रौतहट । जिल्लाको ईशनाथ नगरपालिका ३ मा भएको हत्याको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले २ जनालाइ पक्राउ गरी सार्वजनिक गरेकाे छ । १७ वर्षीय सहबाज मियाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको हो ।
ईशनाथ नगरपालिका कार्यालय नजिक रहेको आपको बगैचामा हत्या गरी फालिएको अवस्थामा मंगलबार क्युम मियाको छोरा १७ वर्षीय सहबाज मियाको शव फेला परेको थियो ।
पक्राउ पर्नेमा स्थानीय बौद्धिमाई नगरपालिका १ बौधा पतौरा घर भई हाल ईशनाथ नगरपालिका ३ स्थित मामा घरमा बस्दै आएका १८ वर्षीय दशाई साह र इशनाथ नगरपालिका वडा नम्बर ३ बस्ने १९ वर्षीय छोरा रोशन साह रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरिक्षक एलिजा गिरिका अनुसार हत्यामा प्रयोग भएको फलामको रड र धारिलो हतियारसमेत बारामद भएको छ ।
मृतकका १० वर्षीय भाई साबिर मियासँग भएको झगडाको बिषय लिएर सहबाज मियाको हत्या गरिएको प्रहरीले जनाएको छ । दशाई साहले हत्या गर्ने योजना बनाइ रोशन साहसँग मिलेर फलामको रड तथा धारिलो छुरा प्रयोग गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाइ कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान गर्नको लागि अदालतबाट अनुमति लिएर हिरासतमा राखिएको छ ।
रौतहट
प्रतिक्रिया