जनकपुर । जनमत पार्टी केन्द्रीय सचिवालय बैठकले प्रदेश सरकारको कामकारबाही थप प्रभावकारी बनाउन सुझाव दिएको छ । जनकपुरधामस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले मधेस सरकारलाई थप चलायमान र प्रभाकारी बनाउन पार्टीका तर्फबाट चारबुँदे सुझाव दिएको पार्टी प्रवक्ता डा. शरदसिंह यादवले जानकारी दिए । सुक्रबारेदेखि सुरू भएको बैठक शनिबार सम्पन्न भएको हो ।
‘दुई दिनसम्म चलेको बैठकमा पार्टीले मधेस सरकारको कार्यभार सम्हालेपछि गरेका काम, देखापरेका समस्या र चुनौतीका बारेमा छलफल गरिएको थियो,’ प्रवक्ता डा यादवले भने, ‘सरकारलाई अझ बढी चलायमान र कामकारबाहीको प्रभावकारिता बढाउन सबैले सुझाव दिएका थिए । सोहीअनुसार हामीले सरकारलाई चार बुँदे सुझाव दिने निर्णय गरेका छौँ ।’
बैठकले प्रदेशमा देखिएका बेथितिलाई सुधार गर्दै सुशासन कायम गर्न र रोजगारीका कार्यक्रमहरू सञ्चालन गर्नतर्फ केन्द्रीत हुन मुख्यमन्त्री सतिशकुमार सिंहलाई आग्रह गरेको छ । बैठकबाट प्राप्त सुझाव र जनतालाई फाइदा हुनेगरी काम गर्न आफू प्रतिबद्ध रहेको मुख्यमन्त्री सिंहले बताएका प्रवक्ता डा यादवले जानकारी दिए ।
प्रतिक्रिया