जनकपुरधामका प्रधानाध्यापक आन्दोलनको तयारीमा

जनकपुरधाम । जनकपुरधाम उपमहानगरभित्र रहेका सामुदायिक विद्यालयका शिक्षकहरूले गत वैशाख महिनादेखिको तलब भत्ता नपाएको भन्दै आन्दोलित हुने भएका छन् ।

जनकपुरधाम उपमहानगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूलाई दरबन्दी मिलानको बहानामा तलब भत्ता रोकिएको भन्दै शिक्षकहरूले आन्दोलनको चेतावनी दिएका छन् ।

उपमहानगरपालिकाले तलब भत्ता निकासा गरे पनि दरबन्दी मिलान नभएको नाममा शिक्षकहरूको तलब रोक्नु अव्यावहारिक तथा तर्कसंगत नरहेकाले आफूहरू तलब निकासाको माग गर्दै मंगलबार डेलिगेसन बुझाउन लागेको नेपाल शिक्षक संघका नगर अध्यक्ष गौरीशंकर लाल कर्णले जानकारी दिए । उनले डेलिगेसन बुझाएपछि पनि आफूहरूको माग सम्बोधन नभए चरणवद्ध आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए ।

यता अस्थायी शिक्षकहरूलाई कामकाजमा नखटाउन उपमहानगरले काटेको पत्रको बिरोधसमेत शिक्षकहरूले गर्न थालेका छन् । जनकपुरधाम उपमहानगरभित्रका सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तरलाई बिगार्ने मनसायबाट गरिएको सो निर्णय घोर आपत्तिजनक रहेको नेपाल ट्रेड युनियन धनुषाका अध्यक्ष एवं गोगलप्रसाद मावि बसहियाका प्रधानाध्यापक महावीर दासले बताए । उनले उपमहानगरको यो निर्णय तत्काल सच्याउनसमेत आग्रह गरेका छन् ।

प्रतिक्रिया