लगातारको वर्षाले महोत्तरी डुबानमा

महोत्तरी । मंगलबारदेखिको लगातार वर्षाले महोत्तरी जिल्लाका केही क्षेत्रहरू डुबानमा परेका छन् । जिल्लाको बर्दिवास–२ र १४ का १०० भन्दा बढी घर डुबानमा परेका छन् । लागातारको वर्षाले एकीकृत नमुना मुसहर बस्तीसँगै वरपरका टोलमा खोल्सी र नालाको पानी बस्तीमा पसेपछि घरहरू डुबानमा परेका हुन् ।

चुरेबाट बग्ने खोल्सी अतिक्रमण गरी घरटहरा बनाउँदा समस्या भएको पीडितले बताए । चुरेदेखि नै स्थानीयले आफ्नो ढंगले नियन्त्रण गर्दा खोल्सीले बाटो खोज्दै बस्तीलाई क्षति पु¥याएको स्थानीयको भनाइ छ ।

पानीको निकास नहुँदा खोल्सी, नाला र निर्माण हुँदै गरेको रेल्वेको ड्यामले पनि बस्तीमा जोखिम निम्तिएको स्थानीयले बताएका छ्न् । रेल्वेले तत्कालै नाला नबनाउने हो भने बर्दिवासमा अझ बढी समस्या निम्तिने उनीहरूको भनाइ छ ।

रेल्वेको ड्याम कसेर नाला नबनाउँदा पानी घरभित्र पसेको मिठु थापाले बताइन् । मंगलबार बिहान ४ बजेबाट लगातार परेको पानीले घरमा पानी भरिएपछि सडकमै बास भएको थापाले बताइन् । घरमा जलमग्न भएपछि खान बस्न समस्या भएको र घरका अन्नपात र सरसामान सबै डुबेर बर्बाद भएको उनले बताइन् ।

बर्दिवास–१४ का अध्यक्ष विजय महतोले बस्तीबाट पानीको निकास निकाल्न पहल भइरहेको बताए । केही ठाउँमा पालिकाको डोजर लगाएर पानी खोल्ने काम गरिएको र समस्या भएका अन्य ठाउँमा पनि तत्काल गर्न सकिने काम तत्काल गरिने महतोले बताए ।

प्रतिक्रिया