रसाद सिंह, जनकपुरधामका प्रमुख मनोजकुमार साह, मठिहानीका नगरप्रमुख हरिप्रसाद मण्डल सहितकाले सम्बोधन गर्दै श्री राम युवा कमिटीको नवनिर्वाचित सरोजकुमार साह नेतृत्वको कार्यसमितिलाई बधाई तथा शुभकामना र निवर्तमान भएको परमेश्वर साह नेतृत्वको कार्यसमितिलाई उत्कृष्ट कार्यकाल चलाएको भन्दै धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया