कोटीहोमको चर्चा र उठेका प्रश्न

यतिबेला पशुपति परिसरमा श्रीमद्भागवत महापुराण तथा कोटीहोम महायज्ञ कार्यक्रम चलिरहेको छ । साउन १ गते सुरु भएको यो कार्यक्रम ३२ गतेसम्म चल्नेछ । अनाथालय तथा वृद्धाश्रमका लागि आर्थिक सहयोग जुटाउन यो कार्यक्रम गरिएको आयोजकहरूले जनाएका छन् । पशुपति क्षेत्रमा यसअघि भएका धार्मिक कार्यक्रमको तुलनामा अहिलेको कार्यक्रममा जनसहभागिता निकै धेरै देखिएको छ । चर्चा–परिचर्चा पनि यस पटक व्यापक भएको छ । कथा वाचनमा सहभागी गराइएका आकर्षक अनुहार र मिठो बोली भएका किशोरीहरूले धेरैको ध्यान तानेका छन् ।

कथा वाचनलाई टेलिभिजनहरूमा समेत प्रत्यक्ष प्रसारण गरिएका कारण पनि देशव्यापी चर्चा भएको छ । कसैले महायज्ञ आरम्भको तिथि नमिलेको भन्दै बहस गरेका छन् । कसैले यज्ञमण्डप निर्माणमा काठको प्रयोग गर्नुपर्ने ठाउँमा फलाम प्रयोग गरिएको भन्दै आलोचना गरेका छन् । अर्थ संकलनका लागि धार्मिक कार्यक्रम गर्नु उचित नभएको तर्क गर्नेहरू पनि उल्लेख्य छन् । शास्त्रले महिलालाई वेद पढ्न निषेध गरेको भन्दै कथा वाचनका लागि महिला छनोट गरिएकामा आपत्ति जनाउनेहरू पनि निकै देखिएका छन् । सबैभन्दा धेरै चर्चा भारतमा प्रसिद्धि कमाएकी नेपाली चेली देवी प्रतिभाको विषयमा भएको छ । देवी प्रतिभाले आफ्नो निजी जीवनको विषयमा झुटो बोलेको, पितृसत्तालाई प्रश्रय हुने अभिव्यक्ति दिएको, पारिश्रमिक बढी लिएको, अनावश्यक रूपमा बडिगार्ड राखेको, बडिगार्डले लगाउने पोसाक डरलाग्दो भएको भन्दै लेख छाप्नेहरूको संख्या पनि उत्तिकै देखिएको छ ।

समग्रमा हेर्दा कोटीहोम तथा श्रीमद्भागवत महापुराणलाई सकारात्मक रूपमा लिनेहरू धेरै छन् । चन्दाका लागि नाम लेखाउने ठाउँमा निरन्तर भिड देखिएको छ । सहभागीहरूको संख्या दिनानुदिन बढेर गएको छ । धार्मिक विधि पुग्यो या पुगेन ? भन्ने विषयको जिम्मेवार आयोजक हुन्, कार्यक्रममा संलग्न पण्डित तथा कथावाचक हुन् । यस विषयमा बाहिरका व्यक्तिहरूले चासो लिनु स्वाभाविक होला, तर आलोचना स्वाभाविक हुन्न । दान संकलन तथा उपयोग पारदर्शी हुनुपर्छ भन्ने तर्क जायज हो, तर दानको उद्देश्यले धार्मिक कार्य गर्नुहुँदैन भन्ने कुरा तर्कका लागि तर्क मात्रै हो । दान नै सबैभन्दा ठुलो धर्म हो भनेर सबै धार्मिक सम्प्रदायहरूले स्वीकार गरेका छन् । आफ्नो आम्दानीको १० प्रतिशत दान गर्नुपर्ने कुरा सबै धर्म सम्प्रदायका ग्रन्थहरूमा उल्लेख छ ।
नेपालमा मात्रै होइन, विश्वव्यापी प्रचलन हो यो । सात समुद्रपारिका इसाई धर्मावलम्बीहरूले चर्चमा गरेको दानबाट नेपालमा धेरै स्कुल तथा स्वास्थ्य संस्थाहरू सञ्चालनमा छन् । मध्यपूर्वमा मुसलमानहरूले मस्जिदमा गरेको दानबाट नेपालमा धेरै मदरसा (शैक्षिक संस्था) सञ्चालनमा छन् । भारतमा हिन्दुहरूको दानबाट धेरै सामाजिक संस्था सञ्चालनमा छन् ।

हाम्रो देश नेपाल निकै लामो आध्यात्मिक परम्परा बोकेको मुलुक हो । अहिले पनि आध्यात्मिक क्षेत्रका विद्वान्हरूको संख्या नेपालमा उल्लेख्य छ । तर, सबै विद्वान्ले कथा वाचनलाई व्यवसाय बनाएका हुँदैनन् । कथा वाचन पनि एउटा पेसा हो । सबै कथा वाचक विद्वान् छैनन् । कथा वाचनको शैली र विद्वता एउटै कुरा होइन । जति जानेको छ, त्यो कुरा स्रोताको मन छुने गरी प्रस्तुत गर्ने सीप भयो भने कोही पनि व्यक्ति लोकप्रिय कथा वाचक हुन सक्छ, तर ऊ विद्वान्समेत हुन्छ भन्ने होइन । भागवत कथा वाचन व्यवसायलाई यसरी बेलगाम छाड्दा अराजकता उत्पन्न हुन सक्छ भन्ने चिन्ता विचारणीय छ । वेद कालजयी होला, तर वेदभन्दा निकै पछि लेखिएका पुराणमा उल्लेखित कतिपय कथाहरू कालजयी हुन सक्दैनन् । जुनबेला लेखियो, त्यो युगमा सान्दर्भिक थिए होलान्, तर अहिले सान्दर्भिक नहुन सक्छन् । भविष्यमा झन् असान्दर्भिक हुन सक्छन् । विद्वान्हरूले मात्रै परिमार्जनसहित सुनाउने हैसियत राख्छन् ।

प्रतिक्रिया