कुशको शव बनाएर दाहसंस्कार

बारा । कलैया उपमहानगरपालिका–१४ कि सृष्टि यादवको शुक्रबार दाहसंस्कार गरिएको छ । त्रिशूली नदीमा बेपत्ता भएको एन्जल बसकी यात्रु सृष्टि यादवको शव नभेटिएपछि परिवारले कुशको शव बनाएर शुक्रबार दाहसंस्कार गरेका छन् । घटनाको आठौँ दिनसम्म स्थिती अज्ञात बनेपछि सृष्टीको अभिभावकले कुशको शव बनाएर दाहसंस्कार गरेका हुन् ।

सृष्टी पर्साको सखुवा प्रसौनी गाउँपालिकामा रेडियोग्राफरको रूपमा कार्यरत रहेकी थिइन् । उनी परीक्षा दिनका लागि काठमाडौँतर्फ जाँदै थिइन् । उनी सवार रहेको एन्जल डिलक्स बस सिमलतालमा आएको लेदो सहितको पहिरोले नदीमा बगाएपछि उनी समपर्कविहीन बनेकी थिइन् ।

असार २८ गते नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालको पहिरोमा परी त्रिशूली नदीमा गणपति डिलक्स र एन्जल डिलक्स बस नदीमा खसेको थियो । उक्त घटनामा ६५ यात्रुमध्ये ६२ जना बेपत्ता भएका थिए । बेपत्तामध्ये हालसम्म २० जनाको शव फेला परिसकेको छ भने ४२ जनाको अवस्था अज्ञात छ । घटनामा परेर सम्पर्कविहीन रहेकाहरूको परिवारले कुशको शव बनाएर दाहसंस्कार गरिरहेका छन् । आइतबार उक्त बस खोज्नका लागि भारतीय टोली पनि आइतबार आइपुगेको छ ।

प्रतिक्रिया