१२ युवालाई नीति निर्माण र सुशासनमा काम गर्ने अवसर

धनुषा । सुशासनमा सहभागी बनाउन मधेस प्रदेशको युवालाई तालिम दिइएको छ । अमिरिकी दूतावास नेपालको सहयोगमा पोखरा रिसर्च सेन्टरको आयोजनामा ‘युथ इन पोलिसी एन्ड गभर्नेन्स’ (वाइपिजी) फेलोसिप कार्यक्रमअन्तरगत तेस्रो चरणको तालिम सम्पन्न भएको हो ।

युवालाई नीति निर्माण र सुशासनमा सहभागी गराउने र नयाँ पुस्तालाई सामाजिक नेतृत्वमा सशक्त बनाउने उद्देश्यका साथ मधेस प्रदेशका युवाहरूलाई प्रशिक्षण तालिम दिइएको आयोजक संस्थाका प्रतिनिधि सौरभ वाग्ले जानकारी दिए ।

उनका अनुसार मधेस प्रदेशको ८ वटा जिल्लाबाट ३७० आवेदन परेको थियो । जसबाट पहिलो चरणमा गत चैत २८ गते ५० आवेदकलाई प्रशिक्षण दिइएको थियो । उक्त ५० सहभागिको रुची, पढाइ, उत्सुकता र क्षमताको अधारमा गत जेठ ३ गते पुनः २६ जनालाई दोस्रो चरणमा प्रवेश गराई प्रशिक्षण दिइएको थियो । र, उक्त २६ बाट यही असार २० गतेदेखि १२ जनालाई सार्वजनिक नीति र शासनको जटिलताहरूमा कार्यशाला गराइएको थियो ।

अब, यी १२ जना फेलोहरूले मधेस प्रदेशसभाका सदस्यहरूसँग ६ महिना ज्ञान र अनुसन्धान सहायकको रूपमा काम गर्ने आयोजक संस्थाकै अर्का प्रतिनिधि सुजाता ढकालले बताइन् । उनका अनुसार फेलोको अध्ययन तथा अनुसन्धानले मुख्यतः बहुआयामिक मुद्दामा काम गर्नेछन् । ‘सार्वजनिक सेवाको सम्प्रेषण, सुशासन, वातावरणका मुद्दा, र अर्थतन्त्र’, उनले भनिन्, ‘यसले फेलोहरूको व्यक्तित्व विकाससँगै तथ्यमा आधारित नीति निर्माण भएर सरकारलाई टेवा पुग्ने विश्वास गरिएको छ ।’ फेलोहरूले विषेश गरेर प्रदेशसभाका सहस्यहरूका लागि अध्ययन तथा अनुसन्धान गरी सभामा प्रश्न गर्नका लागि प्रश्नहरूको मस्यौदा बनाउने, सदनमा छलफलका लागि कागज तयार गर्नुका साथै सार्वजनिक महत्वका विषयहरूलाई उठाउन सहयोग गर्ने छन् ।

यस फेलोसिपअन्तर्गत २० देखि ३० वर्ष उमेर समूहका कम्तीमा स्नातक तहमा अध्ययनरत युवाहरूलाई सहभागी गराइएको छ । मधेस प्रदेशको सबै जिल्लाको सहभागी हुने गरी छनौट गरिएको फेलोमा ५० प्रतिशत महिलाको सहभागिता रहेको छ ।

प्रशिक्षणको दौरान मधेस प्रदेशको सांसदहरूसँग युवाहरूलाई अन्तरक्रिया गराइएको थियो । सांसदहरूले यस तालिमले सांसदहरूलाई सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया