जनकपुरधाम । महोत्तरीको पिपरा गाउँपालिका–१ र ४ लाई पूर्ण विद्यालय भर्ना वडा घोषणा गरिएको छ । सेभ द चिल्ड्रेन, एफसिए तथा रतौली युवा क्लबको सहयोगमा पिपरा गाउँपालिकालाई पूर्ण विद्यालय भर्ना पालिका घोषणा गर्ने अभियानअन्तर्गत पिपराको वडा–१ र ४ लाई पूर्ण विद्यालय भर्ना वडा घोषणा गरिएको हो । सो वडाहरूलाई पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादवले एक कार्यक्रमकाबीच पूर्ण विद्यालय भर्ना वडा घोषणा गरेका हुन् । यो अभियानअन्तर्गत पिपरा गाउँपालिका–२, ३ र ५ लाई पहिले नै पूर्ण विद्यालय भर्ना वडा घोषणा गरिसकिएको छ ।
घोषणा समारोहलाई सम्बोधन गर्दै पिपरा गाउँपालिकाका अध्यक्ष यादवले शिक्षा सबै नागरिकका लागि नैसर्गिक अधिकार रहेको बताए । शिक्षित जनता नभए त्यस्तो व्यक्ति देशकै लागि बोझिलो बन्ने भएकाले सम्पूर्ण बालबालिकालाई विद्यालय पठाउन अभिभावकलाई आग्रह गरे । विद्यालय तहको शिक्षा निःशुल्क भएकाले कमजोर आर्थिक अवस्था भएका अभिभावकले समेत कुनै बहानामा बालबालिकालाई विद्यालय जानबाट वञ्चित गर्न नहुने उनको भनाइ थियो ।
पिपरा गाउँपालिकाका शिक्षा संयोजक राजकिशोर झाले यो भर्ना अभियानअन्तर्गत एकैपटक विद्यार्थी भर्ना गरेर हुँदैन । नियमित रूपमा भर्ना प्रक्रियालाई अगाडि बढाउनका लागि स्थानीय पालिका, स्थानीयवासी तथा शिक्षकहरूलाई निरन्तर लागि पर्न आग्रह गरे । उनले बालबालिकालाई मात्रै नभई लेखपढ गर्न नजान्ने स्थानीयलाई समेत साक्षर बनाउनका लागि पालिकाले योजना ल्याउने प्रतिवद्धता व्यक्त गरे ।
पूर्ण विद्यालय भर्ना वडा घोषणा कार्यक्रममा वडा–१ का वडाध्यक्ष राजेशकुमार दास, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू, विभिन्न विद्यालयका शिक्षक, स्थानीयवासी र रतौली युवा क्लबका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
प्रतिक्रिया