पाँचथर । प्रदेश सभाका सांसद, पूर्व मन्त्री तथा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङबोले संविधान संशोधनमार्फत् कांग्रेस र एमालेले देशमा दुई दलीय व्यवस्था ल्याउन खोजे देशमा अशान्ति हुने बताएका छन् । बिहिबार पाँचथर सदरमुकाम फिदिममा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सांसद आङबोले सबै दललाई सहमतिमा नलिई संविधान संशोधन गर्दा २०६३ सालको अवस्था आउने भन्दै सचेत गराएका हुन् ।
उनले भने, ‘संविधान संशोधन जटिल विषय हो । निर्वाचन प्रणाली फेरेर दुई दलीय सिष्टममा लैजाने कुरा स्वीकार्य हुँदैन ।’ आङबोले समानुपातिक समावेशी सिद्धान्त हटाउनेगरी संविधान संशोधनको कुरा माओवादीलाई स्वीकार्य नहुने बताए।
संघीयता, गणतन्त्र, समावेशी र धर्मनिरपेक्षता संविधानका चार पिल्लर रहेको भन्दै कुनै एउटालाई हटाउन नमिल्ने उनले बताए ।
आङबोले बिकास निर्माणमा गति लिएको र गति लिन स्थानीय सरकार र सरोकारवालासँग संवाद भइरहेको समेत जानकारी गराए ।
प्रतिक्रिया