मोहर्रम पर्व (दाहा) धुमधामका साथै मनाइँदै

वीरगन्ज । यहाँ मोहर्रम पर्व धुमधामका साथै मनाइँदै छ । हसन र हुसेनको प्रतीकस्वरूप ताजिया निर्माण गरी यो पर्व मनाइँदै छ ।
रूपन्देहीमा मुस्लिम मात्र होइन हिन्दू धर्माबलम्बीले पनि ताजिया बनाई विधिवत रूपमा पूजाअर्चना गरेर यो पर्व मनाइन्छ । वीरगन्ज महानगरपालिका–१७ अलौ निवासी नइम मियाले यो पर्वप्रति आफ्नो प्रगाढ आस्था रहेको बताए । वाञ्छित मनोकामना पूर्ण हने आशामा वा पूर्ण भएपछि ताजिया बनाउने गरिएको छ ।

यो पर्वलाई हिन्दू धर्मावलम्बीहरूले पनि मान्ने गर्दछ । मोहर्रम (दाहा) को एकदिन पहिला साझमा मलिदा चढाई पुजा गर्दछन् । आफूले मागेको इच्छा पूरा भएपछि हिन्दू धर्मावलम्बीहरूले भोकै बसी रोजा रहिलाई र लडुले पुजा गर्दछन् ।

पर्सा जिल्लाको वीरगन्जको छपकैया, मुर्ली, गहवा, अलौलगायत विभिन्न ठाउँमा ताजिया निर्माण हुँदै आएको छ । यी सबै क्षेत्रमा धुमधामका साथ मोहर्रम मनाइने गरिन्छ । हजरत इमाम हुसेन इस्लामका पैगम्बर मुहम्मदका नाति थिए । उनले इस्लाम र मानवताको रक्षा गर्न आफ्नो परिवार र साथीहरूको बलिदान दिए । यिनै सहिदहरूकोे सम्झनामा ताजिया निस्कने गरेको छ । ताजियालाई सहिदहरूको प्रतीक मानिन्छ ।

ताजियासँगै जुलुस निकालिन्छ र त्यसपछि यो प्रतीकात्मक रूपमा विर्सजन गरिन्छ । मोहर्रमको १०औँ दिन आशुराको दिन र हुसेनको बहादुर बलिदानको सम्झना दिन हो । हिन्दू तथा मुस्लिम समुदायले समान रूपले मनाउने यो पर्व १० दिनको भए पनि मुख्य रूपमा ४ दिन मनाइन्छ । केराको पात काटी गाड्ने, मोहर्रमको एक दिन पहिला बनाएको ताजिया बाहिर निकाली ‘चौकी’ बसाल्ने तथा अन्तिम दिन सम्बन्धित क्षेत्रको सम्पूर्ण तजिया एकजुट पारी स्थानीय कर्बलामा लगी विसर्जन गरेपछि मेलाको समापन हुने गर्दछ ।
हसन तथा हुसेनको प्रतीकस्वरूप बाँसको ढाँचामा विभिन्न रंगीचंगी कागज बेरी ताजिया बनाई त्यसको वरिपरि तासा, ढोल तथा मजिराजस्ता बाजा बजाई, झर्रा खेल्दै परिक्रमा गरे आफूले चिताएको मनकामना पूर्ण हुने विश्वासका साथ यो पर्व मनाउने गरिन्छ ।

प्रतिक्रिया