मुख्यमन्त्रीको आदेश अटेर गर्दै प्रयोगशाला प्रमुख

जनकपुरधाम । संघीय सरकारले खटाएको ठाउँमा जान मधेस प्रदेशका मुख्यमन्त्रीले ताकेदा गरे पनि प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख श्रवणकुमार मिश्र सरुवाको पत्र बुभ्mन चाहेका छैनन् । गत असार २० गते संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्र लेखेर मिश्रलाई दरबन्दी कायम रहेको कोसी अस्पतालमा हाजिर हुन भनेको छ । उक्त पत्रको बोधार्थ मन्त्रालयले मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई गरेको छ ।

बोधार्थ पाएको आधारमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मिश्रलाई संघीय सरकारले खटाएको ठाउँमा जान ताकेदा गरिरहेको मुख्यमन्त्री सतिशकुमार सिंहले जानकारी दिए । ‘मिश्रलाई हामीले खोज्दै हिँडेका छौँ उहाँ भाग्दै हिँडिरहनुभएको छ’, मुख्यमन्त्री सिंहले भने, ‘संघका कर्मचारी हुन् । संघले बोलाइसकेपछि उहाँ जानुपर्छ । हामीले पठाइदिनुपर्छ ।’

यो क्रममा दुईपटक मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले फोन गरी मिश्रलाई रमाना लिन बोलाएको भए पनि अहिलेसम्म नआएको मुख्यमन्त्री सिंहले बताए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव केशवराज सुवेदीले प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखको रूपमा रहेका मिश्रको काज सरुवा फिर्ता भइसकेपछि तोकिएको ठाउँमा गइसक्नुपर्ने बताउँछन् ।

‘कुनै पनि कर्मचारीले विभागीय मन्त्रालयको पत्र पाउने बित्तिकै सम्बन्धित निकायलाई बरबुझारथ गरी तोकिएको ठाउँमा हाजिर भई कामकाज सम्हाल्नुपर्ने हो । यो कर्मचारीको नैतिकताको सवाल पनि हो’, सुवेदीले भने । सचिव सुवेदीले निर्धारित समयसीमाभित्र मिश्रले रमाना नबुझे कानुनबमोजिम मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले निर्णय लिने जानकारी दिए ।

प्रतिक्रिया