ध्यान योगको विकल्प छैन : खेलकुद मन्त्री

जनकपुरधाम । मधेस प्रदेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोदकुमार जयसवालले सामाजिक एकता कायम गर्न र समुदायमा भावनात्मक विकासका लागि ध्यान र योगको विकल्प नरहेको बताएका छन् । गुरु पुर्णिमाको अवसरमा गत आइतबारदेखि जनकपुरधामस्थित कृष्ण मन्दिरको सभाहलमा डायमन्ड वल्र्डवाइड (ट्रेनिङ इन्स्टिच्युट) ले आयोजना गरेको ध्यान–योग सप्ताहको समापन समारोहलाई शनिबार बिहान सम्बोधन गर्दै मन्त्री जयसवालले वर्तमान परिप्रेक्ष्यमा सामाजिक एकता र समुदायमा भावनात्मक विकासको आवश्यक्तालाई औँल्याए ।


नयाँ पुस्ताका युवाहरूलाई सुधारको बाटोमा डो¥याउन र मानवको शारीरिक, मानसिक स्वास्थ्यसँगै संस्कृतिको रक्षा गर्न पनि ध्यान र योगको प्रवद्र्धन आवश्यक रहेको मन्त्री जयसवालको जोड थियो । उनले यसका लागि आफुले नेतृत्व सम्हालेको मन्त्रालयमा नीतिगत योजना बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।


‘यो अतुलनीय लाभको आधार हो’, मन्त्री जयसवालले भने, ‘बिहान ब्रम्हमुहूर्तमा ओछ्यान छोडेर योगमा सहभागी हुनुको फायदाबारे वर्णन गर्न सकिँदैन । यति मात्रै होइन, यसले रोगबाट मुक्ति दिलाउने त छँदै छ मानसिक स्वास्थ्य र सामाजिक भावनाको विकासमा अतुलनीय योगदान गर्न सक्छ ।’ कार्यक्रममा हंसपुर नगरपालिकास्थित आयुर्वेद औषधालयका प्रमुख रामछविला रायले सरकारले गाउँगाउँमा निर्माण गरिरहेको सामुदायिक भवनको संरचनामा रूपान्तरण ल्याउनुपर्ने सुझाव दिए ।


सामुदायिक भवनको नाममा बनाइने कोठाहरू लगानीको हिसाबले उपयोग पनि हुन नसकिरहेको सन्दर्भमा खुल्ला हल निर्माण गरिदिए नियमित योगसहित अनेक प्रयोजनमा उपयोग गर्न सकिने उनको सुझाव थियो । रायको सुझावलाई नीतिगत रूपमा सम्बोधन गर्ने मन्त्री जयसवालले प्रतिबद्धता व्यक्त गरे । ध्यान र योग सप्ताहको आयोजक संस्था डायमन्ड वल्र्डवाइडका प्रमुख एवं योगा इभ्यालुएटर जगदीश ठाकुरले समाजलाई असल बाटोमा डो¥याउन ध्यान र योगको माध्यमलाई अभियानको रूपमा अघि बढाउने अभियानमा आफू अघि बढिसकेको बताए ।


लागुऔषधले नयाँ पुस्तामा पाइरहेको प्रश्रयप्रति प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै ठाकुरले मधेस प्रदेशका सबै जिल्ला, पालिका र वडा, बस्तीसम्म नियमित ध्यान र योग कार्यक्रम चलाउन अनुरोध गरे ।

प्रतिक्रिया