जनकपुरधाम । विभिन्न अड्कलबाजीपछि अन्ततः अर्थसहित ४ मन्त्रालय लिएर नेपाली कांग्रेस मधेस सरकारमा सहभागी भएकोे छ । जनमतले अर्थसहित ४ मन्त्रालय दिन तयार भएपछि कांग्रेस बिहीबार सरकारमा सहभागी भएको हो । जनमतले अर्थ आफैँसित राख्ने अडानका कारण कांग्रेस मधेस सरकारमा सहभागी भएको थिएन ।
कांग्रेसबाट ४ मन्त्रीको नाम मुख्यमन्त्री सतिश कुमार सिंहलाई पठाएको छ । रौतहटका सुनिल यादव, पर्साका जनार्दन क्षेत्री, धनुषाका शेषनारायण यादव र सर्लाहीका कौशल किशोर रायको नाम पहिला नै कांग्रेसले टुंगो लगाइसकेको थियो । उनीहरूको नाम मन्त्रीको लागि बिहीबार मुख्यमन्त्री सतिशकुमार सिंहसमक्ष पठाएको कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले जानकारी दिए ।
त्यसैगरी लोसपालाई समेत सरकारमा सहभागी गराउने मुख्यमन्त्रीको तयारी छ । लोसपाका नेताहरूसित यस विषयमा कुराकानी भइरहेको मुख्यमन्त्रीको सचिवालय स्रोतले जनाएको छ । केन्द्रमा बनेको कांग्रेस–एमाले गठबन्धनमा मधेसमा जनमत नेतृत्वकै सरकारलाई निरन्तरता दिने सहमति भएको थियो ।
२२ असारमा कांग्रेस र लोसपाले मुख्यमन्त्री सतिश कुमार सिंहलाई विश्वासको मतसमेत दिएका थिए । त्यहीदिन मुख्यमन्त्री सिंहले नेकपा माओवादी केन्द्रसहित ४ दलका ६ मन्त्रीलाई बर्खास्त गरेका थिए । कांग्रेसबाट मन्त्री बन्न लागेका चारै अनुहार पहिलोपटक मन्त्री पद पाउँदैछन् । अर्थ मन्त्रालयको बागडोर सम्हाल्न लागेका सुनिलकुमार यादव नेपाली कांग्रेस रौतहट जिल्लाका सभापति हुन् । रौतहट ३ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य यादवले सरकारमा बसेर काम गर्ने अवसर पहिलोपटक पाउँदैछन् ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी जनार्दन सिंह क्षेत्रीले पाउँदै छन् । क्षेत्री पर्सा ३ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । उनले पनि सरकारमा बसेर काम गरेको अनुभव यसभन्दा अघि लिएका छैनन् ।
शेषनारायण यादव धनुषाको निर्वाचन क्षेत्र नम्बर ४ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । उनी सांसदको रूपमा पनि पहिलोपटक जितेका छन् । उनका लागि पनि यो सरकारमा बसेर काम गर्ने पहिलो अनुभव रहनेछ ।
सर्लाहीको निर्वाचन क्षेत्र नम्बर २ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य कौशल किशोर यादवले जनमत नेतृत्वको वर्तमान सरकारमा श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी पाउँदै छन् । शिक्षक पृष्ठभूमिका कौशल पनि पहिलोपटक सांसद भएका हुन् भने सरकारमा मन्त्रीको रूपमा काम गर्ने अवसर पनि पहिलोपटक लिँदैछन् । मन्त्रीहरूको सपथग्रहण बिहीबार नै हुने अबेर साँझ गराउने भनिए पनि समाचार लेख्दासम्म सपथग्रहणको कार्यक्रम हुन सकेको छैन ।
प्रतिक्रिया