वीरगन्ज । नेपाली कांग्रेस पर्साले मधेस प्रदेशका नवनियुक्त श्रम तथा यातायात मन्त्री कौशल किशोर रायलाई सम्मान गर्दे भेटघाट कार्यक्रमको आयोजना गरेको छ ।
नेपाली जिल्लाका सभापति तथा मधेस प्रदेशका भूमि तथा कृषि सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीको सभापतित्वमा सो कार्यक्रमको आयोजना गरिएको थियो । प्रमुख अतिथि रहेका मन्त्री रायले मधेस प्रदेशको अहिले विशेष परिस्थितिमा जनताले महसुस हुने गरी काम गरिरहेको बताए ।
मधेस प्रदेशमा नेपाली कांग्रेसले पाएको ४ मन्त्रालयले अरूभन्दा फरक हिसाबले काम गरिरहेको तथा मधेस प्रदेशका जनताले अनुभूति गर्ने गरी विकास कार्यहरू अगाडि बढाएको उनले दाबी गरे । त्यस्तै उनले विगतका दिनमा अरू पार्टीले सरकार बनाएर धेरै भ्रष्टाचार गरेकोसमेत बताए । अबका दिनमा यस्ता विकृति हटाएर सिस्टममा आफूहरूले काम गरिरहेको उनले बताए ।
त्यस्तै कार्यक्रमका सभापति तथा भूमि तथा कृषि सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले मधेस प्रदेशको २०८१÷०८२ सालको बजेट पास भएपछि मात्र आफूहरू मन्त्रीमा नियुक्त भएकोले विकासका योजनाहरू बजेटमा समावेश गराउन नपाएको बताए । उनले बजेटमा सन्तुलन कायम गर्नुपर्ने बताए । त्यसै उनले कृषि पेसामा दलालको बढी चलखेल हुने भएकोले सम्पूर्ण किसान मिलि दलाली गर्नेलाई खेद्नुपर्ने बताए ।
साथै मन्त्री क्षेत्रीले भने नेपाली कांग्रेस र जनमत पार्टीबीच मन्त्रालयको भागबण्डा मिलनमा ढिलो भएको हुनाले हामी बजेटमा आफ्नो भनाई समेट्न सकेनौँ तैपनि हामी जनताकै पक्षमा सधैँ रहेर काम गर्ने बताए ।
प्रतिक्रिया