सूचना लुकाउनेविरुद्ध आवाज उठाऔँ : सभामुख मण्डल

जनकपुरधाम । मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले सूचना लुकाउनु अपराध रहेको बताएका छन् । सूचना पाउनु सबै नेपाली नागरिकको अधिकार रहेकाले सूचना लुकाउने काम नेपाली नागरिकको अधिकार हनन् गर्ने भएकाले यो एक किसिमको अपराध रहेको बताए ।

राष्ट्रिय सूचना आयोगले अयोजना गरेको सुशासनका लागि सूचनाको हक विषयक दुई दिवसीय मधेस प्रदेश स्तरीय गोष्ठीमा बोल्दै सभामुख मण्डलले व्यक्तिगत स्वार्थ हावी हुँदा सूचना लुकाउने परिपाटी बढ्दै गईरहेको बताए । उनले जहाँ सूचना लुकाइन्छ त्यहाँ भ्रष्टाचारले प्रश्रय पाउँछ त्यसैले प्रत्येक नेपालीलाई सूचनाको हक प्रयोग गर्न तर्फ अग्रसर हुन आग्रह गरे । उनले सूचनाको लुकाउने बिरुद्ध आवाज उठाउन समेत आग्रह गरे ।

गोष्ठीको उद्घाटन सत्रमा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हक नेपाली नागरिकलाई प्राप्त सबैभन्दा बलियो अधिकार रहेको बताए । सूचनाको हक प्रदान गरेर संविधानले नागरिकलाई शक्तिशाली बनाएको उनको भनाई थियो । देशका सबै सार्वजनिक निकायले पारदर्शीता, जवाफदेहिता, इमान्दार हुँदै भ्रष्टाचार नियन्न्त्रण गर्ने र सूचना व्यवस्थित रुपमा सार्वजनिक गर्दै जानुपर्ने बताए ।

एक अर्को प्रसंगमा प्रमुख सूचना आयुक्त गुरुङले सबैभन्दा बढी सूचनाको हक सम्बन्धि पुनरावेदन मधेस प्रदेशबाटै हुने गरेकोमा खुशी व्यक्त गरे । यद्यपि देशभरीमा सूचनाको हक प्रयोग गर्न नेपालीहरु जागरुक नरहेको भन्दै सूचना हक बढीभन्दा बढी संख्यामा गर्न आग्रह गरे ।

गोष्ठीमा सूचना आयुक्त कमला ओली थापा, मधेस प्रदेशका प्रदेशसभा सदस्यहरु तथा प्रदेशसभा सचिवालयका कर्मचारीहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया