माण्डवीगंगा किनारमा २० हजार बिरुवा रोपिँदै

महोत्तरी । महोत्तरीको प्रसिद्ध धार्मिकस्थल टुटेश्वरधाम नजिकैको माण्डवीगंगा (मडहा) नदी किनारको उकास जग्गा नयाँ बिरुवाले भरिँदै छ । नदी उकासको करिब १३ हेक्टर जग्गामा बर्दिबास मेडिकल कलेज पूर्वाधार निर्माण आयोजना कार्यालयले वृक्षरोपण थालेको छ । यहाँ २० हजार नयाँ बिरुवा धमाधम रोपिँदै छन् ।

राष्ट्रिय गौरवको आयोजना बर्दिबास मेडिकल कलेज निर्माण प्रक्रिया अघि बढाउन अहिले सघन वृक्षरोपण थालिएको हो । कलेज निर्माणका लागि प्रस्तावित ठाउँ बर्दिबास–४ माइस्थानको अटाबे खोल्सीदेखि पूर्व र भब्सीखोलादेखि पश्चिमको सामुदायिक वन क्षेत्रको ५४ दशमलव ५८४ हेक्टरमा रहेका १ हजार ९६७ रुख कटान गर्नपूर्व सो संख्याको १० गुणा बढी रुख रोप्नुपर्ने सर्वोच्च अदालत र नेपाल सरकारको निर्देशानुसार माण्डवीगंगा तटको नदी उकास जग्गामा वृक्षरोपण गरिँदै छ ।

शनिबारदेखि उक्त अभियान थालिएको हो । हालसम्म ५ हजारभन्दा बढी बिरुवा रोपिएका छन् । यही महिनाभित्र २० हजार बिरुवा रोपीसक्ने बर्दिबास मेडिकल कलेज पूर्वाधार निर्माण आयोजना कार्यालयका प्रमुख देवीप्रसाद सुवेदीले जानकारी दिए । यसअघि वनक्षेत्रमा कलेज निर्माण रोक्न भन्दै सर्वोच्चमा २०७८ सालमा परेको रिट अदालतले २०८० जेठ २९ गते खारेज गरेको थियो । सर्वोच्चले मुद्दा खारेज गरेसँगै गत माघ ३ गते मन्त्रिपरिषद्ले अदालतको आदेशानुसार रुख काट्न स्वीकृति दिँदै सोपूर्व नयाँ वृक्षरोपण गर्न निर्देश गरेको थियो ।

‘हामीले सर्वोच्च अदालत र मन्त्रिपरिषद्को निर्णय बमोजिम काम अघि बढाउन वृक्षरोपण थालेका छौँ’, प्रमुख सुवेदीले भने । बर्दिबास नगरपालिकाका प्रमुख प्रह्लादकुमार क्षत्रीले अब कलेज निर्माण प्रक्रियाले गति लिने विश्वास व्यक्त गरे । ‘अब कलेजको पूर्वाधार निर्माण कार्य अघि बढाउन अड्चन छैन’, उनले भने ।

प्रतिक्रिया