वर्षा र बाढीसँगै बढ्दो त्रास, चर्कियो बकैया नदीको पुल

मधेस ब्युरो । केही दिनदेखि हरेक दिन पानी परिरहेको छ । दैनिक रूपमा भइरहेको वर्षाले रौतहटका खोलाहरू मुख्य रूपमा बागमती, बकैया तथा लमाहामा बाढी आए पनि पानीले खोलाको किनारलाई भने नाघेको छैन ।

मुख्यगरी पहाड र उत्तरी क्षेत्रको जंगलमा परेको पानीले खोलाको सतह बढाएको हो । अर्कातिर गेरी खेतमा पानी भरिँदा रोपाइँ गर्न असुविधा भइरहेको छ । खोलामा बाढी आउँदा खोलाको किनारमा रहेका बासिन्दाहरूलाई भने निकै डर लाग्न थालेको छ । खोलाको बाढीले किनारको कटान सुरु गरिसकेकोले किनारका बासिन्दाहरूलाई डर लाग्न थालेको हो ।

बकैया नदीको तटबन्धमा बाढीले धक्का दिन थालेको छ । बाढीले नदीको किनारलाई काट्दै जाँदा तटबन्ध चर्किन थालेको छ । तटबन्धलाई बाढीले काटेर लगेपछि गाउँमा बाढी पस्ने र त्यसले ठूलो क्षति पु¥याउने त्रास मौलापुर र बौद्धिमाई नगरपालिकामा व्याप्त रहेको छ । निरन्तर परिरहेको पानीले खोलामा बाढी आउँदा स्थानीयवासीलाई क्षतिको त्रासले सताउने गरेको छ ।

मध्यरौतहटको पश्चिमी रौतहटसित लाइफलाइन बनिसकेको मौलापुरस्थित बकैया नदीको पुल पनि चर्केको देखेर स्थानीय त्रसित बनेका छन् । बिचैमा चर्केको पुलको माथिल्लो भाग मात्र चर्केको हो कि तलैसम्म चर्केको हो ? प्राविधिक जाँच हुनु जरुरी भएको स्थानीयको भनाइ छ । पुलको अर्धपश्चिमी भागमा चिरा परेको देखिएको छ ।

तटबन्ध र पुल दुवैमा चिरा परेको देखिएपछि स्थानीयमा गत वर्षहरूको भन्दा बढी त्रास देखिएको छ । पहिलोपटक पुलमा पनि चिरा देखिएको हो । वर्षाको सुरुमै समस्या देखापरेपछि सम्बन्धित निकायको ध्यान जानुपर्ने स्थानीयवासीको माग रहेको छ । पुल र बाँधको निर्माण तथा मर्मत र यिनीहरूको प्राविधिक पक्षसित सरोकार राख्ने निकायले उचित समयमा ध्यान दिएर मर्मतको तत्काल पहल गर्नुपर्ने स्थानीयवासीको आग्रह रहेको छ ।

बकैया नदीको तटबन्धमा चिरा परेपछि रौतहटको सुरक्षा निकायको पनि ध्यान तानिएको छ । मौलापुर नगरपालिकाकी नगरप्रमुख रिनाकुमारी साहसहितको टोलीले स्थलगत निरीक्षण गरिसकेको छ । स्थलगत निरीक्षण गर्दा समस्या तत्काल समाधान गर्नुपर्ने देखिएको नगरप्रमुख साहको भनाइ छ । नदीमा बाढी बढिरहेको र तटबन्धलाई नोक्सानी पु¥याइरहेकोले सम्भव भएसम्म छिटो मर्मत गर्नुपर्ने साहको माग पनि रहेको छ ।

तटबन्धको मर्मत नगरपालिकाको क्षमता र क्षेत्र दुवैभन्दा माथि रहेकोले यथाशीघ्र बलियो मर्मतको काम गर्नुपर्ने स्थानीयको माग छ । साथै तटबन्धतिर खोला फर्किरहेकोले खोलाको तीव्र बहाव भएको ठाउँमा बलियो संरचना निर्माण गर्नुपर्ने माग पनि स्थानीयबासीको रहेको छ ।

विगतका वर्षहरूको भन्दा केही पहिले र गत वर्षहरूभन्दा बढी वर्षा हुने चेतावनी आइरहेकोले स्थानीयहरूमा अझ बढी त्रास देखिएको हो । तटबन्धको कटान हुँदा दर्जनौँ गाउँमा समस्या पर्ने भएकोले स्थानीयमा त्रास देखिएको हो ।

प्रतिक्रिया